कृषि र किसान

प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी

मल उत्पादन स्थलको शिलान्यास गरिँदै । तस्बिर : रेखीराम राना

तानसेन। पाल्पामा प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाले स्थानीय सहकारी संस्थासँगको सहकार्यमा प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न थालेको हो ।

आगामी तीन महिनाभित्र कारखाना सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पछिल्लो समय रासायनिक मलको अत्यधिक प्रयोग बढेकाले त्यसलाई घटाउन पालिकाको लगानीमा प्राङ्गारिक मल उत्पादन कारखाना सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो ।

पालिकाले कारखाना सञ्चालनका लागि चालु आव २०८०/८१ मा १५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । नपुग ३० लाख बजेट स्थानीय जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले बेहोर्ने गरेर संरचना निर्माणको काम सुरु भएको उहाँले बताउनुभयो । प्राङ्गारिक मलतर्फ किसानलाई आकर्षित गर्ने योजनाका साथ कारखाना सञ्चालनको काम सुरु भएको पालिकाका अध्यक्ष कार्कीले बताउनुभयो ।

वार्षिक २५० टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्यसहित कारखाना सञ्चालनको तयारी भएको जलेश्वर सहकारीका अध्यक्ष नारायणबहादुर लामटाङ्गेले बताउनुभयो । कारखाना दिगो रूपमा सञ्चालनका लागि ५१ प्रतिशत सहकारी र ४९ प्रतिशत किसान उपभोक्ताको लगानी रहने उहाँले बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button