कृषि र किसान

देशभर छयानब्बे प्रतिशत रोपाइँ

काठमाडौँ। देशभर साउन २० गतेसम्म ९६.३ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष १४ लाख एक हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ, त्यसमध्ये १३ लाख ४९ हजार ६०१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । गत वर्ष साउन १९ गतेसम्म ८१.८ प्रतिशत रोपाइँ मात्र भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सात वटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सबभन्दा कम कोशी प्रदेशमा भएको छ । त्यहाँ ९५ प्रतिशत मात्र रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेशमा एक लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमध्ये एक लाख ७४ हजार ५०१ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । गत वर्ष साउन १९ गतेसम्म सुदूरपश्चिममा ९९.२ प्रतिशत रोपाइँ भएको थियो ।

कृषि मन्त्रालयका तथ्याङ्क अनुसार कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ६२ हजार ६०४ हेक्टर अर्थात् ९५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यतिबेला त्यहाँ ९०.५ प्रतिशत मात्र रोपाइँ भएको थियो । विगतका वर्षमा सबैभन्दा ढिलो रोपाइँ हुने मधेश प्रदेशमा यस पटक अन्य प्रदेशकै हाराहारीमा रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले बताउनुभयो ।

मधेश प्रदेशमा यस पटक तीन लाख ८६ हजार १५० हेक्टरमा धान रोपाइँ हुने भनिएको छ । त्यसमध्ये तीन लाख ६८ हजार ३८३ हेक्टर अर्थात् ९५.४ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । जबकि गत वर्ष यतिबेला त्यहाँ ६०.४ प्रतिशत मात्र रोपाइँ भएको थियो । त्यस्तै बागमती प्रदेशमा एक लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफल रोपाइँ हुने भनिएकोमध्ये ९४.९ प्रतिशत अर्थात् एक लाख आठ हजार ७७२ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने भनिएको छ । त्यसमध्ये ९२ हजार २७० हेक्टर अर्थात् ९६.१ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यतिबेला ८६.६ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा तीन लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमा त्यहाँ रोपाइँ हुन्छ । त्यसमध्ये त्यहाँ तीन लाख एक हजार ४९८ हेक्टरमा अर्थात् ९६.७ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । त्यहाँ गत वर्ष यतिबेला ८६.३ प्रतिशत मात्र रोपाइँ भएको थियो । कर्णाली प्रदेशको ४१ हजार ९०४ हेक्टर जमिनमध्ये ९९.२ प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष यतिबेला त्यहाँ ९६.३ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

गोरखापत्र अनलाइन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button