कृषि र किसान

चैते धान उत्पादनमा जोड

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड दिएको छ । त्यसका लागि विभिन्न कार्यक्रम अगाडि बढाउने भएको छ । यसै क्रममा सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले मूल्य तोकेको हो ।

१८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार ७०७ रुपियाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

अघिल्लो आव २०७९/८० मा एक लाख चार हजार ७१२ हेक्टर जमिनमा चैते धान खेती लगाइएको थियो । त्यसमा पाँच लाख २० हजार मेट्रिक टन उत्पादन भएको थियो । चेते धानको उत्पादन वृद्धिका लागि सरकारले चालु आवमा २० हजार हेक्टर क्षेत्रफल विस्तार गरी एक लाख २५ हजार हेक्टरमा चैते धान उत्पादन गर्ने योजना बनाएको थियो । त्यसका लागि सरकारले चैते धान विस्तार कार्यक्रम बनाएको थियो तर आर्थिक अभावका कारण यो चालु आवका योजना स्थगित गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धानसम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको हो । २०७४ सालमा नार्कले चैतमा किसानलाई समुद्र सतहदेखि ७५० मिटरसम्म चैते–५ जातको धान लगाउन सिफारिस गरेको थियो । त्यही बेलादेखि चैते धानमा सरकारले लगानी गर्न सुरु गरेको कृषि मन्त्रालयले जनाएको छ ।

बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउने गरिएकामा अहिले नार्कले निकालेका नयाँ नयाँ जात कम सिँचाइ हुने ठाउँमा पनि लगाउन थालिएको छ । हाल हर्दिनाथ–१, चैते–३, चैते–२, चैते–४, चैते–५, चैते–६ जातका धान लगाउने गरेको छ ।

अझै पनि मसिनो र छिटो पाक्ने जात कम छन् । हाल उपलब्ध चैते धानका धेरैजसो जात मोटा भएकाले किसान र उपभोक्तामाझ त्यति लोकप्रिय हुन सकेको छैन । यसलाई चिउराका लागि बढी प्रयोग गरेको पाइएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button