सृजनाको चौतारी

कमरेड माओका आदर्श पछ्याउँदै चीनको यात्रामा

– अशोक सुवेदी

‘विस्फोटक पदार्थ फेलाप¥यो’ भन्दै चीनको छेन्दु एयरपोर्टमै अलप पारिएको सुटकेस भेटिएको खुसी र बेइजिङ एयरपोर्ट टर्मिनलको रिमझिमसँगै ‘फस्र्ट एड’ खोज्दै र ब्याग घिसार्दै भौँतारिँदा एउटा पातलो–पातलो केटा स्वागत गर्न आइपुग्छ बास बस्ने होटेलको सिफारिस गर्दै। हामी होेटेलको भाडा सोध्छौँ अलि लापर्बाहीपूर्वक किनकि हाम्रो पहिलो ध्यान सहयात्री माणिक लामाको हातको घाउमा मलमपट्टी गर्नेतिर हुन्छ। टर्मिनलमा ट्रान्जिट समय कटाउन यत्रतत्र सफा भुइँमा सुतिरहेका मान्छेहरूले भारततिरका रेल स्टेसनको पनि झझल्को गराउँछन् । प्राथमिक उपचारकले ५० युआन लिनुअघि घाउ पुछेर एउटा टेप बाँधिदिन्छ र केही टेप पनि थमाउँछ । हामी फर्केर जाँदा पनि होटेलवाला हामीलाई पर्खेझैँ हामीतिरै आउँछ । उसले ३०० युआन भन्छ प्रतिरातको । रातको १२ बजिसकेको छ । हामी उसलाई तीन रात बस्दा प्रतिरात २५० युआनसम्ममा हुन्छ कि भनेर सोध्छौँ । ऊ लोभिन्छ र हामीलाई लिएर होटेलको कोठातिर डोर्याउँछ । हाम्रा झोलाहरू डिक्कीतिर हालिदिँदै हामीलाई सिटमा राखेर २–४ मिनेट समय मागेर अरू २–३ समूह लिएर आउँछ र हामीलाई होटेलतिर बिदा गरेर अलप हुन्छ । होटेलमा आइपुगेपछि थाहा हुन्छ, बिहान ब्रेकफास्ट पाइने भए पनि खानाको व्यवस्था छैन । काउन्टरमा दर्ता गरिसकेपछि आडैको डिपार्टमेन्टल स्टोरतिर देखाइदिन्छे एउटी युवतीले ।

डिपार्टमेन्टल स्टोरमा गएर १/२ पाउन्ड पाउरोटी र ४ बोतल पानी, एउटा कप आदि लिएर फर्कन्छु । मभन्दा ७/८ वर्ष जेठा माणिक सर थकाइ, तनाव, हातको दुखाइ आदिले लखतरान भइरहेको पाउँछु । मुस्किलले १/२ टुक्रा पाउरोटी चपाएर उहाँ हाँहाँहुँहुँ गर्दै ढल्किनुहुन्छ । पाउरोटीसँग औषधि खाएर म पनि पल्टिन्छु । नेपालको समय १ बजिसकेको छ रातको । बेइजिङको घडीले ३ बजाइसकेको छ ।

बिहान उठ्दा माणिक सरलाई नुहाइधुवाइ तयार र ताजा पाउँछु । बेलुका खाना नखाएकाले माणिक सर भोकले ढल्न मात्र बाँकी हुनुहुन्छ । सामान किन्दाकिन्दै ११ बजिसक्छ । सँगैको होटेलमा गएर दुई ठाउँमा ‘राइस’ र एक ठाउँमा ‘फिस’ मगाउँदै माणिक सरको इच्छाबमोजिम एउटा सानो कोक पिउन थाल्छौँ । माओको देशमा बहुराष्ट्रिय कम्पनीको कोक ? एकछिन सोच्छु तर आजको चीन कहाँ महान् माओको समयको चीन हो र ? आफैँ मन बुझाउँछु । थालभरिको तात्तातो सग्लो माछा आउनासाथ माणिक सरका हातका काँटाचम्चा सग्बगाउन थाल्छन्। भुटेको भात आउन्जेल बिचरो माछाका केही काँडा, टाउको र हाडखोर मात्र बाँकी हुन्छ ।

खाना सकेपछि हामी काउन्टरमा पैसा बुझाउन जाँदा तियानमेन स्क्वायर (जहाँ कमरेड माओ त्सेतुङको शव छ र जहाँबाट माओले जनगणतन्त्र चीनको घोषणा गर्नुभएको थियो) मा जान ट्याक्सी–कारका लागि अनुरोध गर्छौँ । ८०० युआनबाट घटाएर ५०० युआनमा भाउ मिलेपछि माओको शव रहेको भवन, तियानमेन स्क्वायर, ग्रेट हल अफ द पिपुललगायत स्थानका लागि हामी प्रस्थान गर्छाैं । १ बजेतिर तियानमेन भवनमा प्रवेशका लागि टिकट लिएर केही तस्बिर खिचाएपछि हाम्रो प्रस्थान माओको शव रहेको भवनतिर हुन्छ । केही अलमल र सोधपुछपछि हामी माओको शव रहेको स्थलतिर अघि बढ्छौँ । तर ८ देखि १२ बजेसम्म मात्र हेर्न पाइने माओको शव भवन हामी पुग्दा बन्द भएको २ घन्टा भइसेकेको हुन्छ । उता राष्ट्रिय सङ्ग्रहालय पनि बन्द भइसकेको हुन्छ । ग्रेट हल अफ द पिपुलको पास वा भ्रमणका लागि अग्रीम बुकिङ गर्नुपर्ने पनि हामीलाई थाहा हुँदैन । बाहिरबाहिर केही फोटो खिचाउँछौँ ।

माओको शव अवलोकन : जीवनको एक सफल क्षण

१९ भदौ, २०७३, तियानमेन स्क्वायर

होटेल म्यानेजरसँग निकै लामो भलाकुसारी भयो हिजो बेलुका । कमरेड माओप्रति अगाध स्नेह रहेछ उनको पनि । हामी माओवादी हौँ भन्ने थाहा पाएपछि उनी बारम्बार भनिरह्छन्– नो माओ नो चाइना, माओ इज द गड अफ इस्ट आदि । उनी पनि बेइजिङदेखि ५०० माइल पूर्वको एउटा काउन्टीका चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य रहेछन् । रातो खबरको भिजिटिङ कार्डमा रहेको कम्युनिस्ट पार्टीको झन्डा देखेपछि उनले भनेका थिए– हामी सबै कम्युनिस्ट पार्टीका सदस्य । हामी जनगणतन्त्र कोरिया (उत्तरकोरिया) जाँदैछौँ भन्ने थाहा पाएपछि उनले अलि त्रसित बनेजस्तो भाव प्रकट गरे । समाजवादबाट स्खलित चीन र सत्तासीन कम्युनिस्ट पार्टीका सदस्यले त्यस्तो भाव प्रकट गर्नु सामान्य थियो । मेरो जनयुद्धकालीन कथासङ्ग्रह ‘नयाँ बस्ती’ दिएँ । उनले नेपाली भाषा नबुझे पनि नेपालका बारेमा धेरथोर सुनेको बताए । माओप्रतिको हाम्रो लगाव र हामी माओवादी भएको सुनेपछि उनी हामीप्रति धेरै नै आकर्षित भएका थिए । शनिबार पनि उनैले ५०० युआनमा तियानमेन स्क्वायरसम्म जान, घुम्न र फर्किनका लागि ट्याक्सी व्यवस्था गरिदिएका थिए । हामी ढिला भएकाले माओ मेमोरियल हल, सङ्ग्रहालय, बजार आदि घुम्न/हेर्न नपाएको भनेपछि उनी पनि दुःखी देखिए । चिनियाँ कम्युनिस्ट पार्टी, सी जिङ पिङ, तेङ, जियाङ जेमिन, हुजिन्ताओ, चीनको आर्थिक विकास, राष्ट्रपति चयन प्रक्रिया, चीकपाका सदस्यलगायत विषयमा एक–डेढ घन्टा कुरा भएपछि माणिक लामा र उनीसँग तस्बिर खिचाइयो । उनले दिउँँसो हामीलाई घुमाउन लैजाने चिनियाँ युवकलाई भोलि पनि घुमाउन लगिदेऊ भनेर अनुरोध गरे । आजको यात्रा माओको मेमोरियल हलदेखि ग्रेट हल अफ द पिपुल र ग्रेट वालसम्मको थियो । ५५० युआनमा मुस्किलले टुङ्गो लागेको बताउँदै उनले हाम्रो यात्राको सफलताको पनि कामना गरे । उनी आइतबार बिहानै श्रीमती र २ बालबच्चा भेट्न आफ्नो गाउँ जाँदै रहेछन् । उनले आफू पनि केही समयअघि श्रीमती र छोराछोरीलाई लिएर महान् माओको शव हेर्न गएको सुनाए । यो सुनाउँदा उनको अनुहार धेरै नै हँसिलो र मुग्ध देखियो ।

बिहान उठ्दा ६ः४० बजिसकेको थियो । माणिक नित्यकर्म सकी गुनगुनाउन थालिसक्नुभएको थियो ।

हतारहतार तयार भएर खाजा खान होटेलमा झर्दा ७ः३० भइसकेको थियो । हिजोका चिनियाँ युवक तयार भएर हामीलाई लिन ‘ब्रेकफास्ट’ गर्दै गरेको ठाउँमा आइपुगे । हामी कोदाको भक्कुजस्तै लाग्ने ‘सी फुड’, एउटा उसिनेको अन्डा र माडजस्तो अमिलो झोलको स्वाद लिँदै थियौँ, तमतम्याइँदो मुख पारेर ।

हामी कार चढ्दा ८ बज्न लागिसकेको थियो । हिजो यात्राका क्रममा चालक आफ्नो गाडीमै आराम गरेर बस्न चाहेको थियो, हामीले गाइडका रूपमा प्रयोग गर्दा अलि थकित देखिएको थियो । आज अलि कम फरासिलो देखेपछि माणिकलाई भनेँ– आज ड्राइभर अलि खुसी छैन । हुन पनि उसलाई मैले गाइड बनिदिन अलि निकै नै जोड गरेको थिएँ । पहिलो त ठाउँ पत्ता लगाउने समस्या, दोस्रो फोटो खिचिदिने मानिसको अभाव थियो ।

नभन्दै तियानमेन स्क्वायर काटेर १ किमिजति पर गाडी पार्किङ गरेर माथि उक्लिएपछि उसले रिसाएको लक्षण देखाउन थालिहाल्यो । हिजो हातैबाट झोला मागेर बोकिदिने मानिस आज माणिकले ब्याग दिँदा पनि लिन गाह्रो मानिरहेको थियो । हामी १ किमिजति फटाफट हिँडेर ग्रेट हल अफ द पिपुलको उत्तर दिशातिर दर्जनौँ लाम लगाएर उभिएका हजारौँ मानिसको हूलमा लाम लाग्यौँ । भीड हेर्दा लाग्थ्यो, हाम्रो देशमा पशुपति मन्दिरको ‘दर्शन’ गर्न भक्तजनहरू शिवरात्रीमा लाम लागिरहेका छन् । महान् माओका योगदानहरूको स्मरण र कदर गर्दै दैनिक दसाँै हजार मानिस माओको शव हेर्न यसरी लाम लागेको ४० वर्ष भइसकेको छ । माणिक र मैले लाममै हिसाब ग¥यौँ, ५० करोडभन्दा बढी मानिसले दैनिक यसरी नै लाम लागेर माओको विशालकाय लम्पसार शरीरलाई हेरिसकेका छन् र यो कत्ति रोकिएको छैन । ८० वर्ष कटेका वृद्धवृद्धादेखि बालबालिकासम्म, अपाङ्गता भएकादेखि तरुनातन्नेरीसम्म सबै हातहातमा चीकपाको झन्डा बोकेर मोबाइलमा नेट खोलेर च्याट गर्दै माओको शव हेर्न आतुर भएर लाम लागिरहेछन् ।

सुरक्षा जाँच कडा छ । सैनिक महिला–पुरुषले पोसाक र शरीरका सबै भाग खानतलासी गरिरहेका छन् । झोला र क्यामेरा बोक्न प्रतिबन्ध भएकाले ड्राइभरले बाहिरै राखेका छन् । म भने कवि अतृप्त पाण्डेयको कवितासङ्ग्रह समयसित रुमाल छैन र मेरो सम्पादन÷प्रकाशनको ग्रन्थ दोरम्बा हत्याकाण्ड : मुक्तिका लागि बलिदान माओको शव रहेको भवन आसपासको सङ्ग्रहालय/पुस्तकालयमा प्रदान गर्न हातैमा बोकेर लाम लागिरहेछु । पुस्तक बोकेकाले ममाथिको निगरानी अलि बढी भएको छ । सामान्य परीक्षण नभएर अलि विशेष परीक्षण भएको छ ममाथि अलि पर लगेर । म सफासँग भनिदिन्छु– नेपालबाट आएको साहित्यकार–पत्रकार हुँ । माओ हाम्रा महान् आदर्श हुनुहुन्छ र उहाँको विचार हाम्रो मार्गनिर्देशक विचार । यी दुई पुस्तक उहाँप्रति ‘समर्पण’ गर्न चाहन्छु । माओप्रतिको अगाध श्रद्धाका कारण ती पुस्तक बाहिर जाँच भएको स्थानमा छोड्न सक्तिनँ म, ढिलै गरेर भए पनि लगेरै छाड्छु । मूल ढोकामा फूलका गुच्छाहरू बिक्रीमा राखिएको छ । प्लास्टिकमा सजाइएका ३ वटा गुच्छा २० युआन तिरेर लिन्छु र २ वटा माणिकलाई दिन्छु । एउटा गुच्छा र २ थान पुस्तक च्यापेर भीडमा धकेलाधकेल गर्दै अघि बढ्छु । चिनियाँ सैनिक स्वयम्सेवकहरू माइकिङ गरिरहेछन् । तिनको सक्रियताले भनिरहेछ– झोला, क्यामेरा, मोबाइल केही नबोक र हल्ला नगर । धकेलाधकेल नगर । बिस्तारै जाऊ र मस्त निद्रामा रहेका माओको सुस्तरी ‘दर्शन’ गरेर फटाफट फर्किहाल ।

अब प्रतीक्षाको घडी आउनै लागेको छ । मूल ढोकाबाट भित्र पस्नासाथ महान् माओको विशाल र भव्यतम् सेतो प्रतिमूर्ति देखिन्छ कुर्सीमा थपक्क बसेको अवस्थामा । फूलका गुच्छाहरू त्यहीँ थपक्क मिलाएर राख्नुपर्छ । म गुच्छाहरूसँगै पुस्तक पनि त्यहीँ राख्छु । क. माणिक किम इल सुङ र किम जोङ इलको शव लमतन्न सुताएर राखिएको छ तर माओको शव त बसाएर पो राखिएको रहेछ भन्नुहुन्छ । मलाई भने माओको अनुहार हेर्ने धित मरेकै हुँदैन । सैनिकहरू– औँला मुखमा लगेर ‘स्स्स्स’ गरिरहेछन्, कोही पनि एक शब्द नबोल भनेर । त्यो प्रतिमूर्ति पार गरेर अघि बढेपछि बल्ल आइपुग्छ सिसाको बाकसमा लमतन्न सुताएर राखेको महान् माओकै साक्षात् प्रतिमूर्ति । मलाई घन्टौँ उभिएर शव हेरिहन र संसारका सबै साम्राज्यवादीहरु कागजी बाघ हुन् भनेर ललकार्ने कमरेड माओको शवसँग मौन संवाद गरिरहन मन छ । सेकेन्ड–सेकेन्ड पनि मेरा लागि अत्यन्त महत्वपूर्ण भइरहेका छन् । भीडले धकेलिरहेछ । सबै मौन–मौन हिँड्दै पलभरमै माओलाई धित मरुन्जेल हेरिरहेका छन् । छेउछाउमा मूर्तिवत् उभिएका सैनिकबाहेक भीडवरिपरि उभिएका सुरक्षाकर्मी ‘स्स्स्स्स’ गरिरहेका छन् । मानौँ उनीहरू भनिरहेका छन्, एक शब्द पनि ननिकाली, सियो खसेको पनि चाल पाइने गरी अघि बढ । तिमीले आवाज निकाल्यौ भने गहिरो निद्रामा मस्त सुत्नुभएका माओको निद्रा भङ्ग हुनसक्छ… । मलाई भने माओ जुरुक्क उठेर अमेरिकी, बेलायती, जापानी, फ्रान्सेली, भारतीय अर्थात् विश्वसाम्राज्यवादका नाइके, तिनका मतियारहरू र सबैखाले प्रतिक्रियावादलाई हपारेर फेरि एकपटक हायलकायल पारिदिए पनि हुने थियो भन्ने लागिरहन्छ । तर यो त केवल मेरो हवाईकल्पना न थियो । विश्व–सर्वहारावर्गका महान् नेता माओ विश्व–प्रतिक्रियावादलाई ‘कागजी बाघ’ शब्दले सम्बोधन गर्दै खिज्याउने, ह्याकुलाले मिच्ने र देश एवम् जनताका लागि सर्वस्व गुमाउने, छोरा र पत्नीलाई सहिद बन्नसक्ने बनाउने महान् व्यक्तित्व हुनुहुन्थ्यो । म कल्पना गरिरहेको थिएँ– माओसँग आँखा जुधाएर एकपटक गर्विला हात मिलाउन पाए पनि हुने नि ! यसरी तरङ्गित हुँदाहुँदै हामी माओको पैतालातिरबाट शिरतिर पुगिसकेका हुन्छौँ । माओको अनुहर हामीले तस्बिरमा देखेजस्तै धपक्क बलिरहेको देखिन्छ । हल्का सुस्ताएजस्तो । कल्पनामा डुबिरहेको छु म कसरी गद्दारहरुले महान् माओले निर्माण गरेको विचार र विशाल चीनको समाजवादलाई पोलीपकाई खाए ! माओ साँच्चै ब्युँतिएर एकपल्ट चीन र विश्वलाई नियाल्न सक्ने के भन्दा हुन् ? आफ्नै चीनको दुरवस्था देखेर अनि निर्माण हुँदाहुँदै प्रतिक्रियावादी र संशोधनवादीहरुको गठजोडले ध्वस्त बनाइएका समाजवादका काँचुलीहरु देखेर र नेपाल, भारतलगायत मुलुकमा ब्युँतिइरहेको समाजवादी क्रान्ति थाहा पाएर के सन्देश दिँदा हुन् !

म अनायासै ‘महान् माओ लालसलाम !’ भन्दै चिच्याएछु । नजिकै उभिएको सुरक्षाकर्मीले च्याप्प समातेपछि पो झसङ्ग हुन्छु ।

माओको शव अवलोकन गरी बाहिर निस्किने पूर्वी दिशातिर पुगेपछि त्यो भित्री गोजीको मोबाइल निकालेर कमरेड माणिकलाई कर गर्छु तस्बिरका लागि । यहीँबाट भए पनि ५/७ मिटर पर सुस्ताइरहेका महान् माओलाई पुनः लालसलाम गर्छु । माणिक कडा सुरक्षा निगरानी देखेर आत्तिनुहुन्छ तर मेरो ढिपीका सामु उहाँको केही जोर चल्दैन । भीडभित्रै लुकेर उहाँ एउटा तस्बिर खिचिदिएर हतारहतार ओझेल पर्नुहुन्छ । त्यसपछि हामी प्राङ्गणमा पुगेर माओको तस्बिर अङ्कित केही सामान किन्छौँ स्मृतिका लागि ।

माओको शव अवलोकनपछि माणिक सर र मबीच स्वाभाविक बहस निम्तिन्छ, शव अवलोकन उत्प्रेरणा हो कि होइन भन्नेबारेमा । म महान् मान्छेको शव, सालिक, तस्बिर, विचार, हस्ताक्षर, पोसाक, निर्माण अर्थात् चिनोले जहिले पनि अघि बढ्न प्रेरणा दिने बताउँछु तर माणिकको अलि पृथक धारणा छ– मरेपछि त ढुङ्गोसरह भइगयो नि जतिसुकै महान् भए पनि । म यसलाई भौतिकताभन्दा अलि फरक, भावना, विचार, आदर्श र सपनासँग जोडेर हेर्न अनुरोध गर्छु ।

बेइजिङ सहर घुम्दा प्रस्टै देखिन्छ चिनियाँहरूले यतिबेला माओलाई व्यापारको साधन र लोगो बनाएका छन् । हरेक सामानको विज्ञापनमा माओको तस्बिर छ होटेलदेखि सिगरेटका प्याकेटहरूसम्म ! विचार र व्यवस्थाबाट माओलाई जबर्जस्ती विस्थापित गरिएको छ । माओलाई लेनिनवादका सफल प्रयोगकर्ता, माओवादका प्रवर्तक, सर्वहारा, श्रमिक किसान–मजदुरवर्गका नेता, महान् माक्र्सवादी विचारक र नेताभन्दा पनि त्यही होटेलको म्यानेजरले भनेजस्तै ‘गड’ (ईश्वर) बनाइएको छ र केवल तस्बिर, शव र सालिकमा पूजा गरिएको छ । विचारबाट अलग राखेर माओको पूजा गर्नुको के अर्थ छ र सर्वहारा वर्गका लागि !

हामी समाजवाद आएका देशहरूको भ्रमणको आरम्भमा छौँ । चीनमा समाजवाद आएर प्रतिक्रान्ति भइसकेको छ तर पनि उसले अझै आफूलाई समाजवाद नै भनिरहेको छ । हामी अर्को समाजवादी मुलुक जनगणतन्त्र कोरिया (उत्तरकोरिया) को यात्रामा छौँ । हामी केही समयमै पूर्वसमाजवादी मुलुक सोभियत सङ्घ (हालको रुस) पनि जानेछौँ र महान् लेनिनले सफल रुपमा माक्र्सवाद लागू गर्नुभएको छ महान् स्टालिनले लेनिनवाद लागू गर्नुभएको भूमिमा पुगेर मालेमावाद जीवित छ भन्ने नारा लगाउँदै संसारभरबाट भेला भएका माक्र्सवादीहरूलाई सुनाउन चाहन्छाैँ– नेपालबाट वैज्ञानिक समाजवाद उदाउँदैछ । यसैगरी हाम्रो यात्रा भियतनाम, क्युबा र बोलिभारियन समाजवादी देशहरूमा पनि हुनेछ । हामी त्यहाँ समाजवादका अवशेषहरुको अध्ययन गर्दै उनीहरुलाई नेपाली जनक्रान्तिको सन्देश सुनाउनेछौँ, एकीकृत जनक्रान्तिको सन्देश सुनाउनेछौँ । माक्र्सवाद, लेनिनवाद, माओवाद अमर र अजेय छन् भन्ने सन्देश दिनेछौँ ।२०७६, १० पुष बिहीबार ०७:५६ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button