हाम्रो लोकतन्त्रका आयामहरु


अच्युतप्रसाद पौडेल ‘चिन्तन’
हाम्रो लोकतन्त्रले ६९ वटा मन्त्रालयको अवश्यकता महसुस गरेको छ । यति सानो भूगोल भएको देशमा यत्रा धेरै मन्त्रालय शायद यहीँ नै होला । संस्था बढेपछि आवास गृह, पानी, बिजुली, सवारी, घरभाडा, मसलन्द, पीए, सचिवालय, सल्लाहकार बढ्ने नै भए । एउटै भवनमा ५ वटा मन्त्रालय कस्तो मजाक छ । जसोतसो भागशान्ति मिलाएर खाऊ भन्ने हाम्रो लोकतन्त्रले छुट दिएको छ । लोकतन्त्र आगमनदेखि नै भूमिको खण्डीकरण, युवा शक्तिको विदेश पलायन, श्रम शक्तिको अभावबाट खाद्यान्नको मूल बाली धानको उत्पादनमा क्षेत्रफल नै २ दशमलव २ प्रतिशतले घटेको हो ।

ठूला देशका नेताहरु पद छोडेपछि नोकरी खोज्दै हिँड्छन्, देश बनाउँछन् तर आफू गरिब नै रहन्छन् । हाम्रा नेताहरु या त पदलाई घाटसम्म लैजान्छन् या नसकेपछि शेयर धनी, कम्पनीका मालिक वा विदेशी राजदूत हुन खोज्छन् । अन्यत्र जस्तो राजनीतिलाई सेवाको रुपमा हेर्ने चलन यहाँ छैन । देश बिगारेर पनि आफू भने सुध्रिन्छन् ।

संघीयताको आगमनसँगै राजनीतिको निजीकरण भएको छ, नेताको रोजगारी बढेको छ, जनताको घटेको छ । विगत ५ वर्षमा चालू खर्च ३ खर्ब ३३ अर्बले बढेको छ । तलब भत्त्ता र शान्ति सुरक्षामा भारी वृद्धि भएको छ । विकास बजेटका लागि परनिर्भरता छ । ऋण, त्यो पनि खर्चिन सकेको अवस्था छैन । संघीयताको कार्यान्वयनसँगै सार्वजनिक खर्चमा भारी वृद्धि र हरेक दिनको समाचारमा मन्त्रिमण्डलको विस्तार, हेरफेर, अविश्वासको प्रस्ताव सुनिरहिन्छ । विकास र आर्थिक समृद्धिका खबर प्रायः सुनिदैन । मलेनिका भन्छ– आव ०७३।०७४ मा ५ खर्ब १८ अर्ब चालू खर्च भयो, आव ०७३।०७४ मा ७ खर्ब २९ अर्ब राजस्व संकलन हुँदा ९ खर्ब ९९ अर्ब चालू खर्च भयो । आव ०७५।०७५ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन हुँदा ७ खर्ब १६ अर्ब चालू खर्च भयो । आव ०७६।०७७ कोरोना वर्ष रह्यो र पनि ८ खर्ब ४१ अर्ब राजस्व संकलन हुँदा ७ खर्ब ८४ अर्ब चालू खर्च भयो । आव ०७७।०७८ मा ९ खर्ब ३८ अर्ब राजस्व संकलन हुँदा ८ खर्ब ५१ अर्ब चालू खर्च भएको आँकडा छ ।

पछिल्लो आवमा आइपुग्दा जेठ मसान्तमा ४१ प्रतिशत विकास खर्च देखिएर १ महिना असार मसान्तमा हेर्दा ६५ प्रतिशत देखियो । यसले स्पष्ट गर्छ कि हाम्रो विकास उडन्ते, डोजरे र असारे हो, भनौँ हामीले कल्पना गरेको विकासको अवधारणा भनेको माटो छोप्ने अनि पानी परेपछि गलेर जाने हो । एक महिनामा २५ प्रतिशत विकास खर्च भनेको बेथितिको शिखर नै भन्नुपर्छ । रोपाइँको चटारोझैँ असारमा विकास खर्च गर्ने प्रचलन पुरानै हो । संसारकै लोकतन्त्र आयो देशमा भनियो, जनसंख्याको हिसाबले यो ४९ औँमा छ भने जीडीपीमा ९९ औँ र सम्पन्नताको हिसाबमा ११४ औँमा छ देश । लोकतन्त्रमा दुई तिहाइको मत पचेन । ६१ सिट ल्याउने प्रधानमन्त्री बने, विगत ३१ वर्षमा २८ पटक सरकार परिवर्तन, यो समयमा लोकतान्त्रिक भारतमा जम्मा ७ पटक मात्र परिवर्तन भएछ, प्रधानमन्त्री संख्या पनि कम । मनमोहन र अटल विहारीले २–२ पटक मात्रै प्रम पद लिए, मोदीले पनि २ पल्ट । पछिल्लोपल्ट यहाँ सरकारमा ३६ जना नयाँ अनुहार आएकामा ४ जना पीएचडी, ४ जना मेडिकल डाक्टर, ४ जना इन्जिनियर, ४ जना मास्टर्स डिग्री, ६ जना एलएलबी, ३ जना एमबीए, ९ जना ब्याचलर आए ।

हामीकहाँ योग्यता सोध्न हुन्न भनिन्छ । ३१ वर्षमा अर्को सम्भ्रान्त देश अमेरिकामा ६ जना मात्र राष्ट्रपति भएछन् । यहाँ मन्त्री भएकालाई राजदूत बनाइन्छ, स्नातक हुनुपर्ने योग्यता माग भए अदालतमा मुद्दा जान्छ । शिक्षाप्रतिको यो बेइमानी हो । मलेसियमा सुल्तानीहरुले राज गर्दा महाथीरले सांसद हुन स्नातक हुनुपर्ने नियम बनाए । सिंगापुरमा ली क्वानले समृद्धिको आधार तय गरे, झन्डै सय वर्ष बाँचे, बूढो भएर के गर्नु बुद्धि तगडा रहेछ । नेपालको हालको संयुक्त सरकारका प्रम एक्लै ५ पटक प्रम भए, ज्योतिषले उनलाई ७ पटकको भविष्यवाणी गरेका छन् । जे–जे सोर्सफोर्स जुटे पनि नेपालीको मन भने दुखेकै छ । हामीकहाँ न मूल कानुन संविधान मानियो, न कानुनी राजको कुरा, न सल्लाहकारको सल्लाह नै मानियो । जनताका जनजीविकका विषयमा कहीँ, कतै, कुनै समयमा बहस हुन्न, बहस हुने भनिएको थलो संसद् अनिर्णयको बन्दी हुन्छ, दलको कब्जामा रहन्छ । अदालती फैसलामा समेत स्वेच्छाचारी र वदनियत भनिएको छ । सुशासनको सुगा रटाइले के हुन्छ ?

कोभिड महामारीमा जनतालाई चुनावी कार्यमा होमिन प्रयत्न गराइयो । देशमा नेता उत्पादनको कारखाना बढेको छ तर नाना, छाना र खानाका उत्पादन विदेशबाट आउँछ । सत्ता स्वार्थको भीड सडकमै देखिन्छ । पानीजहाज र रेलको गफ यहीँ चल्छ । आएको मेलम्ची उद्घाटनमा सीमित हुन्छ । दलभित्र शक्ति सन्तुलनको अभाव छ । त्यसको परिणाममा अकालमा संसद् भंग हुन्छ । बल्ल संसद् बिउँझिए पनि हानथापले नाराबाजीमा सीमित हुन्छ, अध्यादेशबाट बजेट ल्याइन्छ। पहिले–पहिले ठूला व्यक्तिहरुले पढेका भानु स्कुल बनाइदिन विदेशी आउँछन् । शहर जोड्ने पुल बनाइदिन पनि विदेशी आउँछन् । छानो नभएको सरकारी स्कुलमा धेरथोर पढेकाहरु करोडौँ मूल्यको हेलिकप्टर चढ्छन् । आडैमा हेलिप्याड चाहिन्छ ।

यहाँ एक्लै खाए घूस बन्छ, २–४ जना मिलेर खाए दस्तुर, तल–माथि सबैले खाए सेटिङ, एक–दुईवटा बन्दुक पड्काए ज्यानमारा, १ दर्जनमा योद्धा, सयमा विद्रोही, हजारमा क्रान्तिकारी भन्ने चलन छ ।

यहाँ सुशासन सिकाउन नर्वे, स्वीडेन, चीन, भारत आउनुपर्छ । धान, चामल, औषधि दिन पनि विदेशी अनि बिजुलीको पोल हाल्न अमेरिका नै चाहिन्छ । यहाँका किशोरकिशोरी भने खाडीमा । यस्तै छ यहाँको चलन । समय यस्तो पनि थियो, विनाप्राज्ञिक पनि देश चल्थ्यो । राष्ट्र निर्माता पृथ्वी नारायणले पढेका थिएनन्, उनी ल्याप्चे हुन् तर उनको विचार बलियो थियो । हतियार चलाउन जान्दथे । वरिपरि प्राज्ञिक व्यक्तित्वहरु थिए । बौद्धिक व्यक्तित्वहरुले राय सल्लाह दिन्थे । उनी र उनका पुत्रका पालाको देश अहिलेको सिमानाभन्दा तेब्बर थियो । जंगबहादुर पनि खासै पढेका मान्छे होइनन् तर उनको साहस धेरै थियो । उनी बाघसँग लड्न सक्ने र विदेशीसँग टक्कर लिन सक्ने थिए ।

उनका औपचारिक श्रीमती नै ४२ जना थिए । धेरै कम उमेरका प्रम, युद्धकला र घोडचढी मन पर्ने, सिकार खेल्न, मन पर्ने र बन्दुकको बन्दोबस्त गरिरहनुपर्ने स्वाभवका थिए । बम्बैबाट एकैपल्ट ३० वटा घोडा मगाएका थिए । उनले धरहराबाट हाम्फाल्न खोजेका थिए । यसै गरी हात्तीलाई कुल्चाएका थिए । बेलायत भ्रमण गर्ने पहिलो प्रम, लगातार १ वर्ष त्यहीँ बसेका थिए । बाँके–वर्दिया फिर्ता गराउने प्रम, मामा माथवरसँगको बेमेल, माथवर प्रम भएका बखत उनी मपस मात्र, पछि माथवरको हत्या, कोतपर्व रचाई शक्तिशाली भएर १०४ बर्से राणा शासनको उदय गराउन सफल थिए जंगबहादुर । भतिजलाई विनाकसुर फाँसी दिने, भतिज–पत्नी सती जाँदा तिमी शक्तिशाली बन्नेछौ भनेकै आधारमा पूर्ति बढाएका थिए । भाइ भारदारका लागि लामो समय सत्ता टिकाउन प्रेरणा दिने जंगबहादुरको साहस अचम्मको थियो । यद्यपि उनलाई क्रुर शासक भनिन्छ, तर आँटिला ।

अहिले पढाइको ठेली छैन भने पनि प्राज्ञिकहरु देशमा धेरै छन् । राय–सल्लाह लिन सकिन्छ । साँढेजस्तै डुक्रिएर देश बन्दैन । देश बनाउन सीप चाहिन्छ, कला चाहिन्छ र कूटनीति पनि । प्रचण्डकै मुखबाट सुनिएको छ, अहिले पनि बालुवाटारमा दरबारिया शैली छ, अर्बौंका विदेशी सामान छन् सजावटमा, जनताका घर थोत्रा छन्, नेताजीहरुले राजसी शैली अपनाउन मिल्ला त ?

यहाँ शहरमा बस्ने नेतालाई जिमखाना चाहिन्छ । विदेशी शैलीको शौचालय र कार्पेट अनि चिल्ला कार चाहिन्छ । सुरक्षाकर्मीले निवासमा पहरा दिन्छन् । बुट लगाएर खाना खाइन्छ, सकेसम्म विदेशी मिनरल वाटर । गाउँमा बच्चाहरु हिलोमैलोमा लडिबुडी गर्छन् । सिटामोल छैन, तुलसीको मठले सुरक्षा दिन्छ । घर लडेर मान्छे स्वाहा हुन्छन् । बाढी र पहिरो, कतै हावाहुरी र चट्याङको मारमा पर्छन् । तातो–चिसो एसीको शब्द त्यहाँ सुन्न पाइँदैन । जुत्ता फुकालेर श्रीमतीले दिएको खाना खान्छन् । नेताजीहरु यहाँको बेरोजगारी अन्त्य गर्ने भन्छन्, डीभी परेर विदेशिँदा भने अलिकति बेरोजगारी घट्ने हो, विदेशमा पनि गएर काम खोज्ने हो । यहाँ रक्सी धेरै बिक्री हुन्छ, जडीबुटी उद्योगका सम्भावनामा ध्यान गएको छैन । गाउँमा तिहुन, तरकारी, दूध, दही एँचोपैँचो चल्थ्यो पहिले, अब पुरानो संस्कृतिमा विकृति आएको छ । मान्छेको स्वभाव परिवर्तन भएको छ । गाउँमा अझैँ पनि धर्म संस्कार केही बाँकी छ, शहरमा संसद्मै टाई संस्कृति चलेको छ, राष्ट्रिय पोशाकमा गर्व छैन ।

यहाँ कार्यकर्ता होइन, असली जनताको खाँचो छ । राष्ट्रियताभन्दा दल ठूलो हुन्न । नयाँ संविधान, संघीयता र गणतन्त्र जनताका लागि मृगमरिचिका हो, विदेशीको दबाब र प्रभाव, अनि प्रलोभन हो । अमेरिकामा ४ करोड गरिब छन्, जनजीविका असहज छैन । त्यहाँ कृषि पढेका छन्, किसानको पहिचान छ । ५–६ वर्षको उमेरमा मात्र औपचारिक शिक्षाको आरम्भ हुन्छ । शिक्षा १२ सम्म निःशुल्क र अनिवार्य छ । सरकारी विद्यालय नामी छ । त्यहीँबाट विज्ञहरुको उत्पादन हुन्छ । ३३ करोड जनसंख्या भएको त्यो देश पछि पत्ता लागेको हो, जहाँ ५ हजार हवाईजहाज आकाशमा नियमित उडिरहन्छन् । दुईपटक कार्यकाल बिताएका राष्ट्रपति ओबामा अहिले पनि छोरी पढाउन जागिर खान्छन्, प्लास्टिकका कुर्सीमा बसेर रेस्टुराँमा चिया–नास्ता खाँदै गरेको भिडियोहरु देख्न सकिन्छ । हाम्रो मुलुकले यी कुरा कहिले सिक्ने ? हाम्रो लोकतन्त्रका आयामहरु नै यस्तै हुन् कि !newsofnepal/from

50% LikesVS
50% Dislikes