बिरामी भन्छन्– औषधि नहुँदा व्यथा पालेर बस्न बाध्य छौं
जगदिश बुढा
जुम्ला– कर्णाली आयुर्वेद औषधालय जुम्लामा औषधि अभाव भएको छ। एक महिनादेखि औषधालयमा औषधि नहुँदा बिरामीलाई समस्या परेको छ।
औषधालयमा जुम्ला, मुगु, कालिकोट, डोल्पाका बिरामी उपचारका लागि आउने गर्छन्।
औषधि नहुँदा रोग पालेर बस्नुपरेको स्थानीय जन्मकन्य रावत बताउँछिन्। उनले भनिन्, ‘बिरामी परेर औषधि लिन औषधालयमा पुग्छौँ, तर औषधि नहुँदा व्यथा पालेर बस्न बाध्य छौं।’
औषधालयमा ६ जना कर्मचारी छन्। उनीहरुको काम भनेको कार्यालय खोल्ने र बन्द गर्ने बाहेक अर्को छैन। औषधि नहुँदा कर्मचारी पनि बेकामे जस्तै छन्। ‘बिरामी आउँदा निकै खुसी लाग्छ, तर औषधि नभएर फर्कंदा निकै दुःख लाग्छ,’ वैद्य सुमित्रा आचार्य भन्छिन्, ‘औषधि लिन आएका हरेक बिरामीलाई रित्तो हात फर्काउनुको पीडा छ। औषधालयको सेवा समेत ठप्प छ।’ यहाँ ग्यास्ट्रिक, पायल्स, बाथ रोग र नसा सम्बन्धी रोगबाट ग्रसित बिरामीको उपचार हँुदै आएको छ।
यहाँ निकै टाढाबाट बिरामी आउँछन्। यहाँको औषधिले बिरामी निको हुने विश्वास छ। एलोपेथिक भन्दा आयुर्वेदमा विश्वास गर्ने बिरामी मर्कामा छन्। ‘औषधि शून्य छ, उपचार गर्न आएका बिरामी आक्रोस पोख्दै फर्कन्छन्,’ वैद्य आचार्यले भनिन्, ‘अहिले नाम मात्रको औषधालय जस्तो छ।’
बिरामीले औषधालय ताला लगाएर बस्न भन्दै दुःख पोख्छन्। पहिले बिरामीले भरिभराउ हुने औषधालयमा अहिले सुनसान देखिन्छ। समयमै औषधि खरिद नहँुदा रोग पालेर बस्नु परेको चन्दननाथ– १० का मदनमोहन देवकोटाले गुनासो गरे। उनले भने, ‘बिरामीको संवेदशीलता नबुझ्ने औषधालय हुनुभन्दा नहुनु नै राम्रो। बिरामी निको हुने आसले औषधालयमा पुग्छन्, कर्मचारीको अनुहार हेरेर फर्कन बाध्य छन्।
औषधालयमा पहिले दिनमा सरदर ५० जना बिरामीले सेवा लिन्थे। अहिले एक महिनामा ५० जना पनि पुग्दैनन्। औषधालयमा ६ जना कर्मचारी छन्। औषधि नहँुदा कर्मचारीले हाजिर लगाउने मात्र काम भइरहेको छ। कर्मचारीको जागिर त जोगिएको छ, तर बिरामीको स्वास्थ्यमा सुधार हुन सकेको छैन।
अहिले जनस्वास्थ्य कार्यालय र आयुर्वेद औषधालय मर्ज भइसकेका छन्। जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख प्रेम केसी गत आर्थिक वर्षदेखि हालसम्म औषधि खरिद हुन नसकेको बताउँछन्। अहिले दुवै कार्यालय मर्ज भएकोले औषधि खरिदमा ढिलाइ भएको उनी बताउँछन्। अब छिट्टै औषधि खरिद गरी औषधालयलाई पुरानै गतिमा लैजाने तयारी जिल्ला स्वास्थ्य कार्यालयको छ।
तर जुम्लाबासीले तत्काल औषधालयमा औषधिको व्यवस्थापन गर्न माग गरेका छन्। कर्णाली आयुर्वेद औषधालयको भण्डार भएकोले यहाँ उत्पादित औषधिजन्य जडिबुटीको अधिकतम प्रयोग गर्न आग्रह गरेका हुन्।
पहिलेपहिले जनशक्ति अभाव देखिने औषधालयमा यो वर्ष भने औषधिको अभाव चरम रुपमा देखिएको हो। चिसो महिना सुरु भएबाट कर्णाली आयुर्वेद औषधालयमा बिरामीको चाप बढ्ने गर्छ।
यो समयमा औषधालयमा उपचार गर्न आउनेमा बुढाबूढीको संख्या बढी हुन्छ। यहाँका पुरुषभन्दा महिला बढी घास–दाउरा र घरायसी काममा लाग्ने भएकोले बाथ रोगबाट ग्रसित हुने गरेकोले पुरुषको तुलनामा महिला बढी सेवा लिन आउँछन्। धेरैजसो ग्यास्ट्रिक, पायल्स र बाथ रोगका बिरामीले सेवा लिँदै आएको औषधालयले जनाएको छ।swsthyakhabarpatrika