मूल खबर

सार्वजनिक प्रसारणको नयाँ अभ्यास सुरु हुँदै

काठमाडौँ, पुस २९ गते । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण ऐन २०८१ बमोजिम स्थापना भएपछि पहिलो पटक पूर्वप्रारम्भ (प्रि–लन्चिङ) कार्यक्रम हुने भएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी) मा गएपछि राजनीतिक र व्यापारिक स्वार्थबाट मुक्त बनाउन गृहकार्य थालिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो माघ १ गते (पिएसबी) को तीनदिने कार्यशालाको उद्घाटन गरेर थालनी गर्ने सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भइसक्यो । हामीले पूर्वप्रारम्भ भनेका छौँ अर्थात् प्रि–लन्चिङ कार्यक्रम गर्दै छौँ । माघ १ देखि ३ गतेसम्म चल्ने छ ।”

पूर्वप्रारम्भ कार्यक्रममा आठ विभिन्न विषय विज्ञसहित राजनीतिक नेतृत्वसमेत राखेर छलफल हुने अध्यक्ष विष्टले जानकारी दिनुभयो । उहाँले नेपालको सार्वजनिक सेवा प्रसारणलाई प्राविधिक रूपान्तरण र डिजिटल प्रयोगका सम्बन्धमा ठोस योजना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस कार्यशालाबाट पूर्वप्रारम्भ कार्यक्रमबाट नेपालको सार्वजनिक सेवा प्रसारणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने उहाँले प्रस्ट पार्नुभयो ।

त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग प्रमुख डा. कुन्दन अर्यालले पिएसबी सञ्चालनको मोडालिटीबारे व्याख्या गर्नुहुँदै राजनीतिक र व्यापारिक स्वार्थबाट मुक्त भई सन्तुलित समाचार यसले सम्प्रेषण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “पिएसबी व्यापारिक स्वार्थ र निहित राजनीतिक स्वार्थभन्दा माथि उठेको संस्था हुन सक्नु पर्छ । जनताका आधारभूत सञ्चार आवश्यकता सम्बोधन गर्ने खालको हुनु पर्छ । जसमा मान्छेका कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका अनेकौँ सूचना आवश्यकता पूरा गर्ने हो ।”

अहिले धेरै सूचना बजारको नाफा–घाटाको विषय बन्ने गरेको बताउँदै उहाँले सार्वजनिक सेवा प्रसारण राष्ट्रिय स्तरको प्रसारण संस्था भएकोले सबै जनतालाई समेट्ने हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पिएसबीले सूचनालाई बिक्रीको वस्तु नठानेर जनताको सेवा ठान्नु पर्छ । नेपालमा पिएसबी सुरुवात गरिएको छ । कानुनमा सुधार गर्दै गएमा धेरै काम हुने विश्वास छ ।”

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button