
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले आईपिएल इतिहासकै सबैभन्दा ठुलो २७७ रनको स्कोर बनाएको छ।
हैदरवादले आरसीबीले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठुलो स्कोरलाई तोड्दै नयाँ इतिहास बनाएको हो। बुधबार राति राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले तीन विकेटको क्षतिमा उक्त स्कोर खडा गरेको हो ।
२७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई इण्डियन्स ३१ रनले पराजित भएको छ। मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनायो।
मुम्बईका लागि तिलक बर्माले शानदार अर्धशतक बनाए। उनले ३४ बलमा २ चौका र ६ छक्कासहित ६४ रन जोडेका हुन्। मुम्बईका टिम डेविड ४२ रन र रोमारियो शेफर्ड १५ रनमा अविजित रहे।
मुम्बईका लागि इशन किसन १३ बलमा ३४ रन बनाएर पहिलो विकेटको रुपमा क्याच आउट भए।
अर्का ओपनर रोहित शर्मा पाँचौँ ओभरको तेस्रो बलमा अभिषेक शर्माबाट क्याच आएट भए। आउट हुनुअघि रोहितले १२ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए।
मुम्बईको इनिङ्समा नमन धीर र तिलक बर्माले तेस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे। ११ औं ओभरमा नमन ३० रनमा आउट भए। राम्रो फममा खेलिरहेका लितक १५औँ ओभरमा क्याच आउट भए। कप्तान हार्दिक पाण्ड्या २० बलमा १ चौका र १ छक्कासहित २४ रन बनाएर क्याच आउट भए।
हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे।
यसअघि सुरुमा ब्याटिङ गर्दै विशाल रनको लक्ष्यका लागि हैदरवादका हाइनरिक क्लासनले अविजित सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे भने एडन मारक्रमले २८ बलमा २ चौका र १ छक्कासहित अविजित ४२ रन जोडे।
ट्रेविस हेड र अभिषेक शर्मा तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। अभिषेक शर्मा २३ बलमा ६३ रन बनाएर ११औँ ओभरको अन्तिम बलमा नमन धीरको बलमा क्याच आउट भए। शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।
मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाले १–१ विकेट लिए। यो सिजनको आईपिएलमा पहिलो शानदार र ऐतिहासिक जित निकाल्दै हैदरावादले दुई अंक जोडेको छ। मुम्बई भने दुई खेल खेल्दा अंकबिहीन छ।हिमालय टाइम्स