कृषि र किसान

प्राविधिक त्रुटिले असी लाखको सुन्तला नष्ट

राधा नेपाली

सन्धिखर्क । अर्घाखाँचीको पाणिनि गाउँपालिका–२, पोखराथोकस्थित शिवशक्ति शीतभण्डारणमा प्राविधिक त्रुटिका कारण ६३ मेट्रिक टन सुन्तला ढुसी लागेर नष्ट भएको अध्ययनले पुष्टि गरेको छ ।

पणेना र पोखराथोकका कृषकले भण्डारण गरेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषद्ले स्थलगत अध्ययन गरेको थियो ।

६३ मेट्रिक टन सुन्तला कुहिएपछि करिब ८० लाख रुपियाँबराबरको नोक्सानी भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । केन्द्रका कार्यालय प्रमुख बद्धिराज घिमिरेले भन्नुभयो, “भण्डारणमा दुई/तीन वर्षपहिले देखिको ढुसीले गर्दा अहिले समस्या भएको देखिन्छ । भण्डारण चेम्बर (कक्ष) मा आवश्यक औषधीको प्रयोग र प्राविधिक प्रक्रिया नपुगेको देखिन्छ ।”

पञ्जा प्रयोग नगरी शीत भएको समयमा सुन्तला टिपिएको, भण्डारण गर्दा घरलाई निर्मलीकरण सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको र अघिल्ला वर्षहरूको ढुसीका जीवाणु नष्ट नभएकाले अहिले ढुसी लागेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । साथै सुन्तलालाई पटक–पटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको घिमिरेले बताउनुभयो । पोखराथोकका कृषक चिरञ्जीवी पौडेलले भन्नुभयो, “ढुसी लागेर सुन्तला नोक्सान भयो । यस्तो पहिला भएको थिएन । हामीले सबै विधि पुर्‍याएर राखेको हो । अहिले प्राविधिक त्रुटि भयो भन्नुहुन्छ । आर्थिक रूपमा ८० लाख रुपियाँ जाति नोक्सान भएको छ ।”

घिमिरेका अनुसार ‘रफ हेन्डलिङ र ट्रिटमेन्ट नमिलेका’ कारण हरियो र निलो ढुसीले सुन्तला कुहिएको हो । कृषक मानबहादुर श्रेष्ठ, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले ९० टन सुन्तला भण्डारण गर्नुभएको थियो । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ विज्ञ उमेश आचार्य, कृषि विकास निर्देशनालय बुटबलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटवलका बागवानी अधिकृत सुनयना बरालीलगायतले अध्ययन गरेको थियो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button