खबरहेड लाइन

तीन वटा शव प्राप्त बस अझै भेटिएनन्

वसन्त पराजुली/बोमलाल गिरी

नारायणगढ/नवलपुर । नारायणी नदी क्षेत्रमा तीन वटा शव प्राप्त भएका छन् । तीमध्ये एउटा शव शुक्रबार पहिरोले बगाएको एउटा बसका यात्रु रहेको पहिचान भएको छ । दुई वटा शवको पहिचान हुन सकेको छैन ।

घटनास्थल सिमलतालभन्दा करिब ५० किलोमिटर टाढा चितवन मेघौलीको गोलाघाटमा एक र करिब ३५ किलोमिटरको दुरीमा रहेको नवलपरासीको गैँडाकोटमा दुई गरी तीन वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । गोलाघाटमा भेटिएको शव भारत बिहार सितामडी निवासी २८ वर्षीय ऋषि पालको हो । मृतकका दाइले सो शव बुझेका छन् । पाल काठमाडौँबाट गौर जान लागेका बेला सो दुर्घटनामा परेको हो ।

प्रहरीले हिजो सार्वजनिक गरेको बसको चलानीमा नाम भने छैन । यस्तै गैँडाकोटस्थित नारायणी नदी किनारमा फेला परेको दुइवटा शवमध्ये एक जना सर्लाही वरहथवाका १९ वर्षीय रमित किशोर माझीको पहिचान भएको छ । माझीको शव निजका बुवाले सनाखत गर्नुभएको छ । उहाँ गणपति डिलक्सको यात्रु हुनुहुन्थ्यो । गैँडाकोट नगरपालिका–७, गैरीस्थित नारायणी नदीको बिच भागको टापुमा नदीले बगाएर ल्याएको नामथर, वतन नखुलेका दुई वटा शवमध्ये एउटा शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

अन्दाजी २५/३० को पुरुषको शव फेला परेको भनी स्थानीय बोटेहरूले प्रहरीलाई खबर गरेको र खबर पाउनासाथ प्रहरी घटनास्थलमा खटिएका थिए । घटनास्थलमा खटिएको प्रहरी टोली शव भएको स्थानमा जाने क्रममा सोही टापुमा घटनास्थलबाट १० फिटनजिकै अन्दाजी १८/२० वर्षको जस्तो देखिने पुरुषको शवसमेत घटनास्थल नजिकै पुरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । ती शव सिमलतालस्थित नारायणगढ–मुग्लिङ सडकमा दुर्घटनामा परेको बसको यात्रु भएको प्रहरीले दाबी गरेको छ ।

नारायणगढ–मुग्लिङ सडकको सिमलतालबाट शुक्रबार पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुवै बस अहिलेसम्म भेटिएको छैन । शुक्रबार र शनिबार दिनभर खोजी गरिएको थियो ।

प्रहरी नायब उपरीक्षक रिजालले अहिलेसम्म चितवनको मेघौली गोलाघाट र नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा तीन जना यात्रुको शव भेट्नुबाहेक अन्य ठोस कार्य हुन नसकेको बताउनुभयो । “सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ तर पनि दुर्घटनामा परेका दुवै बस भेटिएका छैनन्,” उहाँले भन्नुभयो ।

बसको खोजीका लागि सुरक्षाकर्मीले पानीभित्र समेत क्यामरा लैजान सकिने ड्रोन, चुम्बकलगायतका प्रविधिको प्रयोग गरेका छन् । डुङ्गामा गोताखोर राखेर खोजी कार्य जारी राख्दा पनि बस नभेटिएको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “अझै खोजी कार्य जारी छ । नदीको बहाव ठुलो र धमिलो पानी भएका कारण पनि खोजतलासमा समस्या भइरहेको छ ।”

भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित नारायणगढ–मुग्लिङ सडकमा आएको पहिरोले बगाएर काठमाडौँबाट गौरका लागि हिँडेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस हराइरहेका छन् । दुवै बसमा यात्रा गरेका ६५ जना यात्रुमध्ये भारतीय नागरिक ऋषि पालसहित तीन जनाको शव भेटिएको छ भने तीन जना पौडिएर बाँच्न सफल भएका छन् । अन्य ५९ यात्रुको अवस्था अझै अज्ञात छ । पश्चिम चितवनको मेघौली गोलाघाटमा यात्रु ऋषि पालको शव भेटिएपछि भरतपुरतर्फ ल्याउने क्रममा नारायणी नदीबाट निकाल्दै सुरक्षाकर्मी ।

गोरखापत्र अनलाइन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button