तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा


डम्बर बराल

धुलाबारी / आगामी पुस ९ गतेदेखि धुलाबारीमा आयोजना हुन लागेको तेस्रो अंन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

मेची उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको उक्त महोत्सवमा नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट १ लाख ५० हजार पर्यटक अवलोकनकर्ताका रुपमा सहभागी हुने आयोजक समितिका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए । तिम्सिना भन्छन्–‘व्यापार प्रवद्र्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो, महोत्सवले यहाँको उत्पादन भारत निर्यात गर्ने वातावरण बन्नेछ ।’ उनले आयातलाई प्रतिस्थापन गर्नेगरी स्थानीय उत्पादनलाई बढाउन पनि महोत्सव सहयोगी हुने बताए ।

महोत्सव सफल पार्न करिब ६० लाख रुपैयाँ खर्च पूर्वानुमान गरिएको र उक्त रकम मेचीनगर नगरपालिका, टिकट तथा स्टल बिक्री, विभिन्न उद्योग तथा औद्योगिक प्रतिष्ठानलगायतबाट जुटाइने अध्यक्ष तिम्सिना बताउँछन् ।

महोत्सवमा २ सय वटा स्टल राखिने टुंगो भइसकेको स्टल व्यवस्थापन उपसमितिका संयोजक राजुकुमार पोद्दारले बताए । स्टलमा कृषि उपज, विभिन्न खाद्यान्न तथा कृषि औजार, अटो मोवाईल, बैँक, वित्तिय संस्था तथा अन्तर्राष्ट्रिय उत्पादनका विभिन्न सामाग्री रहने उनको भनाई छ । महोत्सवमा आकर्षणको केन्द्र भने हेलिकोप्टर हुनेछ । आयोजकले ६ हजार रुपैयाँमा हेलिकोप्टरबाट झापा जिल्लाको अवलोकन गराउने भएको छ । योसँगै महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

संघले महोत्सवलाई सफल पार्न विभिन्न उपसमिति गठन गरेर आवश्यक तयारीलाई तीव्र बनाएको छ । महोत्सवको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय उपसमितिका संयोजक मोहन निरौला भन्छन्–‘भारत, पाकिस्तान र बंगलादेशबाट महोत्सवमा सहभागिता रहनेछ, त्यहाँका उत्पादन समेत स्टलमा रहनेछन् ।’

भुटान र म्यानमारसँग पनि सहभागिताका लागि आवश्यक छलफल भइरहेको बताउँदै उनले भने–‘दुई दिनभित्रमा त्यो पनि फाइनल हुन्छ, अन्तर्राष्ट्रिय व्यापारका लागि २५ वटा स्टल बुक भइसकेको छ ।’

झापा जिल्लाका १५ वटै स्थानीय तहमा उत्पादन हुने कृषि उपजलाई प्राथमिकता दिएर प्रचार–प्रसार भइरहेको कृषि प्रवद्र्धन उपसमितिका संयोजक रविचन्द्र नेपालले बताए । नेपाल भन्छन्–‘कृषि उपजको प्रदर्शन मात्र होईन, विभिन्न गोष्ठिहरु समेत आयोजना गर्दैछौं ।’ झापा जिल्लालाई सरकारले रबर जोनको रुपमा घोषणा गरिसकेकाले रबरको स्टल समेत रहने र रबर खेती सम्बन्धी गोष्ठि हुने उनले बताए । समितिले १४ गते चिया सम्बन्धी अन्तरक्रिया आयोजना समेत गर्ने जनाएको छ । महोत्सवमा कलाकारहरुको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाउने र महोत्सवमा सहभागीको भीँड बढ्ने साँस्कृतिक कार्यक्रम तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक ध्रुव कनालले बताए । महोत्सव सञ्चालनका लागि धुलाबारी चौकबाट उत्तरतर्फको ४ बिघा क्षेत्रफलमा घेरावारा गरी स्टल तथा मञ्च निर्माण कार्यलाई तीव्र पारिएको छ । पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । आयोजकले प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरेको र महोत्सवमा समूहगत रुपमा विद्यालय पोशाकमा सहभागी हुने विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट गरिने आयोजकले जनाएको छ । त्यस्तै, वृद्धभत्ताको परिचयपत्रसहित सहभागी हुने ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको महोत्सव सचिवालय व्यवस्थापन उपसमिति संयोजक तथा आयोजक संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए । यसअघि संघले धुलाबारीमै २०७० सालमा दोस्रो र त्यसअघि बिर्तामोडमा प्रथम महोत्सव सम्पन्न गरिसकेको छ ।janasamsadonline