खबर

अर्थमा व्यापक हेरफेर

काठमाडौँ, माघ ३० गते । अर्थ मन्त्रालय र त्यस अन्तर्गतका निकायमा व्यापक हेरफेर गरिएको छ । अर्थ मन्त्रालयका सचिव डा. राजन घिमिरेको ठाउँमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । घिमिरेलाई राष्ट्रपति कार्यालयको सचिवमा सरुवा गरिएको छ ।

त्यसै गरी आन्तरिक राजस्व विभागका महानिर्देशक (सहसचिव) रामप्रसाद आचार्यलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भन्सार विभागका महानिर्देशक (सहसचिव) हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै अर्थका सहसचिव दीर्घराज मैनालीलाई राष्ट्रिय सूचना आयोगका सचिवमा र सहसचिव नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । अर्थ मन्त्रालयमा भने मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सहसचिव) तीर्थराज चिलुवाल, राष्ट्रिय महिला आयोगका सचिव पार्वती अर्याललाई अर्थमा सहसचिव र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव श्रीचन्द्र साहलाई सरुवा गरिएको छ ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा. राजन घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । मङ्गलबार सचिव उपाध्यायले पदभार ग्रहणसमेत गर्नुभएको छ ।

पदभार ग्रहण कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव उपाध्यायको प्रशासनिक नेतृत्वमा अर्थ मन्त्रालयसँग राष्ट्र र जनताले गरेको अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । अर्थ सचिव उपाध्यायले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै राजस्व वृद्धि, पुँजीगत खर्च वृद्धि, अनावश्यक खर्च कटौती, उत्पादन वृद्धिलगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा डा. रामप्रसाद घिमिरले अर्थतन्त्रलाई अनुशासित र गतिशील बनाउन इमानदारीपूर्वक योगदान पुर्‍याएको उल्लेख गर्दै उहाँको अनुभव र ज्ञानलाई अर्थ मन्त्रालयले आगामी दिनमा पनि लिने बताउनुभयो ।

सचिव डा. घिमिरेले विश्वास गरी राजस्व सचिव र अर्थ सचिवको भूमिमा प्रदान गरेकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई सबल र गतिशील बनाउन आफूले सदा सहयोग गर्ने बताउनुभएको थियो । यसअघि अर्थ सचिव रहनुभएका डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button