विचार

कम्युनिस्ट र कम्युनिस्ट पार्टी

कृष्णहरि भट्ट
आजको आधुनिक मानव समाज निर्माणमा कम्युनिष्टहरूको मुख्य योगदान छ । उनीहरूकै अथक मिहिनेत र आविष्कारले आजको वैज्ञानिक उपलब्धी भएको हो । मानव जातिको जीवनयापन सजिलो र खुसीयाली युक्त बनिरहेको छ । जतिपनि विज्ञानका विरुद्धका धर्म ग्रन्थहरू बनेका छन् ती सबै मानिसहरूले अर्थात् कम्युनिस्टहरूले आविष्कार गरेका विज्ञान, प्रविधि, कला, साहित्य र संस्कृतिका विरुद्ध छन् । धर्म ग्रन्थका आधारमा भइरहेका सबै प्रकारका शोषण उत्पीडन र विभेदको अन्त्य गर्दै तिनै श्रमजीवी जनता अर्थात् कम्युनिस्टको राज्यसत्ता कायम गरेको समाज र धर्म र धर्मकै वरिपरि रहेका राज्यसत्ताका बीचमा ठूलो भिन्नता छ । जीवन र जगतलाई हेर्ने विश्व दृष्टिकोणमै ठूलो भिन्नता छ । विश्व कम्युनिस्ट आन्दोलनमा र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि ठूला–ठूला भिन्नताहरू छन् । नेपालकै कम्युनिस्ट, कम्युनिस्ट आन्दोलन र पार्टीमा पनि ठूला भिन्नता रहेको छ । यी भिन्नताहरू रहेका कारणले गर्दा नै नेपालमा जनताको जनवादी राज्यसत्ता स्थापना हुन नसकेको हो । यसबारेमा केही छलफल गरौँ ।

कम्युनिस्ट

मानव भूगोलमा गहुँ गोरा, काला, सेता, राता, रंगका होचा, अग्ला, मध्यम कदका बलिया, निर्धा खालका जेजस्ता मानिसहरू छन्, उनीहरू सबै प्रकृतिका सन्तान हुन । धनी, गरिव, धर्म, पाप, स्वर्ग, नर्क यी सबै मानिसद्वारा शोषण र शासनका निम्ति निर्मित विभेदपूर्ण संस्कृति र सम्बन्धहरू हुन । यो विभेदले भरिपूर्ण संस्कृति र सम्बन्धलाई अन्त्य गर्नु पर्दछ र मानव जाति भनेको अन्तर्राष्ट्रिय जाति हो, प्रकृतिमाथि मानव जातिको समान हक हुन्छ भन्ने मान्यता राख्नेहरू कम्युनिस्ट हुन्छन् ।

कम्युनिस्ट भनेको त्यस्तो मानिस हो जसले जीवनका लागि निरन्तर संघर्ष गरिरहेको हुन्छ । आफ्नो अस्तित्व रक्षाको लागि संघर्ष गरिरहेको हुन्छ । जसका कारण एकपछि अर्को नयाँ नयाँ आविष्कार गरिरहेको हुन्छ । ती हाम्रा पुर्खा जसले भीषण सङ्घर्षको बलिवेदीमा आफूलाई उभ्याए । त्यस्ता मानिसहरूलाई कम्युनिस्ट भनिएको छ । त्यस्ता मानिसहरूले आर्जन गरेका उपलब्धीहरूलाई धर्म ग्रन्थ र यसले निर्माण गरेका अन्धविश्वास लगायतका सम्बन्धहरूका नाममा मानिस माथि मानिसले गरेका सबै प्रकारका शोषणका विरुद्ध संघर्ष गर्ने र न्याय, समानता, स्वतन्त्रता र भातृत्व स्थापनाका लागि सचेत संगर्ष गर्ने मानिसहरू कम्युनिस्ट हुन ।

आजको सन्दर्भमा भन्ने हो भने द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण आधारमा जीवन संघर्ष गर्ने दृष्टिकोण युक्त मानिस नै कम्युनिस्ट, सचेत वा सभ्य मानिस हो ।
कम्युनिस्टहरू पदार्थलाई प्रधान मान्दछन् । यो मानव शरीर नै एक पदार्थ रहेको पुष्टि गर्दछन् । प्रकृतिलाई पहिलो र अन्तिम सत्य मान्दछन् । यो समाजमा जे हुन्छ कि त प्रकृतिका कारणले हुन्छ कि त मानिस आफ्नै कारणले हुन्छ भन्ने दृष्टिकोण राख्दछन् । अध्यात्मवादीहरू चेतनालाई प्रधान भएको मान्दछन् । मानव शरीर ईश्वरको उपहार मान्दछन् । यो संसारको जन्मदाता र सहारकर्ता उहाँ परमेश्वर हुन । अनन्त छन्, निरञ्जन छन्, निराकार छन्, न उहाँको जन्म हुन्छ न त मृत्यु नै उहाँ त अजर अमर हुनुहुन्छ भन्ने मान्यता राख्दछन् । हामी भनेका त निमित्त मात्र हौं नायक त उहाँ हुनुहुन्छ आदि दृष्टिकोण राख्दछन् । कम्युनिस्टहरू भाग्यमा विश्वास गर्दैनन् । आफ्नो श्रम र सीपमा विश्वास गर्दछन् । अध्यात्मवादीहरू श्रममा विश्वास गर्दैनन् । अन्धविश्वास जन्य कल्पना वा भाग्यवादमा विश्वास गर्दछन् । कम्युनिस्टहरू भौतिकवादी हुन्छन् । गैर कम्युनिस्टहरू कित अध्यात्मवादी हुन्छन् कि यान्त्रिक भौतिकवादी हुन्छन् ।

कम्युनिस्ट पार्टी

आजको विश्व मञ्चमा कम्युनिस्ट नामधारी पार्टीहरू धेरै छन् । सर्वहारा वर्गीय मुक्तिका लागि गठन हुनुपर्ने कम्युनिस्ट पार्टीहरू सर्वहारा वर्गलाई झुक्याउने पुँजीवाद–साम्राज्यवादको दलाल वा उनीहरूको कारिन्दा बन्न पुगेका छन् । कतिपय कम्युनिस्ट पार्टीहरू दक्षिणपन्थी पुँजीवादी सांसदवादी दलदलमा रमाइरहेका छन् । कतिपय कम्युनिस्ट पार्टीहरू उग्र वामपन्थी दुश्साहसवादमा क्रान्तिकारी उन्मादद्वारा दक्षिणपन्थी अबसरवादलाई नै सहयोग पुराइरहेका छन् । वास्तविक सर्वहारा वर्गीय कम्युनिस्ट पार्टीहरू भने अस्तित्व रक्षाको सङ्घर्षबाट गुज्रिरहेका छन् । यस बारेमा पुछारमा चर्चा हुनेछ ।

कम्युनिस्ट पार्टीको मूल सिद्धान्त भनेको मार्क्सवाद–लेनिनवाद–माओ विचारधारा हो । यो द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद वा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको आधार जीवन र जगतलाई हेर्ने बुझ्नु र बदल्ने वैज्ञानिक सिद्धान्त हो । यसको सही प्रयोग भएका देशहरूमा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक प्रगति उच्च स्थानमा रहेको हामीहरू पाउँदछौँ । यसबाट दायाँबायाँ विचलन भएका देशहरूमा त्यहाँका जनताले दुःख माथि झन दुःख, समस्या माथि झन समस्या थपिएर पीडादायी जीवन गुजार्न बाध्य भएका हुन्छन् ।

मानव समाजको इतिहासको रचयिता श्रमजीवी जनता नै हुन । आजको यो आधुनिक वैभवताको निर्माता पनि श्रमजीवी जनता नै हुन । शुरूआती समयमा उनीहरूले बनाएका खेतबारीहरू, पालेका पशुपन्छीहरू, निर्माण गरेका औजार र सामग्रीहरू, नयाँ नयाँ आविष्कारहरू आफ्नो बनाउन टाठाबाठा र बलशालीहरूको कुकृत्यले सत्ताको निर्माण हुन पुग्दछ । यतिले मात्र सत्ताको सुरक्षा नपुगेर न्यायका लागि लागिपरेकाहरूको र काल्पनिक पात्रहरूको कार्य आफ्नो स्वार्थ अनुकुल हुनेगरी तयार गरिएका धर्मग्रन्थ र यसको आधारमा तयार गरिएको विभेद, स्वर्ग नर्कको त्रास अन्धविश्वासमा आधारित डण्ड पुरस्कार अलौकिक शक्तिमाथि मुक्तिको आशा गरिनु पर्ने अवस्थालाई कार्यान्वयन गर्न धार्मिक सत्ता तयार गरेर शोषण र शासनको अकन्टक यात्रा तय गरेका थिए । यो यात्रा सामन्दवादी युगबाट सुरु भएर पुँजीवादी (हानाथाप) युगमा आइपुग्दा पनि पुँजीवादीहरूले पनि आफ्नो रक्षा सामन्तवादसँग सम्झौता गर्नुमा नै देखे । यही अवस्थामा कम्युनिस्ट पार्टीको वैज्ञानिक दृष्टिकोण सहितको सङ्घर्षको गर्भाधान भएको हो ।

धर्म ग्रन्थ र यसले निर्माण गरी विकास भएका अन्धविश्वास लगायतका मानवता, मानव हित विपरीतका मान्यता र सम्बन्धको अन्त्य गर्न कम्युनिस्ट पार्टीको आवश्यकता पर्दछ । मानव समाजको विगत दास युगदेखि बर्तमानसम्मको इतिहास भनेको वर्ग सङ्घर्षको इतिहास हो । शक्तिको नाममा, धर्मग्रन्थको नाम आदिका माध्यमाद्वारा सत्तासीन भएकाहरूबाट सङ्गठित रूपमा हुँदै आइरहेको शोषण उत्पीडन र विभेदको अन्त्य शोषित उत्पीडित वर्ग समुदायको सचेत र सङ्गठित संघर्ष नगरीकन सम्भव छैन । शोषण उत्पीडन र विभेदको जगमा रहेको यो सामन्ती, दलाल तथा नोकरशाही पुँजीवादी वर्तमान राज्यसत्तालाई परास्त गर्न सकिँदैन । यसका लागि बल प्रयोग गर्नु नै एक मात्र विकल्प रहेको छ । त्यो बल (शक्ति) भनेको सर्वहारा वर्गीय बल हो ।

कम्युनिस्ट पार्टीका समस्या

विश्व पुँजीवादको लगानी र निर्देशनमा कम्युनिस्ट पार्टीहरू खोलिदिने कार्यको थालनी दोश्रो विश्वयुद्धको समाप्ति पछि सुरु भएको हो । यो क्रम झन तीव्र बनिरहेको छ । युरोपमा भने कम्युनिज्मका विरुद्ध सोसलिज्मको थालनी गरिएको थियो । कम्युनिस्ट बाहेकाका सबै प्रवृत्तिहरूको दुश्मन प्रवृत्ति भनेको साम्यवाद नै हो । सबका सब आफूमात्र धनी हुने, ठूलो हुने र माथि पुग्ने अरूलाई तल पारेको मनपराउनेहरूले कम्युनिस्ट मन पराउँदैनन् । यसकारणले गर्दा जहाँ जस्तो तरिकाले कम्युनिस्ट आदर्शलाई ध्वस्त गर्न सकिन्छ त्यही गरिएको देख्न सकिन्छ । जस्तो दक्षिणपन्थी संशोधनवादी विसर्जनवाद र उग्रवामपन्थी दुश्साहसवादी विसर्जनवाद । दुवै कोणबाट कम्युनिस्ट आन्दोलन र पार्टी ध्वस्त बनाइका छन् । कम्युनिस्ट सिद्धान्तकै वरिपरि कम्युनिस्ट पार्टीको नामको अगाडि पछाडि सिङ पुच्छर जोडेर नयाँ प्रयोगको नाममा जनताका आकांछा माथि तुसारापात गरेर दुरूप्रयोग गरिरहेको देखिन्छ । जुन प्रयोगले देशलाई भन्दा देशी विदेशी केही व्यक्ति शक्तिलाई लाभ भइरहेको छ । यसरी जनतालाई बेकुफ बनाउने कार्यहरू भई रहेको छ । यस्तै उद्देश्य पुरा गर्न अनेकौं कम्युनिस्ट नामधारी पार्टीहरू हरेक देशहरूमा बर्गेल्ति गठन भएका छन् । त्यसको सिकार हामी पनि भएका छौं ।

नेपालका कम्युनिस्ट पार्टीहरू

नेपालमा आजसम्म अस्तित्वमा देखिएका कम्युनिस्ट पार्टीहरू नै ११० ओटा भन्दा बढी छन् । एउटै उद्देश्यका लागि किन यति धेरै कम्युनिस्ट पार्टीहरू ? यिनीहरू कहाँबाट कसरी परिचालित भएका छन् ? खोजको विषय हो । सामान्यतया: जुन उद्देश्यका लागि पार्टी खोलिएको हुन्छ सरकारमा पुगेपछि त्यो उद्देश्य अनुरूप काम गरे कि गरेन भन्ने दृष्टिकोण राखेर हे¥यो भने कुन पार्टी कताबाट परिचालित भएको रहेछ थाहा भई हाल्छ । हाम्रो आवश्यकता भनेको स्वचालित र स्वनिर्भर कम्युनिस्ट पार्टी चाहिएको हो ।

कम्युनिस्ट पार्टी भनेको श्रमजीवी जनताको स्वचालित पार्टी हुनु पर्छ । स्वचालित पार्टी बाहेकका पार्टीहरू कम्युनिस्ट पाटी हुन सक्दैन । जसरी स्वचालित र स्वनिर्भरहरू मात्र कम्युनिस्ट हुन्छन् । त्यसमा पनि द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण अनुरूप जीवन संस्कृति भएकाहरू कम्युनिस्ट हुन्छन् । हाम्रो सापेक्षमा कम्तीमा देशभक्त, जनवादी चरित्र भएकाहरू पनि कम्युनिस्ट हुन ।

(लेखक नेपाल कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख हुन्)नेपाल समाचारपत्र दैनिकबाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button