
चाँदनी हमाल
काठमाडौँ । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा सबै यात्रुको अवस्था पत्ता नलाग्दा हराएका व्यक्तिका आफन्त निराश बन्न थालेका छन् । यस अवस्थामा भारतबाट आएको प्राविधिक तथा नेपाली गोताखोरसहितको संयुक्त टोलीले आइतबारदेखि नयाँ रणनीतिसाथ खोजी थाल्ने भएको छ । भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेलगत्तै राणनीति बनाएको गृहमन्त्रालयको विपत् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालको भूगोल र नदीनालाको अवस्थिति फरक भएकै कारण त्रिशूलीमा डुबेका बस यात्रु नभेटिएको इतिहास रहेको छ। दुर्घटना भएको बसमा भारतीय नागरिकसमेत सवार रहेको अभिलेख पाइएको हुनाले भारत सरकारले चासोसाथ खोजी गर्न टोली पठाएको हो । अहिलेसम्म सात जना भारतीय नागरिक परेको निश्चित भएको छ । नेपाली गोताखोर अब्बल छन् तर नेपालसँग नभएको उपकरणसहित टोली आएकाले आशा जागेको उहाँले प्रस्ट पार्नुभयो ।
भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ । टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको विपत् व्यवस्थापन महाशाखाका प्रमुख भुसालले जानकारी दिनुभयो । भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ ।
भुसालका अनुसार बस नभेटिनुमा त्रिशूली नदीको भौगोलिक जटिलता नै हो । त्यसमाथि मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण पहिलो दिन नै सकस परेको थियो । जटिल भूगोलसहित त्रिशूली नदी कतै अत्यन्त खोँचयुक्त गहिरो छ भने कतै फराकिलो बालुवा र ढुङ्गाले भरिएको छ ।
उद्धार र खोजीमा सघाउनका लागि उच्चस्तरीय प्रविधिसहितको टोली भारतबाट आएकाले अबको खोजी प्रभावकारी हुने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिनुभयो । नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम शिक्षालयका प्रमुख माधव पौडेलले गर्नुहुने छ । उहाँसहित अन्य २५ जना नेपाली गोताखोरसहितको टोली रहने सशस्त्र प्रहरी बलमा प्रवक्ता कुमार न्यौपानले बताउनुभयो । गत असार २८ गते काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस सिमलतालको भेलपहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव अहिलेसम्म भारतसहित नेपालको नदीका विभिन्न स्थानमा फेला पारिए पनि बस र अन्य यात्रुको अवस्था पत्ता लागेको छैन ।आजको गोरखापत्र दैनिकमा खबर छ ।