‘नो माइन्ड’ मेडिटेसन : विचारशून्य अनुभूति


खिम लामिछाने काजी

वर्तमान अवस्थामा ध्यान, योगा, प्राणायम, तपस्या, मेडिटेसन जस्ता शब्दहरु जनजिब्रोमा झुन्डिरहेको पाइन्छ। अहिलेको व्यस्त समयमा हरेकलाई ध्यानको आवश्यकता पर्छ। कतिपय चिकित्सकले नै औषधिका साथै ध्यान र योगा पनि गर्दै गर्नुस् भन्ने सन्लाहसमेत दिने गरेको पाइन्छ। मुख्यगरी ध्यान तथा योगाका सेवाहरु ओशो ध्यान केन्द्र, आर्ट अफ लिभिङ, ब्रह्मकुमारी, रामदेव, कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (इस्कन), विपश्यना (गोयन्का), परमहम्स योगानन्द, योगोदा सम्यम सोसाइटी, राधेराधे, सद्गुरु, रामकृष्ण परमदेश, रमणमहर्षी, जर्ज गुर्डजाइफ आदि भिन्न संस्थाहरुमा उपलब्ध हुन्छ।

२० वर्ष अगाडि साहित्य पढ्ने क्रममा मलाई ओशो साहित्य पढ्ने मौका मिलेको थियो। ओशो साहित्यले मलाई तत्कालीन अवस्थामा ओशो आश्रम पु¥यायो। केही वर्षसम्म डायनामिक (सक्रीय) ध्यान विधि पनि गर्दै गएँ। विविध कारणले गर्दा ध्यानलाई निरन्तरता दिन सकिएन। ध्यानले मेरो जीवनमा प्रत्यक्ष प्रभाव परेको अनुभूति भइरहेको थियो।

ओशोका प्रवचनहरु युट्युबमा सुन्ने क्रममा फेरि मलाई सक्रिय ध्यान (डायनामिक) गर्न मन लाग्यो। खोज्दै पुगें ओशो ध्यान केन्द्र ‘ओशो उपबन आध्यात्मिक गाउँ’ दोबिल्ला, पोखरा। धेरै वर्षपछि फेरि डायनामिक ध्यान गर्दा निकै आनन्द आयो। पहिले गरेको ध्यानको विधि र ध्यान पश्चात्को मनको शान्तिको अनुभव बिर्सेको थिइनँ। बिहान डायनामिक गर्ने र बेलुका कुन्डलिनी ध्यान गर्न थालें।

ध्यान गर्दै जाने क्रममा ओशो उपबनमा ‘नो माइन्ड’ ध्यान सुरु गर्ने कुरा चल्यो। उक्त ध्यान गर्न मलाई उत्सुकता जाग्यो। ओशोद्वारा प्रतिपादित अनेकौं ध्यान विधिमध्ये डायनामिक र कुन्डनिली निकै लोकप्रिय छन्। माँ अमृत साधनले भनेअनुसार ओशोको नो माइन्ड मेडिटेटिभ थेरापी आधुनिक मानवको शारीरिक र मानसिक स्वास्थ्यको लागि नितान्त आवश्यक छ। मेरो व्यक्तिगत अनुभवमा पनि ध्यान र योगा आजका व्यस्त मनिसको लागि तनाव व्यवस्थापन गर्न र निरोगी राख्नको लागि अति उपयोगी सिद्ध रहेको छ।

ध्यान गर्दा तनावबाट मुक्त र सधैं आफूलाई फ्रेस रहेको पाउँछु। ध्यानमा बस्दा विभिन्न विचारहरुबाट पूर्णतया मुक्ति पाउन सकेको थिइनँ। जुन मुक्ति मैले ‘नो माइन्ड’ मेडिटेसन गरेपछि पाएँ। ओशोले सन् १९८८ तिर नो माइन्ड ध्यान विधि सुरु गरेको पाहिन्छ। जुन दुई घन्टाको हुन्छ। पहिलो एक घन्टा जिबेरेस र अर्को एक घन्टा शवासनमा पल्टिरे ध्यान गर्नुपर्छ।

सुरुको दिनमा दुई घन्टाको नो माइन्डमध्ये सुरुको एक घन्टा जिबेरिस गरेपछि शवासनमा बस्दा लगभग ३० मिनेटजति म विचार शून्यको अवस्थामा थिएँ।

नो माइन्ड मेडिटेसन गर्नको लागि पहिले जिबेरिसबारे थाहा पाउनु जरुरी हुन्छ। सरल अर्थमा अनर्गल प्रलाप गर्ने, अस्पष्ट उच्चारण। आफंैले नबुझ्ने भाषा बोल्नेलाई जिबेरिस भन्ने गरिन्छ। जब्बार नाम गरेका एक सुफी सन्तको नामबाट यो जिबेरिस भन्ने शब्द ल्याइएको हो। जब्बरले कहिल्यै कुनै भाषाको प्रयोग गरेनन् भनिन्छ। उनले सिर्फ अनर्गल र अन्टसन्ट कुरा बोल्थे। यद्यपि उनका हजारौं शिष्य थिए। उनले भन्ने गर्थे कि, ‘तिम्रो मन केही होइन, बस् यही अनर्गल जिबेरिस हो। यो जिबेरिसलाई हटाएर हेर, तिमीले आफ्नो आत्माको स्वाद पाउने छौ।’

भारतीय योगअनुसार जिबेरिस रेचकको एक प्रक्रिया हो। इसाई धर्मअनुसार यसलाई ध्यानको ग्लासोलेलिया विधि भनिन्छ। यसलाई ‘टाकिङ इन टंगस’ पनि भन्ने गरेको पाइन्छ। सुफी फकिर जब्बरले अनेकौं व्यक्तिहरुको विभिन्न गम्भीर प्रश्नहरुको जवाफ अर्थहीन शब्दमा कराएर दिने गर्थे। जब्बर यो बताउन चाहन्थे कि, उनीहरुको प्रश्न–उत्तर नै गलत छ। यसबाट सत्यको नजिक पुग्न नै सकिँदैन। सत्य जान्नको लागि मन र मष्तिस्क खाली हुन जरूरी छ। जिबेरिस अर्थात् आफ्नै दिमागले नबुझ्ने भाषाको प्रयोग गर्दै जाँदा मानिस होसपूर्वक पागल हुँदै जान्छ। पूरै सजगताका साथ विक्षिप्त हुँदै जान्छ। त्यसपछि मनमा भएको क्रोध, द्वेष, भावनाहरु बाहिर आउँछन्। मनका सम्पूर्ण कलुषित भावना, विचार, रिस–रागहरु बाहिर आउँछन्। ओशोका अनुसार ‘नो माइन्ड’ सँगै डायनामिक ध्यान पनि गर्दा धेरै प्रभावकारी सिद्ध हुन्छ। ओशो भन्नुहुन्थ्यो, ‘जिबेरिस मनको सफाइ गर्ने एक अत्यन्त वैज्ञानिक विधि हो। जसले हाम्रो भित्र रहेको विचार र भावनाहरु बाहिर ल्याउन मद्दत गर्छ। जब हामी विचार शून्य हुन्छौं तब बल्ल हामी स्वयं आफैंलाई चिन्छौं।’

जस्तो हाम्रो शरीरका अंगहरु, हात खुट्टाहरु जतिबेला हामीलाई आवश्यक पर्छ, त्यति नै बेला प्रयोगमा ल्याउने गरिन्छ। तर हाम्रो मस्तिष्कले भने २४सै घन्टा काम गरिरहेको हुन्छ। हामीलाई चाहिने र नचाहिने विचारहरु दिमागमा खेलिरहेको हुन्छ। सिर्फ ध्यानद्वारा मात्र हामीले हाम्रो दिमागलाई आराम दिलाउन सक्छौं। त्यसैगरी हाम्रो चञ्चले मनले पनि चाहिने र नचाहिने के–के सोचिदिन्छ, सिर्फ ध्यानका विधिहरुद्वारा नै मनलाई बसमा पार्न सकिन्छ। जस्तो विविध कुलतमा फसेका व्यक्तिहरुले आफ्नो मनलाई कन्ट्रोल गर्न नसक्दा तलतल लाग्ने हुन्छ। कुनै कुरा गर्न नपाएको खण्डमा हत्या र आत्महत्या जस्ता विकृत मानसिकता उत्पन्न हुन्छ। यो मनलाई शान्ति गराउने उत्तम उपाय नै ध्यान हो।

ओशोका अनुसार जिबेरिसको प्रोसेसमा अचेतन मन बोल्न सुरु गर्छ। आफ्नो मनभित्र गुम्सिएर रहेका कलुषित विचारहरुलाई बाहिर ल्याएपछि बल्ल गहिरो ध्यान गर्न सकिन्छ। जिबेरिस गर्ने क्रममा मन भित्र रहेका भावनाहरु एकपछि अर्को गर्दै आइरहेको हुन्छ। कुनै रिस, क्रोधको रुपमा त कुनै हाँसो र आँसुको रुपमा। क्रोध आइरहेको बेला सिरानीलाई हिर्काउने वा हावामा बक्सिङ र किक हिर्काउन मन लाग्दो रहेछ। सबै ध्यानकर्ताहरुलाई सुरुमै सिरानी दिइएको हुन्थ्यो। क्रोधलाई शान्त पार्न, जोसँग रिस उठेको हो, उसैलाई सम्झेर सिरानीलाई मुक्का हानिँदो रहेछ। १ घन्टाको यो प्रक्रिया पछि संगीत बन्द हुन्छ। ओशोका प्रायः सबै ध्यान विधिहरु संगीतसँग तालमेल गरिएको हुन्छ।

नो माइन्डको दोस्रो चरणमा मौन रहेर लम्पसार पेरेर शवासनमा पल्टिनुपर्ने हुन्छ। पल्टेर श्वासप्रश्वासलाई ध्यान दिँदै थिएँ, केही बेरमा मेरो दिमागमा कुनै विचार आएन। पूरै विचार शून्यको अवस्थामा थिएँ म। भित्र एक प्रकारको आनन्दको भाव चलिरहेको थियो। म थिएँ, मेरो शरीर पल्टेको थियो तर मेरो मन थिएन। मसँग थियो त केवल साक्षीभाव। म एक सिर्फ द्रष्टा थिएँ। सोचाइ पूरै जिरो थियो। म पूर्ण रुपमा केही समयको लागि ब्ल्यान्क नै भएको थिएँ। त्यो समयको अनुभूति म शब्दमा व्यक्त गर्न त सक्दिनँ तर यत्ति मात्र भन्छु, मैले असीम आनन्द प्राप्त गरेको थिएँ।

सायद स्वर्गीय आनन्द भनेको त्यही नै हुनुपर्छ। यो मेरो पहिले दिनको नो माइन्डको अनुभव थियो। सात दिन लगातार यो ध्यान गर्दै गएँ, विस्तारै सोचमा केही परिवर्तन, मनका रहर र इच्छाहरुमा केही परिवर्तन भए झै लाग्यो। एक प्रकारको आनन्द मनमा भइरह्यो। सातौं अर्थात् अन्तिम दिन उत्सव भयो। ओशोको ध्यानको एउटा पाटो उत्सव पनि हो। बिन्दास रुपमा आँखा चिम्लेर नाच्दा आनन्दले विभोर भएको अनुभव भयो।

नो माइन्ड ध्यान गरेको पनि महिनौं पुगीसक्यो तर त्यसको प्रभावले भने अझै आनन्दित बनाइरहेको अनुभूति भइरहेको छ। तनाव, पीडा, हैरानी, बेचैनी, चिन्ता जस्ता कुराहरुबाट मुक्त हुनको लागि ध्यान एउटा ब्रह्मास्त्र हुनसक्छ। शरीरको व्यवस्थापन गर्नका लागि योग र मनको व्यवस्थापन गर्नका लागि ध्यान गर्नुपर्छ। त्यसैले जो, जसलाई, जुन संस्थामा रहेर सजिलो हुन्छ, त्यही संस्थाको ध्यान केन्द्र, आश्रममा गएर ध्यान गर्नुहुन अनुरोध गर्दछु। जुनसुकै ध्यान गरे पनि उद्देश्य एउटै हो– मनको शान्ति, शरीरको तन्दुरुस्ती।swsthyakhabarpatrika