खबरहेड लाइन

रवि लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई परिसरमा राखिएको हो।

सोमबार पुनः अदालतमा पेस गर्ने गरी लामिछानेलाई काठमाडौैं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाइदिएको थियो। रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुखसमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार आइतबार थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश दिएको थियो।

आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो। लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुग्नुभएको थियो। तर, सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आइतबार बहस गर्न नसक्ने भनी इजलासमा उठाएपछि न्यायाधीशले सो आदेश दिनुभएको थियो।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा लामिछाने रिहा हुनुभएको थियो। लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएकोमा सो मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर हुनुभएको थियो।

अधिवक्ता न्यौपानेका अनुसार परिवार वा सरकारी वकिलको जिम्मामा रविलाई छाड्न न्यायाधीश माधवप्रसाद अधिकारीसँग आग्रह गरिएको थियो । न्यायाधीश अधिकारीले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा लगाइदिनुभएको हो। न्यौपानेका अनुसार आज सोमबार बिहान ११ बजेबाट थुनछेक बहस शुरू हुनेछ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button