कृषि र किसानखबर

डेरी उद्योगबाट राम्रो आम्दानी

कोहलपुरस्थित आफ्नो डेरी उद्योगमा व्यस्त सन्तोष पौडेल। तस्बिर : सिराज खान।

सिराज खान

नेपालगन्ज। बाँकेको कोहलपुर ११ का सन्तोष पौडेलले सात वर्षअघि एक लाखको लगानीमा सुरु गर्नुभएको डेरी उद्योगको लगानी अहिले ५० लाख पुगेको छ।

दुग्ध विकास संस्थान कोहलपुरमा प्राविधिकको रुपमा काम गर्दै गर्दा २०७४ सालमा एक लाख रुपियाँको लगानीमा कोहलपुर १० मा पौडेलले ए वन डेरी सञ्चालन गर्नुभएको हो।

दुध र दुग्धजन्य पदार्थको माग बढ्दै जाँदा आम्दानी पनि बढ्दै गएकोले लगानी तीव्र रुपमा वृद्धि भएर ५० लाख पुगेको पौडेलको भनाइ छ। अहिले उहाँसँग फ्याट निकाल्ने मेसिनदेखि दूध चिस्याउने र तताउने मेसिन समेत छन्।

बजारमा अन्य थुप्रै डेरी उद्योग भए पनि अन्यको तुलनामा गुणस्तरीय उत्पादन बजारमा दिँदै आएकोले उहाँको उद्योगको उत्पादनको माग कोहलपुरमा अत्यधिक रहेकोले माग अनुसार पुर्याउन नसकेको पौडेलले बताउनुभयो।

एकदिनमा छदेखि सात सय लिटरसम्म दूध खपत गर्दै आउनुभएका सन्तोषले आफ्नो ए वन डेरीबाट विशुद्ध घ्यु प्रतिकिलो एक हजार दुई सय, क्रिम प्रतिकिलो आठ सय, मोही प्रति लिटर ६० रुपियाँ, दूध प्रति लिटर सय रुपियाँ र दही प्रति लिटर १४० रुपियाँमा बिक्री गर्दै आउनु भएको छ। उहाँको उद्योगमा बिहानैदेखि दूध मोही लिने स्थानीयको लाम लाग्ने गर्छ।

डेरी एसोसिएसन बाँकेका महासचिव समेत रहनुभएका सन्तोषको यो पेशाले अन्य चार जनालाई रोजगारी समेत दिनुभएको छ। मासिक खर्च कटाएर ८० हजार रुपियाँसम्म बचत हुने गरेको उहाँको भनाइ छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button