कृषि र किसानहेड लाइन

घाँसका रूपमा मकै बिक्री हुन थालेपछि किसान खुसी

वराहक्षेत्र। सुनसरी जिल्लाको श्रीलङ्का टप्पुका किसानहरूले लगाएको मकै पाक्न नपाउँदै घाँसका रूपमा बारीबाटै बिक्री हुन थालेको छ। कात्तिकमा लगाएको उन्नत जातको मकै बारीबाटै बिक्री हुन थालेपछि टप्पुवासीले त्यसबाट राम्रो आम्दानी लिन थालेका हुन्।

साइलेज घाँसका लागि हरियो मकै बारीबाटै बिक्री हुन थालेपछि बद्री राईले एक बिघा १० कट्ठाको दुधे मकै तीन लाखमा बिक्री गर्नुभएको छ । मकै पाकेपछि दाना बनाएर बेच्नभन्दा बोटै बेच्दा फाइदा भएको राईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कात्तिकमा रोपेको मकै चैतमा मात्र तयार हुन्थ्यो । मकै पाक्नुभन्दा ढेड महिनाअगाडि नै खेतबाटै मकै बिक्री भएपछि मकै लगाउँदै आएको छु ।” वर्षमा दुई पटकसम्म उन्नत जातको मकै खेती गर्दै आएकोमा साइलेज बनाउन मकै बिक्री हुन थालेपछि टप्पुका किसान वर्षमा तीन पटक मकै खेती गर्न सुरु गरेका छन् । खेतबाटै बोटसहित मकै उठाउने भएपछि किसानलाई परिश्रम पनि कम पर्ने, फाइदा बढी हुने र बाली लगाउन खेत खाली हुँदा टप्पुवासीहरू मकै खेतीमा आकर्षित भएका छन् ।

साइलेज घाँस बनाउँदै आउनुभएका भोक्राहा नरसिंहका वीरबल महतोले भन्नुभयो, “राम्रो दुधे मकै भए प्रतिकट्ठा सात हजारमा किन्ने गरेका छौँ ।” उहाँले तीन वर्षदेखि साइलेस प्याकिङ मेसिनबाट दुधे मकैको साइलेज बनाउँदै आउनुभएको छ ।”

मकै उत्पादनका लागि उर्भर भूमि मानिने टप्पुमा किसानले प्रतिकट्ठा पाँचदेखि आठ मनसम्म मकै उत्पादन गर्दै आएका थिए । भाँचेको थे्रसर गरेर दाना बनाएपछि मात्रै व्यापारीले मकै किन्ने गरेका थिए । “बोटै बेच्दा न मकै भाँच्नु प¥यो न दाउनी नै गर्नु प¥यो,” टप्पुका हिमाल राईले भन्नुभयो ।

दुधे मकैलाई मेसिनले काटेर ४० दिनसम्म प्याकिङ बोरामा राखेपछि साइलेस तयार हुन्छ । वीरबलले श्रीलङ्का टप्पुमै बसेर मङ्सिरदेखि १५ बिघामा लगाइएको मकैको साइलेज बनाइसक्नुभएको छ । एक बिघा मकैको ३० हजार केजी साइलेज घाँस तयार हुने गरेको उहाँ बताउनुहुन्छ । दैनिक १० टन साइलेस महतोले बिक्री गर्दै आउनुभएको छ । साइलेस पशुपालक कृषक र ठुला पशु फार्महरूले प्रतिकेजी १२ रुपियाँका दरले खरिद गर्दै आएका छन् ।

टप्पु क्षेत्रमा बलौटे माटो भएकाले टप्पुमा अन्य बालीभन्दा मकै बाली उत्पादन हुने गरेको छ । टप्पु क्षत्रमा तीन सय बिघाभन्दा बढी क्षेत्रफलमा मकै खेती गरिँदै आएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button