‘औद्योगिक व्यापार प्रवद्र्धनमा महोत्सवको महत्वपूर्ण भूमिका रहन्छ’


डम्बर बराल

धुलाबारी / एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना साकार पार्न अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले सघाउ पुर्याउने बताएका छन् ।

धुलाबारीमा बुधबारदेखि सुरु तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई सार्थकता प्रदान गर्न महोत्सवको भूमिका महत्वपूर्ण रहने मुख्य मन्त्री राईको भनाई थियो। उद्घाटन समारोहका प्रमुख अतिथि उनले भने–‘मेची उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आधारशीला तयार गरेको छ ।’

एक नम्बर प्रदेशलाई देशकै नमूना र समृद्ध प्रदेशको रुपमा विकास गर्न लागिएको चर्चा गर्दै मुख्य मन्त्री राईले आगामी १० वर्षभित्रमा प्रदेश १ ले हरेक क्षेत्रमा समृद्धि हाँसिल गर्ने बताए ।

सरकारले सुरु गरेको नयाँ नेपाल निर्माणको अभियानलाई साकार बनाउन तीनै तहको सरकार क्रियाशील भएर लागेको उल्लेख गर्दै उनले आगामी ५ वषभित्रमा प्रदेश १ मा १५ सय मेघावाट क्षमताको विद्युत उत्पादन गर्ने र १० वर्षभित्रमा बेरोजगारी समस्या अन्त्य गर्ने दावी गरे । कृषि तथा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ रकम विनियोजन गरेको बताउँदै मन्त्री राईले निजी क्षेत्रको सहकार्यमा प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रीत हुने बताए । उनले महोत्सवले उद्योग, पर्यटन तथा कृषिमा योगदान पुर्याउने भन्दै आयातलाई प्रतिष्थापन गर्ने गरी स्वदेशी उत्पादन बढाउन आग्रह गरे । निर्यातमा देखिएका जटिलतालाई सरकारले नीतिगत रुपमै निर्णय गरेर समाधान गर्ने मुख्य मन्त्री राईको भनाई थियो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले महोत्सवले मेचीनगरको पर्यटन तथा कृषि प्रवद्र्धन हुने बताउँदै सरकारले कृषि क्षेत्रमा थप लगानी गर्नुपर्ने धारणा राखे । उनले भारत तथा तेस्रो मुलुकसँग निर्यात व्यापार गर्न सके देशको अर्थतन्त्र मजबुत हुने बताए ।

पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा आयोजित महोत्सव उद्घाटनका क्रममा हेलिकप्टर उडाएर आकाशबाट कार्यक्रमस्थल परिसरमा पुष्पवृष्टि गरिएको थियो ।

उद्घाटन समारोहमा प्रदेशसभा सदस्य गोपाल बुढाथोकी, राधा थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला उत्सव समितिका संयोजक दिलसुन्दर श्रेष्ठ, महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षता सम्पन्न महोत्सव उद्घाटन सत्रमा महोत्सव आयोजक समिति संयोजक भूमि पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सो कार्यक्रमको सञ्चालन संघका महासचिव ध्रुव कनालले गरेका थिए ।

आउँदो पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा केटाकेटीदेखि वृद्धवृद्धासम्मले चाहे अनुसारको मनोरञ्जन प्राप्त गर्ने, देशी तथा विदेशी खाद्यान्न, लत्ताकपडालगायतका वस्तु तथा सेवा प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्नखाले वस्तु तथा सेवाका २ सय १० वटा स्टल रहेका छन् । तीमध्ये १४ वटा बंगलादेशका, ५ वटा भारतका र दुईवटा पाकिस्तानका स्टल रहेका महोत्सवका स्टल संयोजक राजुकुमार पोद्दारले जानकारी दिए । त्यसबाहेक महोत्सवमा रोटेपिङ, मौतका कुवा, सेल्फी जोने, चाकाचुलीलगायतका मनोरञ्जनात्मक खेल तमासा रछन् भने दैनिक राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने उनले बताए ।

महोत्सवमा नेपालको उद्योग व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा अर्थ सम्बन्धी अन्र्तक्रिया, सम्भाषण, प्यानल डिस्कसन, विदेशी उद्योगी व्यापारीहरुसँग छलफललगायत कार्यक्रम पनि समावेश गरिएको महोत्सव आयोजक समिति संयोजक भूमि पौडेलले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजकमा एशियन थाई फुड्सको उत्पादन रमपम चाउचाउ छ भने मेचीनगर नगरपालिका प्रमुख संरक्षक रहेको छ ।

महोत्सवमा हेलिकप्टर मुख्य आकर्षणका रुपमा रहेको छ । इच्छुकले हेलिकप्टरबाट महोत्सव परिसरलगायत झापाको दृश्यावलोकन गर्न सक्ने र ताप्लेजुङको पाथीभरा दर्शन गर्नसक्ने महोत्सव सचिवालका सञ्चार संयोजक शिशिर चम्लागार्इँले जानकारी दिए ।

महोत्सवमा नेपालका प्रख्यात कृषिजन्य उपजहरुको पनि स्टल राखिएको छ । कर्णाली अञ्चलको जुम्लाको मार्सी चामलदेखि इलामको हिमाली क्षेत्र जौबारीमा यसै वर्षदेखि उत्पादन शुरु भएको बहुमूल्य वनस्पति केसरको स्टल राखिएको संघका महासचिव कनालले बताए ।

साताव्यापी महोत्सव अन्र्तगत दोस्रो दिन बिहीबार दिउँसो स्थानीय विद्यालयहरुको विविध प्रस्तुति रहने छ भने साँझ कलाकार कमल रसाइली, स्याण्डी एण्ड फ्युजनिष्ट ब्याण्डको प्रस्तुति रहने संघका सचिव रविचन्द्र नेपालले जानकारी दिए ।janasamsadonline