पढाइका लागि बालश्रम, तर पढाइ नै कम !


वासुदेव शर्मा
जाजरकोट ।

स्कुल जानका लागि बालबालिका श्रम गर्छन् भने बालअधिकारसम्बन्धी महासन्धिले पनि त्यसको अनुमति दिन्छ । तर, जाजरकोटका बालबालिका पढाइमा भन्दा बढी कामतिर लागेका देखिन्छन् ।

‘किन काफल बेचेर बसेको, पढ्नुपर्दैन’ भनेर सोध्दा उनीहरू ‘यति काफल किनिदिनुस् न दाइ, कापी–कलम किन्नुछ’ भनेर जवाफ दिन्छन् ।
दुई घण्टा पैदल हिँडेर सदरमुकाम खलङ्गामा काफल ल्याएर बिक्री गर्ने बालबालिकाको समय पढाइमा भन्दा काममा बढी लागेको स्थानीय वासिन्दाहरूको भनाइ छ । विद्यालयमा चाहिने शैक्षिक सामग्री, कापी कलम भर्ना शुल्कका लागि आफ्नो खर्च आफैं जुटाउनु उनीहरूको बाध्यता देखिन्छ । आर्थिक अवस्था कमजोर भएको, अभिभावकको रोजगारी नभएपछि पढ्ने चाहना राखेका बालबालिकाहरू निन्द्रा र भोकले सताउने उमेरमा बिहान बिहानै सरदमुकामको खलङ्गा बजारमा काफल बोकेर आउने गरेका छन् ।

भेरी नगरपालिका– ६ का सञ्जिव बुढा १३ वर्षका भए । उनी गाउँकै लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कक्षा ६ मा अध्ययन गर्छन् । पढीलेखी शिक्षित बन्नकै लागि बिहान ५ बजे आँखा मिच्दै उठेर काफलको भारी बोकेर खलङ्गा सदरमुकाममा बेचेर जाने गरेका छन् । अभिभावकसँग कृषि पेसा र ज्यालामजदुरीबाहेक अन्य रोजगारी नहुँदा पढ्ने लेख्ने इच्छा भएकाले आम्दानी गर्न काफल बेच्न आउने गरेको उनी बताउँछन् ।
सोही विद्यालयमा कक्षा ६ मै अध्ययनरत छात्रा हीरा थापा पनि पढाइ खर्चका लागि काफल लिएर आउने गर्छन् । बुबा आमाको रोजागरी र अन्य आम्दानीको स्रोत नभएका कारण काफलको भारी बोकेर आउनु परेको उनको भनाइ छ ।

भेरी नगरपालिकाको भेरे, डिगा, तिमिले लगायतका गाउँबाट महिला बालबालिका बिहान सदरमुकाम खलङ्गा बजारमा काफलको भारी बोकेर घर घर डुलिरहेका हुन्छन् । ‘बुबा आमासँग पैसा हुँदैन बुबाको रोजगारी छैन, ज्यालामजदुरी गरेको पैसाले कपडा र खानेकुरा किनमेल गर्दै सकिन्छ बुबा आमासँग पैसा हुँदैन माग्न सकिँदैन आफनो खर्च आफैं जुटाउन काफल ल्याएर आउछौं थापाको कथन छ ।

महिला, बालबालिकालाई विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने स्थानीय सरकारको लक्ष्य भए पनि उनीहरूको आवश्यकताअनुसार काम गर्न नसक्दा पढ्ने लेख्ने समयमा भारी बोकेर हिड्नुपर्ने बाध्यता छ । नेपालमा कानुनतः १२ कक्षासम्म निःशुल्क शिक्षा पाउने अधिकार भए पनि विद्यार्थीबाट भर्ना शुल्क लिने गरिन्छ । सरकारी निर्णयलाई बेवास्ता गर्दै गरिब असाहाय, बालबालिकाहरूबाट विद्यालयले भर्ना शुल्क असुल्ने सामान्य चलन बनेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् ।

कृषि पेसामा निर्भर यहाँका नागरिक आकासे पानीको भरमा खेती गर्छन् । खेतीयोग्य जमिन प्रर्याप्त छैन, भिरालो जमिनमा लगाएको खेतीपातीले नागरिकहरूलाई छ महिना पनि खाना पुग्दैन, अधिकांश नागरिकहरू ज्यालामजदुरी गर्न बाध्य छन् । ज्यालामजदुरी गरेर ल्याएको पैसाले पेट भर्न धौ धौ छ । रोजगारीका कार्यक्रम गाउँमा पर्याप्त नहुँदा कामको खोजीमा नागरिक भारत पलायन हुनु परेको छ । कृषि पेसाबाहेक आत्मनिर्भर बन्ने पेसा व्यवसाय नहुँदा दैनिक उपभोग्य सामग्री जुटाउन नागरिकलाई हम्यहम्य पर्नेगरेको छ ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती पुनः दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित हुनुभयो । उहाँकै वडाबाट अधिकांश बालबालिकाहरू काफलको भारी बोकेर पढाइ खर्च जुटाउन सदरमुकाम खलङ्गा आउने गरेका छन् । तर उहाँसँग बालबालिकाको हितमा कुनै योजना देखिन्न ।newsofnepal

50% LikesVS
50% Dislikes