मूल खबरहेड लाइन

पूर्वले भित्र्याउन सकेन भारतीय पर्यटक

धनकुटाको पर्यटकीय स्थल हिलेनजिकै रहेको नागढुङ्गाबाट देखिएका विभिन्न हिमाल तथा अरुण उपत्यकाको दृश्य । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे

हिले, फागुन १ गते । पूर्वी नेपालका धेरै पर्यटकीय गन्तव्य अहिले पनि पर्यटकको पर्खाइमा छन् । तराईका सिमसार, तालतलैया हुन् वा चाँदी झैँ टल्किएका हिमाल देखिने पहाडी डाँडाकाँडा धेरै स्थानमा अहिले पनि पर्यटकको पाइलासम्म पुग्न सकेको छैन । पूर्वी नेपालसँगै सिमाना जोडिएको भारतको पश्चिम बङ्गाल तथा विहारका करोडौँ व्यक्ति भने घुम्नका लागि पर्यटकीय गन्तव्यको खोजीमा छन् ।

सिमाना जोडिए पनि उनीहरू त्यहाँसम्म पुग्ने वातावरण बन्न सकेको छैन । प्रचारप्रसारको अभावका कारण उनीहरूलाई नेपालका पर्यटकीय स्थलबारे जानकारी निकै कम छ । जसका कारण पूर्वी नेपालका पर्यटकीय स्थलका लागि भारतीय पर्यटक ‘लासामा सुन छ कान मेरो बुच्चै’ भने झैँ हुने गरेको छ । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको भाग्य र भरोसासँग जोडिएको क्षेत्रको रूपमा भारतको पश्चिम बङ्गाल र विहार क्षेत्रलाई लिइन्छ । पूर्वी नेपालसँग यी दुई क्षेत्रको सिमाना त जोडिएको छ तर भावना नजोडिँदा पूर्वी नेपालका पर्यटकीय क्षेत्रको जानकारी पश्चिम बङ्गाल र विहारसम्म पुग्न नसकेको पश्चिम बङ्गाल सरकारका पर्यटन दूत तथा ग्रामीण पर्यटनका अभियन्ता राज वासु बताउनुहुन्छ ।

त्यसो त पर्यटकीय स्थलका रूपमा नेपालका काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीसँग पहिलेदेखि नै यी क्षेत्र जोडिएका छन् । यो क्षेत्रका घुम्न चाहने अधिकांश व्यक्ति काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी पुगिसकेका छन् । भौगोलिक सामाजिक सांस्कृतिक रूपमै निकै सुन्दर भए पनि प्रचारप्रसार अभावका कारण यो क्षेत्रले पर्यटक तान्न नसकेको अभियन्ता वासुको भनाइ छ ।

“यस क्षेत्रका मात्र नभई समग्र भारतका पर्यटक नजिकैको नयाँ स्थानको खोजीमा छन् । त्यसका लागि पूर्वी नेपाल उपयुक्त छ तर प्रचारप्रसारको अभावले सम्भावना भएर पनि यो क्षेत्र ओझेलमा छ,” वासु भन्नुहुन्छ । पूर्वी नेपालका हिमाल देखिने डाँडाकाँडाले बर्सेनि लाखौँ भारतीयलाई आकर्षित गर्ने उहाँको दाबी छ । भारतकै नेपाली भाषी रहेका पहाडी क्षेत्र दार्जिलिङ, सिक्किम, कालिम्पोङलगायतका क्षेत्रसँग परिचित पश्चिम बङ्गाल तथा विहारवासी त्यस्तै नयाँ गन्तव्यमा घुम्न जान चाहन्छन् र खोजीमा छन् । त्यसको विकल्प पूर्वी नेपाल बन्न सक्ने पर्यटनको क्षेत्रमा काम गरिरहनुभएका रजत सिंहको भनाइ छ ।

यसका लागि त्यहाँको सुन्दर र शान्त वातावरण, मनोरम दृश्य, कला, संस्कृति, स्थानीय परिकार, रहनसहन, घरबास कार्यक्रमले उनीहरूलाई आकर्षित गर्न सक्ने उहाँको बुझाइ छ । “यो क्षेत्र बाक्लो बस्ती र समथर भूभाग भएको क्षेत्र पनि हो । पहाड र हिमालबारे धेरै अनभिज्ञ छन् । उनीहरू पहाड हेर्न घुम्न बुझ्न चाहन्छन् तर कहाँ घुम्ने कसरी जाने भन्नेबारे जानकारी छैन,” सिंह भन्नुहुन्छ । पछिल्लो समय विहार क्षेत्रका केही पर्यटक भेँडेटार तथा पश्चिम बङ्गालका पर्यटक इलामसम्म पुग्ने गरेका छन् । ती क्षेत्रबाहेक अन्यत्र भारतीय पर्यटकको उपस्थिति नगण्य छ ।

भारतीय पर्यटकको उपस्थिति बढाउन सरकार तथा निजी क्षेत्रले पहल गरेर कार्यक्रम ल्याउनुपर्ने धनकुटा हिलेका होटेल व्यवसायी श्रीराम रायमाझी बताउनुहुन्छ । त्यसका लागि सरकार, सरोकारवाला तथा निजी क्षेत्रले साझेदारीमा प्रचारप्रसार, क्याम्पिङ तथा पर्यटकलाई गन्तव्यसम्म पुग्ने वातावरण बनाउनुपर्ने उहाँको सुझाव छ ।

त्यसो त विदेशी पर्यटक भन्नेबित्तिकै गोरा छाला भएका व्यक्ति भन्ने सोच छ । पछिल्लो समय यस्तो सोच बदलिँदै गएको पनि छ । भारत नेपाली पर्यटनको सबैभन्दा ठुलो र राम्रो बजार हो भन्ने बुझेर कोशी प्रदेश सरकारले जनस्तरको, सामाजिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्ध बढाउन प्रयास गरिरहेको पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी नीरज कट्टेल बताउनुहुन्छ ।

“पहिले पहिले विदेशी पर्यटक भन्नेबित्तिकै गोरा छाला भएका भन्ने बुझाइ थियो र कार्यक्रम पनि उनीहरूलाई नै लक्षित गरेर ल्याउने गरिएको थियो तर अहिले भारतीय पनि हाम्रो पर्यटन बजारका मुख्य हिस्सा हुन् भन्ने सोच बढ्दो छ । करिब १० करोड जनसङ्ख्या भएको भारतको पश्चिम बङ्गाल तथा करिब १३ करोड जनसङ्ख्या रहेको विहारमा मात्रै पनि हाम्रा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सके मात्र पनि पूर्वी नेपालको पर्यटकीय क्षेत्रमा भाग्य उदाउनेमा स्थानीय आशावादी छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button