‘महोत्सवको मूल मर्म नै निर्यात प्रवद्र्धन’


तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सव आजदेखि धुलाबारीमा सुरु हुँदैछ । मेची उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव आगामी पुस १७ गतेसम्म सञ्चालन हुनेछ । साताव्यापी यो महोत्सवको पेरिफेरीमा रहेर आयोजक संघका अध्यक्ष ऋषिराज तिम्सिनासँग जन–संसद्का डम्बर बरालले गरेको कुराकानी प्रस्तुत छ ।

महोत्सवको आर्थिक पाटोलाई कसरी हेर्नुभएको छ ?

मेची उद्योग वाणिज्य संघले २०७० सालमा बिर्तामोडमा पहिलो महोत्सव आयोजना गरेको थियो । दोस्रो महोत्सव संघले २०७५ सालमा धुलाबारीमा सम्पन्न गरेको थियो । वर्षपछि तेस्रो संस्करणका रुपमा यो महोत्सव सञ्चालन गर्दैछौं । त्यसका कारण पनि संघले यो महोत्सवलाई नाफा घाटाको रुपमा लिएको छैन । मूलतः पूर्वी नेपालको उद्योग, व्यवसाय, कृषि तथा पर्यटन क्षेत्रको सम्भावना विस्तारका दृष्टिले यसलाई विशिष्ट ठानेका छौं । यसले पूर्वी नेपालको मात्र नभई खासगरी झापासहित पूर्वका पहाडी जिल्लाको औद्योगिक तथा कृषि र पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउँछ भन्ने अपेक्षा लिएका छौं । आर्थिक पक्षलाई हामीले फोकस गरेका छैनौं । स्थानीय सम्भावनालाई उजागर गर्ने हेतुले हाम्रो साझा लगानीको महोत्सव हो यो । सामुहिक लगानी हो । आवश्यक सम्पूर्ण तयारी पूरा गरी आजदेखि विधिवत् रुपमा महोत्सव सुरु गर्दैछौं।

सम्भावनाको ढोका उघार्न महोत्सवको भूमिका कस्तो रहन्छ ?
यसअघि संघले दुईवटा महोत्सव सफलतापूर्वक सम्पन्न गरिसकेको यहाँहरुलाई विदितै छ । संघले महोत्सवको तेस्रो शृंखला आजदेखि सुरु गर्दैछ । साताव्यापी रुपमा चल्ने यो महोत्सवमा नेपालका मात्र नभई छिमेकी मुलुकबाट समेत अवलोकनकर्ताहरु सहभागी हुँदैछन् । आगन्तुक पाहुनाहरुलाई यस क्षेत्रको सम्भावनाबारे विश्वास दिलाउन सकेको खण्डमा लगानी गर्न उनीहरुले चासो देखाउनेछन् । जलविद्युतको सम्भावना भएको क्षेत्र हो यो । कृषिजन्य वस्तुको निर्यात व्यापारका लागि पनि उत्तिकै सम्भावनायुक्त ठाउँ हो यो । त्यस्तै, पर्यटकीय दृष्टिले समेत पूर्वी नेपाल विशिष्ट कोटीको छ । पूर्व क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचार गर्न र सम्भावनायुक्त स्थलको महत्व उजागर गर्न समेत महोत्सव फलदायी रहने अपेक्षा लिएका छौं । छिमेकी देश भारत र बंगलादेशसँग व्यापारिक नाका जोडिएको यो नेपालकै ठूलो अन्तर्राष्ट्रि«य नाका हो । त्यसैले, पनि धुलाबारीमा हुन लागेको यो महोत्सवले अन्तर्राष्ट्रि«य व्यापार र पर्यटन प्रवद्र्धनका लागि विशेष महत्व राख्ने छ भन्ने संघले आशा लिएको छ। कृषिजन्य उपजको निर्यातका लागि हबका रुपमा स्थापित मेचीनगरमा उद्योग तथा कलकारखाना सञ्चालनमा छन् । नगरका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यले प्रवद्र्धन कुरेको अवस्था छ । महोत्सवका अतिथिलाई यि र यस्ता क्षेत्रको अवलोकन गराउन सके प्रचार–प्रसारमा थप टेवा पुग्छ । पर्यटन क्षेत्रको प्रचार, स्थानीय कृषिजन्य उत्पादनको प्रवद्र्धन, यहाँका मौलिक कला, धर्म, संस्कृतिको चिनारीले मुलुकको समग्र विकासमा टेवा पुग्नेछ । निर्यात प्रवद्र्धन महोत्सवको मूल मर्म र एउटै शर्त हो ।

निर्यात व्यापारका समस्या समाधान गर्न महोत्सव कत्तिको फलदायी रहला ?
निर्यात व्यापारका समस्या चुलिँदो क्रममा छन् । समाधानका चुनौति पनि कम छैनन । स्वदेशमा उत्पादन भएका कृषिजन्य सामग्रीहरु निर्यात गर्दा झेल्नुपरेका समस्याका चाङ थुप्रै छन् । निर्यात व्यापारका साझेदार पक्षलाई महोत्सवमा निम्त्याएका छौं । सम्बद्ध निकायका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । अन्र्तक्रियाले निर्यात व्यापारमा उत्पन्न कठिनाई हल गर्न र त्यसका लागि आवश्यक कदम अघि बढाउन उपायहरु पहिल्याउनेमा हामी विश्वस्त छौं । विशेषगरी भारत, भूटान र बंगलादेशका अवलोकनकर्ताहरुसँग यो सवाल ठोक्किनेछ ।

साँस्कृतिक कार्यक्रमको व्यवस्थापकीय पक्ष कस्तो छ ?

आयोजकले महोत्सवमा जनसहभागिता बढाउने लक्ष्य लिएको छ । स्थानीय र राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारको उपस्थितिले अवलोकनकर्ताको भीँड बढाउनेमा दुईमत छैन । जसका कारण महोत्सवस्थलमा सहभागीको आकर्षण बढ्छ भन्ने लागेको छ । यो मञ्चमा स्थानीय प्रतिभालाई पनि आफ्नो क्षमता प्रदर्शन गर्ने मौका प्रदान गरेका छौं । महोत्सव अवधिभर सहभागी भरिभराउ हुनेछन् । अवलोकनकर्ताको संख्या बढ्दा महोत्सवमा रहेका स्टलहरुमा घुइँचो बढ्नेछ । यसले महोत्सवको उद्देश्य पूरा गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ । त्यसैले, साँस्कृतिक कार्यक्रमलाई आयोजकले महोत्सवमा महत्वपूर्ण स्थान दिएको हो । विशेष महत्वका साँस्कृतिक कार्यक्रमका लागि आवश्यक सम्पूर्ण प्रबन्ध मिलाएका छौं । दिनहुँजसो ख्यातिप्राप्त राष्ट्रियस्तरका हाँस्य कलाकारहरुको प्रहसन, गायक÷गायिकाहरुबाट साँगीतिक कार्यक्रम सञ्चालन गर्ने छौं ।

५ चुनौति र अवसर के–कस्ता छन् ?

मुलुककै ठूलो अन्तर्राष्ट्रिय व्यापारिक नाका छ काँकरभिट्टामा । तर, पनि मेचीनगर क्षेत्र उद्योग र व्यापारिक दृष्टिकोणले तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा पछि परेको हाम्रो बुझाई छ । विगतमा भन्दा पछिल्लोसमय मेचीनगरको व्यापार खस्कँदो क्रममा छ । बिर्तामोड, इटहरी, काठमाडौं, पोखरालगायत शहरमा आयोजना हुने महोत्सवमा अवलोकनकर्ता र सामान खरिद गर्नेको घुईंचो लाग्छ । तर, मेचीनगर क्षेत्रमा हुने महोत्सवमा भने भीँडभाड त्यो अनुपातमा भएको पाईँदैन । यो संकुचित मानसिकताबाट माथि उठ्न जरुरी छ । उल्लेख्य रुपमा बढेको भीँडलाई स्टलसम्म पुरयाउने वातावरण निर्माण गर्ने चुनौति हामीसामु छ । डेढ लाख अवलोकनकर्ता भित्र्याउने हाम्रो योजना छ । महोत्सव विशिष्ट प्रकारको हुने सोच छ हाम्रो । त्यसैले, पनि महोत्सव सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेका छौं । उद्घाटन सत्रलाई विशेष बनाउँदै छौं । हाम्रो नगरीमा पनि महोत्सवले विशेष महत्व राख्छ, आर्थिक कारोवारले गति लिन्छ भन्ने सन्देश प्रवाह गर्न हाम्रो टिमले आवश्यक तयारीलाई व्यवस्थित गरेका छौं । मेचीनगर व्यापारिक हिसाबले सम्भावनायुक्त ठाउँ पनि हो । नगरमा उद्योगको संख्या थपिएका छन् । बजार विस्तार हुने क्रम बढेको छ । आर्थिक कारोवार क्रमशः बढ्दो क्रममा छ । निर्यात व्यापारको आकार बढेको छ । ठूल्ठूला होटल खुलिरहेका छन् । स्थानीय सरकार, संघ संस्था र सर्वसाधारणको सहयोग पाएका छौं । एकबेला पूर्व क्षेत्रमा हङकङ मार्केटको रुपमा ख्याति आर्जन गरेको धुलाबारी बजारको केही वर्षअघिसम्म आर्थिक कारोबारमा गिरावट आएको थियो । पछिल्लोसमय यस क्षेत्रको बजारले पुनर्जीवन प्राप्त गरेको छ । त्यससँगै व्यवसायले गति लिन थालेको छ । पूर्व क्षेत्रमा सुस्ताउँदो आर्थिक पक्षका चुनौतिलाई साम्य पार्दै अवसर र सम्भावनाको मार्ग प्रशस्त गर्न महोत्सवले विशेष भूमिका निर्वाह गर्छ भन्ने अपेक्षा लिएका छौं ।