कृषि र किसान

कृषि कर्ममा पूर्वजनप्रतिनिधि

कुखुरालाई आहारा दिनुहुँदै पूर्ववडाध्यक्ष कमलप्रसाद चौधरी । तस्बिर : अविनाश चौधरी

धनगढी, माघ ३ गते । चारैतिर जङ्गलले घेरिएको सुनसान ठाउँ । त्यहाँ रहेको ठुलो ताल किनारमा खरले छाएको सानो कच्ची घरमा अचेल भेटिनुहुन्छ, पूर्वजनप्रतिनिधि कमलप्रसाद चौधरी ।

केही वर्षपहिले वडाको बागडोर समाल्नुभएका उहाँलाई अहिले स्थानीय जातको कुखुरा र माछा समाल्न भ्याइनभ्याइ छ । कैलारी गाउँपालिका–७, रतनपुरका चौधरी स्थानीय तहको पहिलो निर्वाचनबाट सोही वडाको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाँच वर्ष वडाको जिम्मेवारी पछि अहिले उहाँ कृषि कर्ममा सक्रिय हुनुहुन्छ । वडा नम्बर ७ मै रहेको वसन्ता वनस्थित नम्की ताल ठेक्का लिएर व्यावसायिक माछापालन गरिरहनुभएको छ । यसै गरी पाँच सय जति लोकल कुखुरा पनि हुर्काइरहनुभएको छ ।

जनप्रतिनिधि भएर काम गर्दा हरबखत जनताको पक्षमा राम्रो काम गर्न खोजे पनि सबैलाई सन्तुष्ट पार्न र चित्त बुझाउन नसकिएको उहाँको अनुभव छ । हस्ताक्षर गराउनकै लागि जनताले आफूलाई हप्काएको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “त्यतिबेला जनताको गाली र ताली दुवै खाइन्थ्यो । अहिले मैले रोजेको जीवन बाँच्न पाएको छु ।”

आफू पुनः जनप्रतिनिधि नभएमा कृषि कर्ममा लाग्ने पूर्वयोजना नै थियो, चौधरीको । त्यसैले वडाध्यक्ष हुँदा नै उहाँले घरनजिक दुई वटा पोखरी बनाएर माछापालन सुरु गर्नुभएको थियो । त्यतिबेला बनाएको पोखरी अहिले माछाको भुरा हुर्काउन काम आएको छ ।

पाँच वर्षका लागि छ लाख १० हजार रुपियाँमा १० बिघाको ताल ठेक्कामा लिएपछि घरको पोखरीलाई भुरा हुर्काउनका लागि प्रयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । “१० बिघा तालमा माछा पालेको दुई वर्ष मात्रै भएको छ,” उहाँले भन्नुभयो, “गत वर्ष मैले माछा बेचेर बैङ्कको किस्ता तिरेँ ।”

तालको माछाभन्दा पनि पोखरीको भुराबाट बढी आर्थिक लाभ लिने योजना बनाएको उहाँको भनाइ छ । “भुरा बिक्री गरेर बढी आम्दानी गर्ने सोच बनाएको छु,” उहाँले भन्नुभयो, “अहिले कुखुरा पनि छन् । यसबाट पनि आम्दानी हुने अपेक्षा छ ।”

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button