
जीवन शर्मा
काठमाडौं ।
शिक्षण पेशाबाट राजनीतिमा हाम फालेका प्रतिनिधि सभाका पूर्व सभामुख नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा राजनीतिक रूपमा थला पर्नुभएको छ।
चिनियाँसँग ५० करोड रुपियाँ बार्गेनिङ गरेको अडियो प्रकरण, संसद् सचिवालयकी महिला कर्मचारी रोशनी काण्ड र अवैध सुन तस्करी प्रकरणमा फसेका पूर्वगृहमन्त्रीसमेत रहेका महरा राजनीतिक रूपमा थलिन पुग्नुभएको हो।
महरालाई विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीको पुनः अनुसन्धान गर्न अवैध सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सोमबार कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको छ । उहाँ भारत जाने क्रममा पक्राउ पर्नुभएको बताइएको छ।
यसअघि उहाँले सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उपस्थित भएर बयान दिनुभएको थियो। तर, सीआईबीले थप अनुसन्धान नगरी छाडेको भन्दै जाँचबुझ आयोगले सीआईबी प्रमुख किरण बज्राचार्यमाथि समेत कारबाही गर्नुपर्ने राय सरकारलाई बुझाएको थियो।
उक्त प्रतिवेदनको बुझेलगत्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो। सोमबार पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिए पनि पछि अस्पतालमा बस्न दिन आदेश दिएको छ।
महाराले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठीक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको अदालतमा बताएपछि उहाँलाई अस्पताल बस्न दिन आदेश दिएको हो।
अदालतको आदेशअनुसार महराले केन्द्रीय अनुसन्धान ब्युरोका हिरासतमा बस्न नपर्ने भएको छ । पक्राउ परेलगत्तै यती एयरलाइन्सको जहाजमार्फत् काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएका महरामाथि अनुसन्धान गर्न सीआईबीलाई ४ दिनको म्याद दिएको छ।
तर, न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा महराले आफूमा मस्तिष्कसम्बन्धी, घाँटीको क्यान्सर, प्रोस्टेटसम्बन्धी समस्या रहेको भन्दै सोहीअनुसार आठ प्रकारको औषधि खाने गरेको बताउनुभएको थियो।
कुन–कुन कान्डमा मुछिए महरा ?
२०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा आएर १२ वर्षमै संसद् छिर्न सफल कृष्णबहादुर महराको व्यक्तित्व निकै शालीन र भद्र देखिन्छ। उहाँ नेकपा (माओवादी केन्द्र) का धेरै नेताका ‘महरा सर’ का रूपमा समेत परिचित हुनुहुन्थ्यो ।
२०४८ सालको निर्वाचनमा रोल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनयुद्ध शुरू हुनुअघि रोल्पामा शिक्षण पेशामा रहेका महराले आफ्ना धेरै चेलाहरूलाई राजनीतिमा ल्याएपछि माओवादी नेताहरूले उहाँलाई ‘एम सर’ भनेर सम्बोधन गर्ने गरेका थिए।
माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला पार्टीका प्रवक्ता र सरकारसँग वार्ता टोलीका संयोजकसमेत बनेका महरा माओवादी शान्ति प्रक्रियामा आएसँगै पार्टी नेतृत्वसँग बार्गेनिङ गरेर सधैं लाभको पदमा बस्न सफल हुनुभयो ।
महरा तीनपटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री र नेकपाको दुईतिहाई बुहमतको शक्तिशाली सरकारका पालामा सभामुख हुनुभएको थियो । तर, उहाँ सभामुख भएकै बेला संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको घटनामा पक्राउ गर्नुभएको थियो।
त्यसअघि उहाँले चिनियाँ व्यापारीसँग ५० करोड रुपियाँ कमिसन मागेको अडियो सामग्री सार्वजनिक भएको थियो। यसअघि पनि पार्टीभित्र र बाहिर गरी दर्जन विवादमा परेका महराका मुख्यगरी तीन काण्ड उहाँको राजनीतिक जीवन सखाप पार्ने घटना हुन् । सुन कान्डबाहेक उहाँले रोशनी कान्ड र चिनियाँ व्यापारीसँग ५० करोड कमिसन मागेको घटनाले उहाँको राजनीतिक यात्रा ओरालो लागेको हो ।
२०६७ भदौ १८ गते एक चिनियाँ नागरिकसँग सांसद खरिद गर्नका लागि उहाँले ५० करोड रुपियाँ मागेको अडियो सार्वजनिक भएसँगै उहाँको छवि धमिलिएको थियो। महराले २०७६ असोज १२ गते राती संसद् सचिवालयमा स्वास्थ्य सेवा इकाइमा काम गर्ने महिला कर्मचारीलाई उनकै घरमा बलात्कार गरेको आरोप लागेपछि उहाँको सभामुख र सांसद पद खोसिनुका साथै करिब पाँच महिना जेल जीवन बिताएर छुट्नुभएको थियो।
यीबाहेक उहाँमाथि सञ्चार मन्त्री हुँदा कौडीको भाउमा बेचिएको फ्रिक्वेन्सी प्रकरण, पूर्वमाओवादी लडाकुको नाममा सरकारले दिएको चेक आफ्नो नाममा लिएको, अर्थमन्त्री भएका बेला करोडौं रुपियाँ रकमान्तरण गरेको लगायत दर्जन विवादमा मुछिनुभएको थियो।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।