खबरहेड लाइन

सहकारीमा दस लाखभन्दा बढी बचत गर्दा स्रोत खुलाउनुपर्ने प्रस्ताव

काठमाडौँ, माघ १ गते । अब बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका सदस्यले १० लाख रुपियाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्डको मसौदामा यस्तो व्यवस्था गरिएको हो । वित्तीय स्रोत सङ्कलन सीमा अनुगमन गर्ने प्रयोजनका लागि अघिल्लो त्रैमासमा कायम रहेको प्राथमिक पुँजीकोष, पुँजीकोष र सम्पत्तिलाई आधार मानिने राष्ट्र बैङ्कले जनाएको छ ।

मापदण्डको मसौदामा प्रतिसदस्य बचतको सीमा एक जिल्ला कार्य क्षेत्र भएको संस्थामा १० लाख, एकभन्दा बढी कार्य क्षेत्र भएका जिल्लाका संस्थामा २५ लाख र एक प्रदेशभन्दा बढी कार्य क्षेत्र भएको संस्थामा ५० लाख तोकिएको छ ।

सहकारी संस्थाले साधारण र नियमित प्रकारका बचत खाता सञ्चालन गर्न सक्ने छन् भने संस्थाले स्वीकार गर्ने बचत परिचालनसम्बन्धी कार्यविधि साधारण सभाबाट स्वीकृत गराई लागु गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । संस्थाले प्रतिसदस्य प्राथमिक पुँजी कोषको अधिकतम १५ (पन्ध्र) प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न नसक्ने मापदण्डको मसौदामा उल्लेख छ। यस्तै संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको पाँच गुणा वा बढीमा तीन लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकम मात्र बिनाधितो ऋण प्रवाह गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ । यसरी बिनाधितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यको जमानी लिनुपर्ने मापदण्ड मसौदामा छ ।

सञ्चालकले आफ्नो बचतको सुरक्षणमा प्राप्त हुने ऋणबाहेक कुनै प्रकारको थप ऋण लिन नपाउने भएका छन् । संस्थाले इजाजतपत्र प्राप्त सहकारी बैङ्क र साना किसान लघुवित्त संस्थाको सेयर तथा नेपाल सरकारले जारी गरेको ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था मापदण्डको मसौदामा गरिएको छ । राष्ट्र बैङ्कले मसौदामा सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायसँग राय तथा सुझाव पनि मागेको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button