खबर

घरजग्गा कारोबारबाट पौने तीन अर्ब राजस्व

काठमाडौँ, मङ्सिर ४ गते । चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा घरजग्गा कारोबारबाट पौने तीन अर्ब रुपियाँबराबरको राजस्व सङ्कलन भएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको कात्तिकमा मुलुकभर ३३ हजार पाँच सय सङ्ख्यामा घरजग्गा कारोबार हुँदा दुई अर्ब ७० करोड राजस्व सङ्कलन भएको हो ।

कात्तिकमा रजिस्ट्रेसन शुल्क एक अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१, पुँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८२० रुपियाँ सङ्कलन भएको छ ।

असोजमा घरजग्गा कारोबारबाट तीन अर्ब रुपियाँ राजस्व सङ्कलन भएको थियो । असोजको तुलनामा कात्तिकमा घरजग्गा कारोबारमा सामान्य सुधार आए पनि राजस्व सङ्कलनमा भने सामान्य कमी आएको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार गत असोजमा मुलकभर ३० हजार ५२७ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । भदौमा ३२ हजार सात सय र साउनमा ४३ हजार आठ सय सङ्ख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्याङ्क छ ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार रुपियाँबराबर राजस्व सङ्कलन गरेको छ ।

मालपोत कार्यालय गोटिखेल ललितपुरले चार लाख ६७ हजार, भक्तपुर कार्यालयले १७ करोड ६९ लाख २३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै डिल्लीबजार मालपोत कार्यालयले १५ करोड ७७ लाख २० हजार रुपियाँ, मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार, कलङ्की मालपोत कार्यालयले १७ करोड आठ लाख ४४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार, टोखा कार्यालयले तीन करोड ५७ लाख २७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button