मूल खबर

बाइस पत्रकारको ‘महिला आन्दोलनको सहखोजी’

काठमाडौँ। बाइस महिला पत्रकारले महिलाका विविध पक्ष समेटेर तयार पारेको कृति ‘महिला आन्दोलनको सहखोजी’ मङ्गलबार सार्वजनिक गरिएको छ ।

दी स्टोरी किचेनद्वारा राजधानीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो । महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सो पुस्तकमा देशभरका भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक, विविध जाति, परम्परा, स्थितिमा रहेका महिलाबारे लेखेर नेपाली महिलाको अवस्थालाई छर्लङ्ङ पारेको बताउनुभयो ।

उहाँले आफू तीन दशकभन्दा बढी समयदेखि महिला आन्दोलनमै संलग्न रहेकामा आयोगको जिम्मेवारी समालेदेखि झनै लैङ्गिक हिंसाविरुद्ध नजिकबाट बुझ्ने, समाधानका बाटो खोज्ने अवसर मिलेको बताउनुभयो । पूर्वमन्त्री हिसिला यमीले महिलाले जन्म दिएपछि विविध कारणले एकल अवस्थामै पनि हुर्काउने, पढाउने गरेको सन्तानलाई बिनारोकटोक आफ्नो नाममा नागरिकता दिलाउन सकेको दिन महिला आन्दोलन सार्थक हुने बताउनुभयो ।

डा. मीना पौडेलले धेरै पहिले रेडियो सगरमाथा एफएमबाट ‘सहअस्तित्व’ कार्यक्रम सञ्चालन गर्नकै लागि गर्नु परेको सङ्घर्षका दिनको स्मरण गर्दै नेपाली महिलाको आर्थिक, सामाजिक, राजनीतिक अवस्थामा परिवर्तनका लागि महिला आन्दोलनले पु¥याएको योगदानले बिस्तारै नतिजा देखिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही महिलावादीले अहिलेसम्म पनि सबै पुरुषलाई पितृसत्ता देख्ने, सबै धार्मिक संस्कारलाई कुरीति नै देख्ने परम्परा पनि छ । अर्कोतर्फ हिजोको परम्परालाई नै ठिक भन्दै जस्तो सुकै भए पनि श्रीमान्, घरका सबैलाई मानेर मात्र नारीले बाँच्नपुर्ने सोच यथावत् नै रहेका बेला महिला आन्दोलनको विशेष खोजबिनसहितको यस पुस्तकले ज्ञानको आँखा खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा अमृता अनमोल, उन्नति चौधरी, प्रकृति दाहाल, सीता विक, कैलाश राई, गगनशिला खड्का, चाँदनी आचार्य, दिलमाया शाही, निरासी थामी, मनिका विक, माधुरी महतोलगायतलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । दी स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय, लैङ्गिक अध्ययन विभागको सहकार्यमा सो पुस्तक प्रकाशन गरिएको हो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button