काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने तयारी गरेको छ । महामन्त्री ढकालले समीक्षा प्रतिवेदनका विषय र अन्य कुरा पनि सार्वजनिक गरेर पार्टीको गोपनीयता भङ्ग गरेको भन्दै अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो।
पार्टी कार्यालय चःमतीमा बुधबार बसेको बैठकमा महामन्त्री ढकालले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण हुनुपर्ने तथा आफूले पेस गरेको समीक्षा प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्नुभएको थियो ।
पार्टीका सभापति रवि लामिछानेसहित अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी बैठकले महामन्त्री ढकालको प्रस्ताव अस्वीकार गरेपछि ढकालले बैठक बहिष्कार गर्नुभयो । उहाँ बैठक छाडेर हिँडेको उपसभापति डोरप्रसाद (डिपी) अर्यालले जानकारी दिनुभयो ।
तर, केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले पेस गरेको प्रतिवेदनमाथि छलफल भएको अर्यालले जानकारी दिनुभयो । सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूलाई बोल्न सात मिनेटका दरले समय उपलब्ध गराइएको थियो ।
ढकालले प्रस्तुत गरेको प्रतिवेदन आफूलाई वाचन गर्न नदिएको भन्दै विरोधस्वरूप उहाँले मुखमा कालोपट्टीसहितको माक्स लगाएर केही समय बैठकमा सहभागी रहनुभयो । महामन्त्री ढकालले तयार पारेको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको रास्वपाले जनाएको छ । बैठकमा सहभागी एक नेताका अनुसार सभापति रवि लामिछानेले महामन्त्रीको प्रस्ताव अस्वीकार गरी प्रतिवेदन वाचन गर्नसमेत वञ्चित गराएकाले ढकालले केन्द्रीय समितिको बैठक बहिष्कार गरेको बताउनुभयो ।
महामन्त्रीको प्रतिवेदन केन्द्रीय समितिको बैठकमा वाचन भए पनि त्यसलाई हुबहु वा परिमार्जनसहित पास गर्ने, नगर्ने, अपनत्व लिने नलिने वा कार्यान्वयन गर्ने नगर्नेबारे निर्णय भइसकेको छैन । महामन्त्री ढकालले पार्टी निर्माणका लागि भनी ल्याएको सय दिनको पूरक प्रस्तावसमेत केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्न नदिएको आरोप लगाउनुभएको छ ।
महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेको कार्यशैली र व्यवहारप्रति गम्भीर प्रश्न उठाउनुभएको छ । ढकालले भन्नुभयो, “गोरखा मिडिया प्रालिको निर्देशक र रास्वपाको महामन्त्री पदको मानक उस्तै हो । जतिबेला रवि लामिछाने गोरखा मिडियाको निर्देशक हुनुहुन्थ्यो, सञ्चालक जिबी राई दोषी । रास्वपाको सभापति हुनुभयो, सबै दोष महामन्त्रीलाई लगाउनुभयो । पत्रकार हुँदा नेता दोषी, नेता हुँदा पत्रकार दोषी, प्रतिपक्षमा हुँदा सत्ता दोषी, सत्तामा हुँदा प्रतिपक्ष दोषी, यो शैली अत्यन्तै गलत छ ।”
प्रतिनिधि सभा सदस्यतर्फको उपनिर्वाचनमा इलाममा रास्वपाका उम्मेदवारको जमानत जफत हुने गरी हार बेहोरेपछि सङ्गठन तथा पार्टीको जनाधार बुझ्न पार्टीले महामन्त्री ढकाललाई समीक्षा यात्रामा खटाएको थियो ।
गोरखापत्र अनलाइन