वराहक्षेत्र । रामधुनी नगरपालिका–३, पिप्रहाका वीरेन्द्र चौधरीले तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । ५२ वर्षीय चौधरी धान खेती नै गर्न छाडेर मौसमी र बेमौसमी तरकारी खेतीमा लाग्नुभएको हो ।
११ वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएर चौधरीले तरकारी खेती गर्दै आउनुभएको छ । बर्खामा पनि उहाँले बेमौसम जातका तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिँदै आउनुभएको छ । उहाँको बारीमा साग, बोडी, काँक्रालगायतका तरकारी लहलह भएका छन् ।
पाँच कट्ठा क्षेत्रफलमा मौसमी र बेमौसमी जातका तरकारी लगाएरै घरखर्च चलाउनेदेखि छोराछोरीलाई उच्च शिक्षा पढाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “विदेशमा हुँदा १० हजार कमाउन ३० दिन कुर्नु पथ्र्याे तर अहिले तरकारी खेतीबाटै दैनिक दुईदेखि चार हजार रुपियाँ कमाइ हुन्छ ।”
उहाँले २०७० सालमा पाँच धुरमा रायो साग रोपेर १५ हजार रुपियाँ आम्दानी गरेपछि व्यावसायिक रूपमै तरकारी खेती गर्दै आउनुभएको हो । तत्कालीन समयमा वल्र्ड भिजन नामक संस्थाको सुनसरी मोरङ क्षेत्र विकास कार्यक्रम अन्तर्गत युथ क्रियसन सुनसरीको संयोजनमा सञ्चालित परियोजनाले तरकारी खेतीसम्बन्धी तीनदिने तालिम दिएपछि उहाँ तरकारी खेतीमै रमाउँदै आउनुभएको छ ।
मासिक ३० हजार रुपियाँ कमाउन युवाले घर छोडेर कतै जानु नपर्ने चौधरी सुझाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नै बारीमा पसिना बगाए पुग्छ ।” चौधरीले तरकारीबाट गरेको प्रगति देखेर छिमेकीसमेत दङ्ङ छन् । वीरेन्द्रले गरेको देखेरै आफूलाई खान पुग्ने जति उत्पादन गर्न थालेको स्थानीय प्रदीप चौधरी बताउनुहुन्छ ।
व्यावसायिक तरकारी खेती गर्न थालेपछि वीरेन्द्रले मल्चिङ प्रविधिबाट तरकारी खेती गर्दै आउनुभएको छ । सुरुमा मल्चिङ प्रविधिबाट खेती गर्दा लगानी डुब्ने हो कि भन्ने पिर लागेको सम्झँदै बोटमा तरकारी फल्न थालेपछि काम गर्ने जाँगर आएको बताउनुभयो ।
मल्चिङ प्लास्टिक प्रविधि अधिकतम किसानको पहुँचमा छैन । यो प्रविधिबाट खेती गर्दा जल कम लाग्ने, गोडमेल गर्न नपर्ने, बिरुवाले मात्रै मल लिन पाउने भएकाले फाइदा हुने आमकृषकलाई जानकारी हुन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । व्यावसायिक तरकारी खेतीमा समय दिएर काम गरे तरकारीसँगै पैसा फल्ने वीरेन्द्र बताउनुहुन्छ ।गोरखापत्र अनलाइन