खेलकुदहेड लाइन

अग्रजको छवि कायम राख्ने चुनौती

यलु जोशी

नेपाल र आयोजक माल्दिभ्ससहित श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सिङ्गल राउन्ड रोविनका आधारमा पहिलो र चौथो हुने तथा दोस्रो र तेस्रो हुनेबिच सेमिफाइनल खेलाइने छ ।

काठमाडौँ । नेपालको राष्ट्रिय महिला भलिबलले पछिल्ला केही वर्ष आफ्नो छवि राम्रो बनाउँदै आएको छ । सन् २०१९ र २०२१ मा एसियन सेन्ट्रल जोन (काभा) भलिबलमा लगातार दुई स्वर्ण, पछिल्लो दक्षिण एसियाली खेलकुदमा रजत तथा घरेलु भूमिमा भएको काभा महिला च्यालेन्ज कपमा पनि कांस्य पदक केही उदाहरण हुन् । नेपालको राष्ट्रिय खेल भलिबलमा पुरुषको तुलनामा महिलाको प्रदर्शन अन्तर्राष्ट्रियस्तरमा राम्रो छ ।

अब सिनियर टिमको छविलाई कायम राख्ने सोचाइ अनुरूप नेपालको यु–२० महिला भलिबल टिमले माल्दिभ्समा हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेल्दै छ । साउन ३ देखि सुरु हुने प्रतियोगितामा सहभागी हुन नेपाली युवा महिला टिम मङ्गलबार माल्दिभ्स प्रस्थान गर्दै छ । नेपालको उमेर समूहको महिला भलिबल टिमको यो पहिलो प्रतियोगिता पनि हो । त्यसैले खेलाडीसँगै प्रशिक्षक र समग्र नेपाली भलिबल नै उत्साहित बनेको छ ।

काभा महिला च्यालेन्ज कपका लागि यही महिना काठमाडौँमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यु–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनबाट खेलाडी छनोट गरी टिम तयार पारिएको हो । प्रमुख प्रशिक्षक कुमार राईले पहिलो पटकको सहभागिताले सबै उत्साहित बनेका र स्तरीय खेलाडी भएकाले नेपाल उपाधिको दाबेदारमध्ये एकमा पर्छ भन्नुभयो । उहाँले ओपन स्पाइकर सलिना बुढामगर, स्नेहा थकुन्नन तथा अलराउन्डर निशा महर र आरती चौधरी टिमको बलियो खम्बा भएको बताउनुभयो । “सेटर र मिडल ब्लकमा केही कमजोरी तथा अनुभवको कमीको चुनौती हटाउन सक्यो भने नेपाल च्याम्पियन हुन्छ,” उहाँको भनाइ छ । प्रशिक्षक राईले भलिबलको विकास गर्ने उमेर समूहबाटै हो भन्नुभयो । “नेपाल भलिबल सङ्घले राम्रो सुरुवात गरेको छ । यु–१५, यु–१८, यु–२० जस्ता प्रतियोगिता भइरह्यो भने सिनियर टिम बलियो हुन्छ,” उहाँको भनाइ छ ।

नेपाली टिमकी ओपन स्पाइकर तथा कप्तान जेनिशा विश्वकर्माले कप्तानको जिम्मेवारी पाउनुभएको छ । उहाँले यु–२० को पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले आफूहरू उत्साहित भएको र प्रशिक्षणका लागि कम समय भए पनि खेलाडीले धेरै मेहनत गरेको जानकारी दिनुभयो । प्रतियोगिताको तयारीस्वरूप सिनियर टिमसँग भएको मैत्री खेलले पनि माल्दिभ्समा धेरै फाइदा पु¥याउने विश्वास जेनिशाको छ । “सिनियर टिमसँग खेल्दा हामीले आफ्नो टिममा रहेका कमीकमजोरी बुझ्ने मौका पायौँ । ब्लकमा अलि ध्यान दिनु पर्छ,” कप्तान जेनिशाले भन्नुभयो । सहप्रशिक्षक अर्जुन घिमिरेले पनि सिनियर खेलाडीसँग खेल्दाको अनुभव काम लाग्ने बताउनुभयो ।

अभ्यास खेलमा सिनियर टिमसँग यु–२० टिम पराजित भएको थियो । सिनियर टिमले दुई पटक काभा महिला भलिबल जितिसकेको छ । त्यसैले पनि यु–२० महिला भलिबल टिमसमक्ष सोही विरासत कायम गर्ने चुनौती पनि छ ।

प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सिङ्गल राउन्ड रोविनका आधारमा पहिलो र चौथो हुने तथा दोस्रो र तेस्रो हुनेबिच सेमिफाइनल खेलाइने छ । नेपालले पहिलो खेल साउन ३ गते श्रीलङ्कासँग खेल्ने छ । त्यसपछि नेपालले साउन ४ गते किर्गिस्तान र साउन ५ गते माल्दिभ्सको सामना गर्ने छ ।

प्रशिक्षक राईले श्रीलङ्कासँगको पहिलो खेल महत्वपूर्ण हुने बताउनुभयो । “श्रीलङ्का राम्रो टिम हो । पहिलो खेलमा चुनौती हुने छ । त्यसपछिका प्रतिस्पर्धी किर्गिस्तान र माल्दिभ्सभन्दा हाम्रो टिम तुलनात्मक रूपमा राम्रो छ,” प्रशिक्षक राईको भनाइ छ ।

नेपाल भलिबल सङ्घका उपाध्यक्ष भरत शाहले नेपालले अब उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्न पाउनु गौरवको कुरा भएको धारणा व्यक्त गर्दै नयाँ प्रतिभावान् खेलाडीले यसबाट राम्रो अवसर पाउने विश्वास व्यक्त गर्नुभयो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button