मूल खबरहेड लाइन

कालीमाथिका पुलको म्याद थपेको थप्यै

कालीगण्डकी कोरिडोरमा निर्माणाधीन पुट्टार पुल ।

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर ६ गते । चीन र भारतलाई सिधा जोड्ने गण्डकी र लुम्बिनीको सङ्गम नदी कालीगण्डकीको किनारमा निर्माणाधीन सडकमा सात वटा पक्की पुल निर्माण भइरहेका छन् । सडकमार्फत दुई देश, दुई प्रदेश र दुई जिल्ला जोड्ने महत्वपूर्ण पुलहरू सम्झौताबमोजिम समयमै निर्माण नहुँदा स्थानीय नागरिकले दुःख भोग्नु परेको छ ।

दुई देश र दुई प्रदेशसँग जोडिने पुलहरू यहाँ कुनै १३ वर्षअघि र कुनै दुई वर्षअघि सम्झौता गरेर ठेकेदार कम्पनीले निर्माण अगाडि बढाएको पुल सेक्टर पोखराले जानकारी दिएको छ । सो कार्यालयका अनुसार स्याङ्जाबाट पाल्पा जोड्ने पाँच वटा र तनहुँबाट पाल्पा जोड्ने दुई वटा पुल निर्माणाधीन छन् । स्याङ्जाको दामाचौर, बासटारी, राम्दी, आँधीघाट, होस्तीबाट पाल्पा र तनहुँको पुट्टार र रोकुवाबाट पाल्पा जोड्ने गरेर पुल निर्माण भइरहेको छ ।

दामाचौर पुल सडक डिभिजन कार्यालय पाल्पा र अन्य छ वटा पुल सेक्टर पोखराले निर्माण अगाडि बढाएको हो । राम्दी पुल सिद्धार्थ राजमार्ग हुँदै भारत जोडिने पुल हो भने अन्य पुल कालीगण्डकी कोरिडोरमा जोडिने पुल हुन् ।

दामाचौर पुल

स्याङ्जाको चापाकोट नगरपालिका–८, दामाचौर र पाल्पाको रामपुर–६ जोडिने निर्माणाधीन दामाचौर पुल भारतीय सीमा सुस्ता पुगिने ट्रस पुल हो । २०६८ असार २६ गते एमएस इलाइट एसबिए जेबी कपन काठमाडौँले तीन वर्षमा काम सक्ने गरी सम्झौता गरेको थियो । दामाचौर पुल भ्याटबाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा निर्माण सक्ने गरी इलाइटले जिम्मा लिएको थियो । १८१.६९ मिटर लम्बाइ रहेको पुलमा बिचमा दुईसहित चार पिल्लर राख्ने गरी काम थालेको थियो ।

वेल फाउन्डेसन डिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको इलाइटले दुई छेउका पिल्लर राखेर नदीको मध्य भागमा पिल्लर बनाउने क्रममा डिजाइन अनुसार काम नभएपछि पुल बन्ने प्रक्रिया रोकिएको थियो ।

डिजाइन अनुसार ‘वेल’ १५/१५ मिटर जमिनमुनि दब्नुपर्नेमा पाँच मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण कम्पनीले काम रोकेको थियो । पुल १३ वर्षमा चार पटकसम्म म्याद थपेर बल्ल ७० प्रतिशत काम सकिएको छ भने निर्माण कम्पनीले अन्य काम अगाडि बढाएको छ ।

आँधीघाट र बासटारी पुल

चापाकोट–१० र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने गरी आँधीघाट र बासटारी बर्दले जोड्ने गरेर दुई वटा पुल निर्माण भइरहेका छन् । २०७४ मङ्सिर २२ गते एमएस सपना/महादेव खिम्ती/ हिरा जेभीले दुवै पुल ठेक्का पारेर तीन वर्षमा सक्ने गरी सम्झौता गरेको थियो । २२०.६ मिटर लम्बाइको आँधीघाटमा निर्माणाधीन पुलको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण कम्पनीले २८ करोड ३७ लाख तीन हजार तीन सय रुपियाँमा सम्झौता गरेर काम गरेको हो । म्याद थप्दै काम गरिरहेको निर्माण कम्पनीले आगामी चैत ३० गतेसम्म समय पाएको छ भने चार स्पानको पुलमा एउटा स्लाप हाल्न बाँकी छ ।

यस्तै बासटारी पुल ५० प्रतिशत काम सकिएको छ भने आर्थिक प्रगति ३८ प्रतिशत छ । दुई सय मिटर लम्बाइ रहेको यो पुलसमेत चार स्पानको रहेको पुलमा दुई छेउ र बिचको दुई पिल्लर हालिएको छ । एक पिल्लर र तीन स्लाप हाल्न बाँकी रहेको पुल २४ करोड ६० लाख १८ हजार तीन सय रुपियाँमा निर्माण कम्पनीले सम्झौता गरेको थियो । यो पुल पनि तीन पटक म्याद थपेर काम भइरहेको हो ।

राम्दी पुल

कालीगण्डकी नदी राम्दीमा निर्माणाधीन पुल स्याङ्जा र लुम्बिनी प्रदेश जोड्ने पुल हो । देशकै एक मात्र नमुना पुल थाइल्यान्डका डिजाइनरले डिजाइन गरेको सिएफएसटी स्टिल ट्युब आर्क ब्रिज हो । भुटानमा एक र चीन तथा दुबईमा प्रशस्त रहेका यस्तो पुल नेपालकै पहिलो हो भने एक स्पान मात्र रहेको यो पुलको लम्बाइ १२० मिटर छ । यहाँ बन्दै गरेको नयाँ पुल २०२८ सालमा बनेको अहिलेको ट्रस ब्रिजभन्दा २७ मिटर बढी लम्बाइको छ ।

२०७९ असार ३० गते तीन वर्षमा सक्ने गरी हिम सगरमाथा प्रालि चितवनले ढेक्का सम्झौता गरेको यो पुल २७ करोड ७१ लाख नौ हजार छ सय रुपियाँमा निर्माण सम्झौता भएको हो । सभ्झौता गरेको एक वर्षपछि निर्माण कम्पनीले काम थालेको यो पुलको ६० प्रतिशत काम सकिएको छ । यो पुल ४० मेट्रिक टन भार क्षमताको हो भने यसभन्दा अगाडिको ११ मेट्रिक टन भार क्षमताको थियो ।

होस्ती पुल

स्याङ्जा र पाल्पा जोड्ने कालीगण्डकीमा निर्माण भएको यो पुलको ५० प्रतिशत काम सकिएको छ । २०७९ कात्तिक २३ गते सपना निर्माण सेवाले तीन वर्षमा काम सक्ने गरेर सम्झौता गरेको थियो । दुई सय मिटर लम्बाइ रहेको पुल ३० करोड ६४ लाख ३८ हजार आठ सय रुपियाँमा निर्माण कम्पनीले काम अगाडि बढाएको हो । पुलको एक छेउ, एक पिल्लर र एक सेलेप निर्माण गरिएको छ भने एक पिल्लर एक छेउ र एक स्लाप हाल्न बाँकी छ ।

पुट्टार पुल

तनहुँबाट पाल्पा हुँदै कालीगण्डकी कोरिडोर जोड्ने पुट्टार पुल शर्मा/युनाइटेड बुइडर्स/रमन जेभीले निर्माण गर्दै छ । यो पुल २१०.६ मिटर लामो छ । २०७४ असार ३० गते सम्झौता भएको यो पुल तीन पटक म्याद थपेर ९८ प्रतिशत काम सकिएको छ । चार स्पानमा तीन स्लाप बनाउने काम सकिएको यो पुलको केही मात्र काम बाँकी रहेको र पुस ३० गतेसम्म म्याद रहेको सो समयमा काम सकिने जनाइएको छ ।

रोकुवा पुल

तनहुँ–पाल्पा जोड्ने रोकुवा पुल चीन–नेपाल–भारतसँग जोड्ने सडकको अर्को पुल हो । २०७४ मङ्सिर २५ गते सम्झौता भएको पुल ३० प्रतिशत मात्र काम सकिएको छ । एमएस महावीर/गौरी पार्वती/नीलगिरि जेभीले काम गरेको पुल २१०.६ मिटर लम्बाइको छ ।

दुई पटक म्याद थप भएको यो पुल २०८० असार ३० गते सक्ने भने पनि निर्माण कम्पनीले म्याद थपेको पनि छैन भने पुल अलपत्र छ । यो पुलको एक छेउ र एक पिल्लर मात्र बनाइएको छ ।

पुल सेक्टर पोखराका प्रमुख ज्ञानेन्द्र कलौनीले रोकुवा पुल निर्माण व्यवसायीको कमजोरीका कारण ढिलाइ भए पनि अरू पुलमा आर्थिक अभावमा ढिलाइ भएको बताउँदै बजेटको समाधान भएमा यो आर्थिक वर्षमा सबै पुल बन्ने बताउनुभयो ।

गत आर्थिक वर्षको रकमसमेत निर्माण व्यवसायीले भुक्तानी नपाएको बताउँदै कलौनीले स्थानीय सडक पुल अन्तर्गतका २३ वटा पुलको ३८ करोड भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button