मूल खबरहेड लाइन

हिमाल चिन्नै मुस्किल

कविराज घिमिरे

हिले, मङ्सिर २ गते । धनकुटा नगरपालिका वडा नम्बर १० का युवा डगेन्द्र पौडेल खुला मौसममा हिमाल हेर्न बर्सेनि हिले आसपासका डाँडा पुग्नुहुन्छ । हिले र आसपासका डाँडाबाट मौसम खुलेको बेला आँखैअगाडि सुन्दर हिमाल देखिन्छ । पौडेल तिनै सुन्दर हिमाल हेरेर मोहित हुनुहुन्छ, मक्ख पर्नुहुन्छ तर लहरै सुन्दर हिमाल देखिए पनि ती हिमाल कुन कुन हुन् भन्ने जानकारी आफूलाई नभएको पौडेल बताउनुहुन्छ ।

“हिमाल त सुन्दर देखिन्छ, बर्सेनि हेर्छौं तर हेरेको हिमाल कुन हो भन्ने कुरो अहिलेसम्म पत्ता लगाउन सकिएन । न कसैलाई सोध्दा थाहा हुन्छ न कतै जानकारी दिने सामग्री नै छ,” पौडेल भन्नुहुन्छ ।

संखुवासभाका सुमन श्रेष्ठ धनकुटाको हिले बसेको करिब चार वर्ष भयो । बिहानीको हिँडाइमा खुला मौसममा हिमाल लहरै देख्नुहुन्छ तर देखिएका हिमाल कुन कुन हुन् भन्ने जानकारी उहाँलाई पनि छैन । मकालु हिमाल चाहिँ संखुवासभामा रहँदैदेखि चिनेको भए पनि अन्य हिमालको नाम थाहा नभएको उहाँ बताउनुहुन्छ । “मकालु हिमाल चिनिन्छ, त्योबाहेक कञ्चनजङ्घा चाहिँ पल्लो छेउको हो कि जस्तो लाग्छ, तीबाहेक अन्य एक दर्जनभन्दा बढी देखिएका चुचुरा कुन कुन हुन् थाहा छैन,” श्रेष्ठ भन्नुहुन्छ । देखिएका हिमाल चिन्ने व्यवस्था भए हिमालको हेराइ सार्थक हुने उहाँको भनाइ छ ।

धनकुटा नगरपालिका वडा नम्बर १ मा रहेको हिले र हिले आसपास दुई हजार मिटरभन्दा बढी उचाइबाट पूर्वका धेरै हिमालको मनोरम दृश्य देखिन्छ तर देखिएकामध्ये कञ्चनजङ्घा र मकालुबाहेकका अन्य हिमाल कुन कुन हुन् भन्ने पहिचान हुन सकेको छैन । जसका कारण हिमाल हेर्न आउने पर्यटक हिमाल हेरेर मनोरञ्जन त लिन्छन् तर जानकारी भने लिन पाउँदैनन् ।

करिब तीन दशकअघिसम्म हिले बजार हिमाल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तव्य थियो । मकालु तथा कञ्चनजङ्घा बेस क्याम्प जाने मुख्य नाका थियो तर सडक अन्यत्र विस्तार भएसँगै बेस क्याम्प जाने रुट मात्रै परिवर्तन भएन, बाह्य पर्यटकसमेत हिमाल हेर्न हिले आउन छाडे । अहिले आन्तरिक तथा अलि अलि भारतीय पर्यटक हिमाल अवलोकनका लागि हिले पुग्ने गरेको होटल व्यवसायी लालचन्द्र गोड्वा बताउनुहुन्छ ।

आठ हजार मिटरभन्दा बढी उचाइका विश्वकै अग्लो सगरमाथा, विश्वकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमालसहित चोयु, मकालु, ल्होत्से पूर्वमा पर्छन् । यी सम्पूर्ण हिमाल हिलेबाट देखिने विभिन्न लेखमा उल्लेख गरेको पाइन्छ । हिलेबाट सात हजार १४५ मिटरको गौरीशङ्कर हिमालदेखि पूर्वी सिमानामा रहेको आठ हजार ५८६ मिटर उचाइको विश्वकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमालबिचका अधिकांश चुली देखिने जनाइएको छ । यसबिचमा सात हजार मिटरभन्दा बढी उचाइका दुई दर्जनभन्दा बढी चुचुरा रहेको भूगोलविद् स्व. डा. हर्क गुरुङले लेख्नुभएको विषय विविध नामक पुस्तकको लेख नेपालका हिमाल शीर्षकमा उल्लेख गर्नुभएको छ ।

यो समस्या धनकुटाको हिलेमा मात्र नभएर पूर्वका अधिकांश हिमाल देखिने स्थानको समस्या रहेको हिमालको क्षेत्रमा लामो समय काम गर्नुभएका नेपाल पर्वतारोहण सङ्घका मुख्य सल्लाहकार आङ छिरिङ शेर्पा बताउनुहुन्छ । “आफ्नो स्थानबाट देखिने हिमाल कुन हो भन्नेतर्फ कसैले चासो दिएन । स्थानीय, स्थानीय पर्यटन व्यवसायी, स्थानीय सरकार तथा केन्द्र सरकारले यसबारे चासो नदिँदा हिमाल चिन्न समस्या भएको हो,” शेर्पा भन्नुहुन्छ । उचाइ, फैलावट, चहलपहल सबै हिसाबले पूर्वका हिमाल राम्रो अवस्थामा रहेको उहाँको दाबी छ । आफ्नो क्षेत्रबाट देखिने चुचुरा पहिचानका लागि स्थानीय, स्थानीय पर्यटन व्यवसायी, स्थानीय सरकार तथा केन्द्र सरकारले चासो दिनुपर्ने उहाँको जोड छ ।

धनकुटाको हिलेसहित जेफाले, भेडेटार, पटेकडाँडा, ध्वजेडाँडा सांस्कृतिक पार्क आदि मुख्य हिमाल अवलोकन गर्ने क्षेत्र हुन् । त्यस्तै तेह्रथुमको तीनजुरे मिल्के क्षेत्र, भोजपुरको मुन्दुम ट्रेल, पाँचथरको पौवा भन्ज्याङ, लाब्रेकुटी, सिरौटी, रानीटार, सुकेपोखरी तथा इलामको सन्दकपुर, पाटेनागी, श्रीअन्तु, मेघ्मा, पशुपतिनगर आदि हिमाल अवलोकन गर्ने मुख्य क्षेत्र हुन् । संखुवासभा र ताप्लेजुङका अधिकांश डाँडाबाट सुन्दर हिमाल देख्न सकिन्छ । देखिएका केहीबाहेक अधिकांश हिमाल चिन्न समस्या रहेको स्थानीय बताउँछन् ।

हिमालनजिक पुग्न नसक्ने तर नियाल्न चाहनेहरूका लागि मध्यपहाड राम्रो स्थान भएकाले देखिने हिमाल पहिचान हुनुपर्ने धनकुटा हिलेका पर्यटन व्यवसायी श्रीराम रायमाझी बताउनुहुन्छ । हिमाल हेर्ने स्थान तोकेर फोटा वा सङ्केतमार्फत हिमाल चिन्न सक्ने व्यवस्था गर्न सके हिमालको महत्व बढ्नुका साथै हिमाल हेर्ने पर्यटक पनि बढ्ने उहाँको अनुमान हुन्छ । “हिमालप्रति चासो राख्ने जानकारी लिन खोज्ने समूह धेरै छ, तराई तथा भारतको बिहारका बासिन्दाका लागि मध्यपहाड हिमाल अवलोकन गर्ने सबैभन्दा नजिकको एक राम्रो गन्तव्य हो। यसको प्रवर्धन गर्न सके तथा हिमालका बारेमा आएका पर्यटकलाई जानकारी दिन सके मध्य पहाडमा पर्यटकको चाप बढ्ने छ,” रायमाझी भन्नुहुन्छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button