कमरेड माओ लालसलाम


संसारभरका मालेमावादीहरू २६ डिसेम्बरमा विश्व–सर्वहारा वर्गका महान् नेता अध्यक्ष माओलाई स्मरण गर्दै माओ दिवस मनाइरहेका छन् । नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टीले १२७ औँ माओ दिवस मनाउने घोषणा गरेको छ । १ अक्टोबर १९४९ मा बेइजिङको स्वतन्त्रता चोक अर्थात् तियान मेन स्क्वायरमा पार्टी सदस्य, जनसेना र जनताका बीचमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले जनगणतन्त्र चीनको घोषणा गर्नुभएको थियो । संसारका एक चौथाइ अर्थात् ६० करोड जनता सामन्तवाद र साम्राज्यवादको जुवाबाट मुक्त भए । उक्त भव्य समारोहमा अध्यक्ष माओले घोषणा गर्नुभयो, ‘चिनियाँ जनता जर्याकजुरुक उठेका छन् ।’ आज चिनियाँ क्रान्तिको ७१ वर्ष हुँदै गर्दा चिनियाँ क्रान्ति र माओका योगदानहरू उत्तिकै सामयिक छन् ।

जनताले जब माक्र्सवाद लेनिनवादलाई अर्थात् दर्शनलाई ग्रहण गर्छन् तब त्यो भौतिक शक्तिमा बदलिन्छ । चिनियाँ क्रान्तिले त्यसलाई एकपटक फेरि पुष्टि गरिदियो । आफूलाई अजम्मरी ठान्ने सबै देउता, भूतप्रेत धुलोपीठो भए । पुरानो सत्ता, मूल्य, मान्यता तथा संस्कृति चिहानमा पुरिए । महान् हिंसा र अराजकताका बीचबाट महान् केन्द्रीकरण र जनताको शासनप्रणालीको जन्म भयो । समाजवादी समाज र कम्युनिस्ट मानवसमाजको भ्रुण बीजरोपण भयो ।

चिनियाँ क्रान्तिको ऐतिहासिक क्रान्तिकारी महत्व छ । दीर्घकालीन जनयुद्ध त्यसको महत्वपूर्ण आयाम हो । मान्छेका अकल्पनीय बलिदान, असफलता, धक्का, असफल विद्रोह र सफलताको महान् महाकाव्य हो । जनताका महान् छोराछोरीको रगतले लेखिएको क्रान्तिले जनतालाई सूर्यको किरणसामु ल्यायो । जनताले आफ्नो इतिहास आफैँ लेखे, सुदिन फर्काए । यसलाई अध्यक्ष माओले इतिहासमा जनताले छलाङ मारेको बताउनुभयो । माक्र्सवाद सबै विज्ञानको नेतृत्वकारी दर्शन साबित भयो ।

चिनियाँ क्रान्तिको केन्द्रीय कार्य जनताको हितको रक्षा गर्नु थियो । उहाँले भन्नुभयो, ‘जनताको सेवा गर ।’ राजनीतिक कामको केन्द्रमा जनसाधारणको सेवा थियो । उहाँले ‘राजनीतिलाई अग्राधिकार देऊ, वर्गसङ्घर्षलाई कहिल्यै नभुल, निजी स्वार्थका विरुद्ध सङ्घर्ष गर, माक्र्सवाद लागू गर, संशोधनवाद होइन’ भन्नुभयो । यी नीतिहरू माओका सिद्धान्तका आधारहरू हुन् । माओको नेतृत्वमा विश्वमा क्रान्तिहरू भए । राष्ट्रिय स्वतन्त्रता प्राप्त गरे । चीनले अणुबम बनायो । संयुक्त राष्ट्रसङ्घमा विशेषाधिकार (भिटो पायो र आजको शक्तिशाली चीन बन्न गयो ।

अध्यक्ष माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो । उक्त घटनाले व्यक्तिभित्र हजारौँ वर्षदेखि जकडिएर बसेको पुँजीवादी संस्कार, पुँजीवादी चेतना, पुँजीवादी विश्वदृष्टिकोणका विरुद्ध सङ्घर्षको महत्व टड्कारो देखियो । चिनियाँ क्रान्ति र प्रतिक्रान्तिका सकारात्मक तथा नकारात्मक पक्षहरूको वस्तुगत संश्लेषण गरेर नै अबका क्रान्तिहरू अघि बढ्न सम्भव छ । आज चिनियाँ क्रान्तिको ७१ वर्षपछि चिनियाँ क्रान्तिबाट सिक्न र प्रतिक्रान्तिको आन्तरिक कारण खोज्न क्रान्तिकारीहरूलाई प्रेरित गरिरहेको छ । पछौटे उत्पादन सम्बन्ध, गैरसर्वहारा मनोवृत्ति र चेतना, उच्च प्रविधिमार्फत प्राप्त हुनसक्ने उपभोक्तावादी चेतना र लालस, नयाँ समाजप्रतिको अविश्वास र यथास्थितिवादी चेतना पनि प्रतिक्रान्तिका आधारहरू हुन सक्छन् । यसको जगमा संशोधनवाद मौलाउन सक्थ्यो । चिनियाँ प्रतिक्रान्तिको कारण नखोज्ने, विचारधारात्मक सङ्घर्षमा मौनता साध्ने, संशोधनवादको गीत मात्र गाउने समस्या समाधान होइन । नकारात्मक शिक्षालाई बेवास्ता गरेर बस्नु पनि समाधान होइन ।

ल्यु साओ चीको दक्षिणपन्थी तोडफोड, सोभियत सङ्घमा प्रतिक्रान्तिको धक्का र अमेरिकी युरोपेली साम्राज्यवादको अन्तर्राष्ट्रिय घेराबन्दीबाट उम्कन अध्यक्ष माओले चीनमा निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभयो । महान् सर्वहारा क्रान्ति सन् १९६६ देखि सन् १९७६ सम्म चालू भयो । अध्यक्ष माओको मृत्युपछि निरन्तर क्रान्ति जारी रहेन र प्रतिक्रान्ति भयो । आजका क्रान्तिकारीहरूले दर्शन, राजनीतिक अर्थशास्त्र र सैन्य विज्ञानमा माओवादी सिद्धान्तबाट सिक्न आवश्यक छ र क्रान्तिको प्रारम्भदेखि सर्वहारा सांस्कृतिक क्रान्ति चलाउन आवश्यक छ । अध्यक्ष माओ त्सेतुङप्रति हाम्रो लालसलाम ! सम्पादकीय        २०७६, ९ पुष बुधबार ई-रातो खबर