स्वास्थ्य

जीवनशैली परिवर्तन क्यान्सरको प्रमुख कारक

सरोज ढुङ्गेल

काठमाडौँ । जीवनशैली र खानपिनमा आएको परिवर्तन, धूमपान, मद्यपान, मोटोपनालगायतका कारण नेपालमा क्यान्सर रोगका बिरामी अत्यधिक बढ्न थालेका छन् ।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा क्यान्सर रोगको अवस्था भयावह बन्दै गएको बताउँदै भन्नुभयो, “रोगका कारण मृत्यु हुनेमध्ये क्यान्सर रोग दोस्रोमा पर्दछ ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा पहिलोमा मुटुसम्बन्धी रोगका कारण सबैभन्दा बढीका मृत्यु हुने गरेको छ ।

सङ्गठनका अनुसार नेपालमा प्रत्येक दिन ४० जना नेपालीको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको छ । उहाँले क्यान्सर रोग तथा नसर्ने रोग बढ्नुको कारकका रूपमा धूमपान र परिवर्तन हुँदै गएको जीवनशैली प्रमुख रहेको उल्लेख गर्दै जनचेतना अभिवृद्धि गरी क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने सल्लाह दिनुभयो ।

उहाँका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथाम गर्नका लागि किशोरीलाई खोप दिन सकिन्छ । यस्तै कलेजोको क्यान्सरका लागि हेपाटाइटिस बीको खोप लगाउनुपर्ने हुन्छ । क्यान्सरको औषधी नेपालमा उत्पादन हुन नसक्दा तुलनात्मक रूपमा महँगो पर्ने गरेको छ । क्यान्सर विशेषज्ञ डा. शाहीले ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुने गरेको बताउनुभयो ।

नेपालमा क्यान्सरको उपचारमा रोबोटिक सर्जरी, रोबोटिक थेरापी तथा प्रोटोनथेरापी उपलब्ध हुन सकेको छैन । प्रोटोनथेरापी (क्यान्सर सेक्ने मेसिन) निकै महँगो पर्छ । भारतमा यो उपकरण जम्मा दुई वटा मात्र छन् ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. अनिलविक्रम कार्कीले नेपाल क्यान्सर रोगको जोखिममा रहेको बताउनुभयो । उहाँले पनि क्यान्सर रोगको स्क्रिनिङमा ध्यान दिनुपर्ने बताउँदै रोग पहिचानलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो।

“क्यान्सरमा गाह्रो नहुँदासम्म मानिस अस्पताल जाँदैनन्,” उहाँले भन्नुभयो, “पहिलो चरणको क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ । त्यसैले क्यान्सरको पहिचानका लागि तत्काल अस्पताल जानु पर्छ ।” नेपालमा सबभन्दा धेरै फोक्सोको क्यान्सरको समस्या देखिएको छ । त्यसबाहेक पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर, ठुलो आन्द्राको, मुखको क्यान्सर र रगतको क्यान्सर बढी देखिएका छन् ।

क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपाल क्यान्सर अस्पतालमा वर्षमा नयाँ पत्ता लागेका करिब तीन हजार पाँच सय बिरामी आउने गरेको बताउनुभयो । उहाँले चेतना र गरिबीका कारण ९० प्रतिशत क्यान्सर रोगी अस्पतालसम्म आउन नसकेको बताउनुभयो ।

उहाँले क्यान्सर रोग विकसित मुलुकबाट अविकसित मुलुकमा देखा पर्दै गएको उल्लेख गर्दै एसियामा मात्र ६० प्रतिशत क्यान्सर रोगका बिरामी रहेको जानकारी दिनुभयो । उहाँले मध्यपान तथा सुर्तीजन्य पदार्थको प्रयोग नै क्यान्सर रोगको प्रमुख कारण रहेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले करिब ४५ प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने, एक तिहाइ क्यान्सर उपचारबाट निको बनाउन सकिने र बाँकी बिरामीलाई पनि उपचारबाट आरामदायी आयु लम्ब्याउन सकिने जनाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेषनारायण श्रेष्ठले क्यान्सर अस्पताल सञ्चालन भएपछि बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको बताउनुभयो । उहाँले दैनिक पाँच सय बिरामी आउने गरेकोमा नौ जनाको क्यान्सर पहिचान हुने गरेको बताउनुभयो । भक्तपुर क्यान्सर अस्पतालमा आएकामध्ये हप्तामा तीनदेखि पाँच जना क्यान्सरका कारण मृत्यु हुने गरेका छन् । नेपालमा बर्सेनि क्यान्सरका २० देखि ३० हजार नयाँ रोगी थपिन्छन् । तीमध्ये १२ देखि १८ हजारको मृत्यु सोही वर्ष हुने गरेको छ । यसैबिच आइतबार विश्व क्यान्सर दिवस मनाइँदै छ ।गोरखापत्र दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button