कृषि र किसानहेड लाइन

बिउँ छनोटमा किसानको अन्यौलता

बाबुराम कार्की

वराहक्षेत्र । मानो रोपेर मुरी फलाउने किसानहरूलाई यतिबेला धानको बिउँ राख्ने चटारो छ । बसन्ते बाली थन्काएर ब्याड तयारी गरी बिउँ राख्न तराईका किसानहरूलाई धमाधम लागेका छन् । तराईका पानी जम्ने गहिरा खेतहरूमा भने रोपाइँ नै भइसकेको छ। अन्नको भण्डार मानिने तराईमा यतिबेला किसानले विभिन्न जातका धानका बिउँहरूका ब्याड राख्दै आएका छन् ।

खाद्यान्नको प्रमुख बालीका रूपमा लिइने धानको माग दिनानुदिन बढ्दो छ । धानका लागि उपयुक्त भूबनोट मानिने तराई क्षेत्रमा धान खेती हुँदै आएको छ । तर, खेतको संरचना अनुसार धानको बिउँ छनोट गर्न नसक्दा र ब्याडको व्यवस्थापन गर्न नजान्दा किसानहरूले मिहिनेत अनुसारको उत्पादन लिन सकेका छैनन् । अधिकांश किसानहरूलाई कस्तो जग्गामा कुन जातको बिउँ लगाउने भन्ने ज्ञान नहुँदा किसानको परिश्रम मात्र खेर जाने गरेको छ । दुई विघाहामा खेती गर्दै आउनुभएको वराहक्षेत्र ५ का कृषक मोहन थापाले छिमेकीले जुन बिउँ राख्छन् आफूले पनि त्यही बिउँ राख्ने गरेको सुनाउनुभयो । उहाँ प्रतिनिधि कृषक मात्र हुन् । खेतको भूवनोटलाई विचारै नगरी सुनेकै भरमा किसानहरूले बिउँ राख्ने गरेका छन् ।

परम्परागत रूपमा आफूले नै उत्पादन गरेको धानको बिउँ राख्ने गरेका किसानहरूले पछिल्लो समय उन्नत जात र हाइब्रिड जातका बिउँहरू राख्ने गरेका छन् । सिफारिस गरिएका विभिन्न जातका बिउँहरू भएपनि बिउँ छनोट गर्दा किसानहरूमा अन्यौलता रहेको जुटबाली अनुसन्धान केन्द्र इटहरीका प्रमुख बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेतको बनोट अनुसार सुख्खा सहन सक्ने, डुबान सहन सक्ने जस्ता बिउँका जातहरू छनोट नगर्दा भनेजस्तो उत्पादन लिन सकेका छैनन् ।”

बिउँ राख्दा बिउँको छनोट गरेर हावापानी र माटो सुहाउँदो रोपेमात्र राम्रो उत्पादन लिन सकिने कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार उत्पादन राम्रो लिन बिउँ राख्दा नै विभिन्न कुरामा किसानले ख्याल गर्नुपर्छ । उपचार नगरी बिउँ राख्ने, मलखादको प्रयोगमा यान नदिने, उचित ब्याड व्यवस्थापन नगर्ने र बिउ छिप्पाएर रोप्ने जस्ता कुराले उत्पादनमा कमी आउने गरेको छ । किसानले गरेअनुसारको मेहनतको उपलब्धि नहुँदा किसानहरू निराश बन्नुपर्ने अवस्था छ ।”

बिउँ राख्दा ध्यान दिनुपर्ने कुराहरू

बिउँ एक जीवित वनस्पति हो, जसलाई उचित तापक्रम, हावापानी, प्रकाश आदी उपलब्ध गराइएमा एक बिरुवाको रूपमा परिणत हुन्छ । खेती गरेर राम्रो उत्पादन लिनका लागि असल बिउँ हुनुपर्ने वराहक्षेत्र नगरपालिकाका कृषि प्राविधिक निरबहादुर राई बताउँछन् । तराइमा जेठ पहिलो सातादेखि नै धानको बिउँ राख्न सुरु गरिन्छ र बिउ राखेको १५ देखि २२ दिनको बिउँ भएपछि रोप्नु पर्छ ।”

भूबनोट अनुसार धानका जातहरू

मिहिनेत अनुसारको उत्पादन लिन खेतको संरचना अनुसार बिउँ छनोटमा ध्यान दिनुपर्छ । तराईको सिञ्चित क्षेत्रमा चैते २, हर्दिनाथ १ र तरहरा १ जातका बिउँहरू सिफारिस गरिएको छ । यी बिउँहरू छिटो पाक्ने र सुख्खा सहन नसक्ने भएकाले सिञ्चित क्षेत्रमा लगाउन सकिने जुट विकास अनुसन्धान केन्द्र इटहरीका प्रमुख सन्तोष त्रिपाठी बताउनुहुन्छ। त्यस्तै, डुबानमा पर्ने पूर्वी तराईका क्षेत्रहरूमा स्वर्ण सब १, सावाँ मंसुली सब १, गंगासागर १, गंगासागर २, तेह्राङ सब १, लोकनाथ ५०५, गोरखनाथ ५०९ लगायतका बिउहरू लगाउन सकिन्छ । भित्री तराई र नदी क्षेत्रका फाँटहरूमा भने सुख्खा धान २, सुख्खा धान ३ राम धान, हर्दिनाथ ३ लगायतका जातहरूलाई सिफारिस गरिएको छ । पूर्वी तथा मध्य तराईमा ढिलो पाक्ने जातको लल्का बासमती लगाउन सकिन्छ ।

धानको बिउँको वंशाणुगत गुण, बिउँको जातीय गुण नाश नभएको र विकृति नआएको बीउको भौतिक गुण, राम्ररी केलाई सफा गरिएको, फुटेको, टुटेको र टुक्रा भएको बिउँ नमिसिएको, स–साना ढुङ्गा, माटो, पात डाँठ आदी टुक्रा नमिसिएको, झारपात र अन्य बालीको बिउँ नमिसिएको हुनुपर्छ । किसानले धानको बिउँ छनोट गर्दा रोग र किराले नोक्सान नपुर्‍याएको, विषादीद्वारा उपचार गरिएको, बिउँको शारीरिक गुण, उमार प्रतिशत राम्रो भएको, उचित मात्रामा सुकेको, पोटिलो र चम्किलो दाना भएको हुनुपर्छ । बिउँ लगाउँदा ठाउँ अनुसार सिफारिस गरिएको जात लगाउनु पर्ने कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहराका वालीविज्ञान प्राविधिक अधिकृत विनोद यादव बताउनुहुन्छ ।

बिउँ उपचार

धानको बिउँबाट सर्ने ढुसीजन्य रोग नियन्त्रणका लागि बिउँ राख्नु पूर्व बिउँको उपचार गरिन्छ । ढुसी नाषक विषादी प्रति किलो दुई ग्राम सुख्खा बिउँमा मिसाएर उपचार गर्न सकिने प्राविधिक निरबहादुर राई बताउनुहुन्छ । बिउँ छर्नुभन्दा १ हप्ता पहिले बिउँको उपचार गर्नु पर्दछ । नुन पानीको घोलमा शुद्ध बिउँ छनोट गरेर पनि बिउँ राख्ने गरिन्छ । एक लिटर पानीमा १ सय ५० ग्राम नुन लगाएर राम्ररी घोलिएको घोलमा धानको बिउँ राख्दा पानीमा तैरिएका बिउँ, अपरिपक्व, टुक्रिएकाजस्ता बिउँहरू हटाउनुपर्छ र घोलबाट थिग्रिएका बिउँलाई तुरुन्तै निकाल्नुपर्दछ ।

यसरी निकालिएको बिउँलाई ३-४ पटक चिसो पानीले धोएर सफा पानीमा २४ घण्टा ढड्याएर तै¥याउनु पर्छ । ढुसीजन्य रोग बढी लाग्ने क्षेत्रमा हिले ब्याड राख्नुपर्ने र ब्याक्टेरियाबाट बचाउन धुलो ब्याड राखने गरिन्छ । हिले ब्याडमा बेर्ना हुर्काउन बिउँ अङ्कुरण गर्नु पर्दछ। अङ्कुर बिउँबाट राम्रो बेर्ना उम्रिने हुँदा २७ डिग्री सेन्टिग्रेड तापक्रममा २४ घण्टा बिउँलाई भिजाउनुपर्छ । यसरी भिजेको बिउँलाई पानी तर्काएर ४८ घण्टा गुम्स्याउनु पर्छ । यसरी राखिएको बिउँको अङ्कुर आउने गर्छ ।

ब्याड

तराई क्षेत्रमा एक विघाहा खेती गर्नका लागि करिब ३४ केजी धानको बिउँको आवश्यकता पर्छ । बिउँ छरेको २ देखि १० दिन पछि ५०० ग्राम (आधा किलो) युरिया १०० वर्ग मिटरको क्षेत्रफल ढाक्नेगरी छर्नुपर्छ । यसको प्रयोगले बिउँलाई बढ्न र हरियो बनाउन मद्दत पुर्‍याउने प्राविधिकहरू बताउँछन् ।

ब्याडमा बिउँ छर्दा समथर जग्गा र छराएको एकरूपता हुनुपर्ने प्राविधिक अधिकृत विनोद यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तराई क्षेत्रका जमिनहरू बढी गहिराई हुने हुँदा ब्याड बनाउँदा समथर, मिलेको र पानी नजम्ने र कटाउन सक्ने स्थानको छनोट गर्नुपर्ने हुन्छ । प्रति वर्गमिटर २.३ मुठी अङ्कुराएका बिउँहरू एकरुपताका साथ छर्नु पर्दछ । बेर्नाहरू बढ्ने अवस्थामा माटो ठिक्क भिज्ने गरी सिचाई दिनु पर्दछ ।” जब बिउँ उम्रेर ३ से.मी का हुन्छन् तब झारपात आउन नदिन बेर्नाको उचाइ बिचार गरी छिपछिपे हुने गरी पानी दिनु पर्ने उहाँ बताउनुहुन्छ ।

धानको बेर्नाअनुसार उत्पादनमा निकै फरक आउने हुँदा बेर्नाको रेखदेखमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ । गवारो, लिफ होप्पर, पात खाने कीरा, हिस्पा आदि कीराहरूबाट बचाउन कम्तीमा पनि २ पटक कृषि विज्ञहरूले सिफारिस गरे अनुसारका विषादी छर्नु पर्दछ । ब्याडलाई सुख्खा हुन नदिन पानीको स्तर कायम राखी आलीलाई राम्ररी मिलाउनु आवश्यक हुन्छ । ब्याडमा झारपात आउन नदिनका लागि समय समयमा हेरविचार गरी झार आएको भए उखेली दिनु पर्दछ ।गोरखापत्र अनलाइन

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button