कृषि र किसान

अन्तर्राष्ट्रिय बजार मूल्य घट्दा मलको बजेटमा कटौती

काठमाडौँ। सरकारले रासायनिक मलको बजेटमा कटौती गरेको छ । चालु आर्थिक वर्षका लागि ३० अर्ब विनियोजन गरेको बजेट आगामी आवका लागि २७ अर्ब ९५ करोड रुपियाँ विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा रासायिनक मलको मूल्य घटेका कारण बजेटमा कटौती गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

आगामी आवका लागि छ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य राखिएको छ । त्यो मल खरिद गर्न करिब २७ देखि २८ अर्ब रुपियाँ लाग्ने देखेर नै त्यति बजेट विनियोजन गरेको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका निर्देशक विष्णु पोखरेलले जति मल चाहिन्छ त्यति नै रकम माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हिसाब गर्दा आगामी आवका लागि करिब छ लाख मेट्रिक टन मल खरिद गर्नुपर्ने हुन्छ, त्यसका लागि २७–२८ अर्ब भए पुग्छ । त्यही भएर कृषि मन्त्रालयले माग गरे अनुसार नै विनियोजन गरेको छ ।”

विगतका वर्षमा

अन्तर्राष्ट्रिय बजारमा रासायिनक मलको मूल्य वृद्धि भएका कारण बढी रकम चाहिएको थियो, अहिले सो मूल्य घटेको उहाँले बताउनुभयो। गत वर्षहरूमा सातदेखि नौ सय डलरसम्म प्रतिमेट्रिक टन मल खरिद गरिएको थियो । त्यही भएर ३० अर्ब रुपियाँभन्दा बढी रकम पनि खर्च भएको थियो तर चालु आवदेखि अन्तराष्ट्रिय बजारको मूल्य घटेका कारण रकम कटौती गरिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारको मूल्य प्रतिमेट्रिक टन तीन सयदेखि पाँच सय डलर रहेको निर्देशक पोखरेलले बताउनुभयो । यो मूल्य यस्तै रहन्छ भन्ने निश्चित छैन, मूल्यवृद्धि हुँदा यहाँ पनि रकम थप्नुपर्ने हुन्छ । चालु आवको बजार मूल्यको अनुमान गरेर आगामी आवको बजेट सुनिश्चित गरेको बताउनुभयो ।

चालु आवका लागि ३० अर्ब रुपियाँ बजेट सुनिश्चित गरिएको थियो तर २६–२७ अर्ब रुपियाँ मात्र खर्च भएको छ । सो रकमले साढे पाँच लाख मेट्रिक टन मल खरिद भइसकेको छ ।

चालु आवका लागि पनि छ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य लिएको छ । आवको अन्तिमसम्म साढे पाँच लाख मेट्रिक टनसम्म मात्र आयात गर्न सकिने अवस्था रहेको निर्देशक पोखरेलले बताउनुभयो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button