मूल खबरसृजनाको चौतारी

नेपाली साहित्यमा गुटफुट

सुकृत नेपाल

काठमाडौँ । नेपाली राजनीतिमा सुनिएको, देखिएको गुटबन्दी सर्जक, स्रष्टा र साधकबिचमा समेत चर्को रूपमा छभन्दा त्यति राम्रो सुनिन्न। तथापि लामो समयदेखि नेपाली साहित्यमा सर्जक, स्रष्टाबिच चर्को गुटबन्दी र पानी बाराबारको अवस्था छ । गुटबन्दीमा विभक्त नेपाली स्रष्टाबिच पुरस्कार तथा सम्मानको समेत लेनदेन हुने गरेको चर्चा साहित्यकार नै बताउँछन् ।

चालिस वर्षअघि काठमाडौँ आउँदा साहित्यमा गुटबन्दीका कुरा आफूले सुनेको स्मरण गर्दै नयनराज पाण्डेले भन्नुभयो, “अहिले पनि नेपाली साहित्यमा त्यो सुनिन्छ तर त्यसले नेपाली साहित्यलाई खास असर गरेको जस्तो लाग्दैन ।” उहाँका अनुसार साहित्यमा गुटबन्दी भनेको आफ्नो रुचि, सोच मिल्ने, राजनीतिमा सिद्धान्त मिल्नेबिचको सहकार्य हो । यसखाले कार्यले साहित्यको विकासमा सहयोग नै गर्छ।

विचारसहित कि विचाररहित साहित्य भन्ने बहस त विश्वमै छ । नेपालमा समेत वैचारिक रूपमा स्रष्टा विभाजित छन् । नेपाली लेखक सङ्घ र प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घ जस्ता संस्थामार्फत साहित्यकार विभाजित छन् । यी दुई विचार समूहमा सङ्गठित साहित्यकारबिच केही दशकअघिसम्म एकले अर्कालाई साहित्यकार नमान्ने अवस्थासमेत थियो । तथापि अहिले त्यो स्तरको विभाजन नभए पनि साहित्यलाई हेर्ने, बुझ्ने दृष्टिकोणमा फरक मत रहेको छ । अपवादलाई लिएर साहित्यिक छलफल, गोष्ठी, सम्मान, पुरस्कार वितरण जस्ता साहित्यिक गतिविधिमा समेत यही आधारमा निम्ता बाँड्ने र बोलाउने गरिएको पाइन्छ ।

लेखक पाण्डेका अनुसार त्यतिबेला प्रगतिशील, प्रजातान्त्रिकको गुटबन्दी छ भन्ने गरिन्थ्यो । पहिला एकअर्कालाई देखी नसहने स्थिति हुन्थ्यो । अहिले यसमा केही सहिष्णुता आएको छ । तथापि साहित्यमा यस्तो हुनु नौलो होइन । यो विश्वव्यापी नै हो । उहाँका अनुसार साहित्यलाई कला, विचार, व्रmान्तिका कथा पनि चाहिन्छ । विविधताका लागि यी सबै चिज जरुरी छ । गुटबन्दीले पठन संस्कृतिमा समेत असर पु¥याएको धारणा उहाँको छ । उहाँले भन्नुभयो, “जब हामीले कसैले लेखेको सही साहित्यलाई आफ्नो गुटको होइन भनेर नकार्छौं भने हाम्रो पठन संस्कृतिमा यसले कतै न कतै असर गर्छ । जुन ढङ्गले हाम्रो पठन संस्कृतिको विस्तार हुनुपर्ने हो त्यो नभएको गुटबन्दीले गर्दा पनि हो ।”

उहाँका अनुसार साहित्यमा पुरस्कार र सम्मान सट्टापट्टा हुने कुरा पूरै सत्य नहोला तर असत्य पनि होइन । यहाँ यति धेरै पुरस्कार छ कि कतिपयको अक्षयकोष छैन, कतिपयले निर्णायक र छनोट समिति नै राख्दैनन् । जसले पुरस्कार स्थापना गरेको हो उसले आफ्नो रुचि अनुसारको व्यक्तिलाई पुरस्कार दिने पनि गरिन्छ । यस्ता गतिविधिले पनि साहित्यमा सानातिना गुटबन्दी चलिरहन्छ ।

साहित्यमा गुटबन्दी अहिले मात्र होइन यो सदैव रहेको कवि विमल निभाको भनाइ छ । उहाँका अनुसार नेपाली साहित्य गुटबन्दीबाट मुक्त हुन सकेको छैन । यो भनेको आफे रुचि मिल्नेसँग नै हुने कुरा हो । यसलाई त्यति अस्वाभाविक भन्न मिल्दैन ।

कवि विप्लव ढकाल गुटबन्दी साहित्यमा मात्र नभएर हरेक क्षेत्रमा भएको बताउनुहुन्छ । उहाँका अनुसार गुटबन्दीले एकअर्कालाई क्षति पु¥याउने गर्छ भने त्यो नकारात्मक नै हुन्छ । पुरस्कार र सम्मान आफ्ना गुटकालाई मात्र दिनु पर्छ भन्ने कुरा पहिला पनि भएको नै हो । यस्ता कुरा हरेक समयमा हुने गरेको छ । गुटबन्दीप्रति आफू उदासीन रहेको ढकाल बताउनुहुन्छ ।

युवराज नयाँघरेका अनुसार संस्थागत रूपमा निर्णायक राखेर पुरस्कृत व्यक्ति छनोट गरिएका घटनाबाहेक धेरैजसो पुरस्कार व्यक्तिगत छनोटमा गरिन्छन् । यस्ता घटनाले गुटगत प्रवृत्तिलाई नै प्रोत्साहित गरिरहेको हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button