स्वास्थ्य

चौध वर्षमा बदलिएको दिन, ९७ वर्षीय महिलाको सफल शल्यक्रिया

९७ वर्षीय तमिसरा पुनमगर ।

वसन्त पराजुली

नारायणगढ । जेठ ४ गते वरिष्ठ क्यान्सर शल्यचिकित्सक डा. भक्तमान श्रेष्ठका लागि कालो दिन हो । १४ वर्षअघि जेठ ४ गतेकै दिन तत्कालीन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठ अपहरणमा पर्नुभएको दिन थियो त्यो तर आफू अपहरणमा परेको १४ वर्षपछिको जेठ ४ गतेको कालो दिन उहाँले जीवनमा सम्झनलायक दिन बन्यो ।

२०८१ जेठ ४ गते उहाँले यसअघि कहिल्यै नगरेको जटिल शल्यक्रिया गरेर पुरानो दिन बिर्सेर नयाँ र स्मरणीय बनाउनुभएको हो । चिकित्सा विज्ञानमा कठिन मानिने झन्डै एक शतक उमेर पुग्न लाग्नुभएकी एक वृद्धाको सफल शल्यक्रिया गरेर उहाँले कालो दिनलाई आफ्नो स्मरणीय दिन बनाउनुभएको हो ।

डा. श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक टोलीले भरतपुरको नारायणी सामुदायिक अस्पतालमा चितवन राप्ती नगरपालिका–७, वीरेन्द्रनगरकी ९७ वर्षीय तमिसरा पुनमगरको जटिल शल्यक्रिया गरेको हो । उमेरका हिसाबले असम्भव जस्तै देखिएको मगरको स्तनको क्यान्सरको सफल शल्यक्रिया भएको हो ।

वरिष्ठ क्यान्सर सर्जन डा. श्रेष्ठको नेतृवमा रहेको चिकित्सक टोलीले शुक्रबार एक घण्टा पाँच मिनेट समय लगाएर सो शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी अध्यक्षसमेत रहनुभएका डा. श्रेष्ठले देब्रे स्तनमा २.५ सेन्टिमिटरको गिर्खा देखिएको र त्यसलाई परीक्षण गर्दा क्यान्सर देखिएपछि आफूहरूले शल्यक्रिया गरेको बताउनुभयो ।

“झन्डै सय वर्ष जटिल उमेर हो । शरीरका अङ्गसमेत शिथिल हुने यो उमेरमा शल्यक्रिया गर्नु असम्भव जस्तै हो । परिवारसमेत सहमतिमा आएपछि हामीले त्यो जोखिम मोलेर शल्यक्रिया गरेका थियौँ, त्यो सफल पनि भयो ।”

बढी उमेरमा शल्यक्रिया गर्न विशेष त बेहोस बनाउने चिकित्सककै कारण रोकिने गर्छ । अझ मगरको हकमा फोक्सोमा समस्या र मुटुले समेत पूर्ण काम नगरेको अवस्था थियो । शरीरमा प्लेटलेट्सको सङ्ख्या ५२ हजारभन्दा कम भएका बेला मगरको शल्यक्रिया असम्भव जस्तै थियो । आफूहरूले तीन पिन्ट रगतको तत्व प्लाज्मा दिएर प्लेटलेट्सको सङ्ख्या ६८ हजार पु¥याएपछि मात्रै शल्यक्रिया गर्न आफूहरू तयार भएको डा. श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि व्यक्तिको प्लेटलेट्स ८० हजारभन्दा कममा त शल्यक्रिया गर्न नसकिने अवस्था हुन्छ । फिजिसियन, मुटु रोग र फोक्सो रोग विशेषज्ञको रायका आधारमा एनेस्थेसियन (बेहोस बनाउने डाक्टर) तयार भएपछि शल्यक्रिया सफल भएको हो ।”

सिटी स्क्यानको रिपोर्ट अनुसार अहिले उहाँ क्यान्सरमुक्त हुनुहुन्छ, इम्युनोहिस्टोकेमेस्ट्री (आइएचसी) परीक्षणका लागि नमुना भारत पठाइएको छ ।

मगर विसं १९८३ मा जन्मनुभएको हो । उहाँको देब्रे स्तनमा चरण (सेकेन्ड स्टेज) को क्यान्सर विकास भएको थियो । शल्यक्रियापछि मगरका परिवार पनि आमालाई सय वर्ष बचाउन सकिनेमा ढुक्क हुनुहुन्छ । पुनमगरकी बुहारी टोकली पुनमगर आमाको स्वास्थ्यमा क्रमिक सुधार आएको बताउनुभयो । “अहिले आमा त ठिक हुनुहुन्छ । यो उमेरमा पनि शल्यक्रिया सफल भयो, हामी खुसी छौँ,” उहाँले भन्नुभयो ।

चौध वर्षअघि…

भरतपुरको चितवन अस्पतालबाट राति १० बजे बिरामीको शल्यक्रिया सकेर घर जाँदै गर्नुभएका डा. श्रेष्ठलाई २०६७ जेठ ४ गते भरतपुरको हाकिमचोकबाट अपहरण गरिएको थियो । उहाँ जेठ २१ गते अपहरणमुक्त हुनुभएको हो ।

अपहरणमा संलग्न भएको अभियोगमा भारतीय नागरिक रोहित पलिवार अग्रवालसहित छ जना अहिले पनि जेलमै छन् भने एक जनाले १३ वर्ष जेल जीवन पूरा गरेर केही समयअघि रिहाइ भएका छन् । अझै दुई जना भने फरार छन् ।

घटनामा संलग्नलाई १३ वर्षदेखि १९ वर्षसम्म जेल सजाय तोकिएको छ । डा. भक्तमान अपहरणमुक्त भएयता उहाँले हजारौँ यस्ता जटिल खालका शल्यक्रिया सफलताका साथ सम्पन्न गरेर धेरैको जीवन बचाइसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “अपहरणमा मारेका भए त्यही बेला सकिन्थेँ । धन्न बाँचियो र अहिले पेट र स्तनमा देखिने क्यान्सरको बिरामीको निरन्तर उपचार गराउन पाइरहेको छु ।”
गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button