कृषि र किसानहेड लाइन

गोठ गोठमा पशु प्राविधिक

स्केच : एआई

केशब राज पौडेल

काठमाडौँ, फागुन ३ गते । सिन्धुपाल्चोक मेलम्चीका पशु प्राविधिक चेतप्रसाद घोरासैनी दिनरात नभनी किसानको गोठमा पुग्नुहुन्छ । ब्याउन नसकेर मृत्युको मुखमा पुगेका भैँसीका माउ पाडाको ज्यान जोगाइदिएर उहाँले स्थानीय कुलप्रसाद लुइँटेलको एक लाख ६० हजार रुपियाँको पशुधन जोगाइदिनुभयो । दैनिक ११ लिटर दुध दिने भैँसीको ज्यान जोगिएसँगै लुइँटेल परिवारले यतिबेला राहतको सास फेरेको छ । ब्याउन नसकेको भैँसीको पाडो निकाल्न तीन घण्टाको प्रयासपछि मात्रै सम्भव भएको उहाँले बताउनुभयो ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुरका पशु प्राविधिक राजेश लम्साल पनि किसानको फोन आउनेबित्तिकै दिनरात नभनी सेवामा सक्रिय हुनुहुन्छ । दिउँसोको समयभन्दा रातको समयमा किसानको फोन धेरै आउने भए पनि उहाँ जुनसुकै समयमा पनि किसानको पशुधन जोगाउन सक्रिय बन्नुहुन्छ ।

पशुको ज्यान नै जाने सङ्केत देखेपछि किसानले तत्कालै पशु प्राविधिकलाई फोन गरिहाल्छन् । “महिनामा २० वटासम्म गाईभैँसीको ज्यान जोगाएका छौँ,” लम्सालले भन्नुभयो । स्थानीय सरकारको एक वडा एक पशु प्राविधिकका रूपमा कार्यरत लम्साल त्यहाँका पशुपालक किसानको साथी बन्नुभएको छ ।

पर्वतको मोदी गाउँपालिकाले कृषकको सहजताका लागि भन्दै पशु प्राविधिकलाई कृषकका घर घरमा पठाउन सुरु गरेपछि त्यहाँका किसानले लाभ उठाएका छन् । अधिकांश नागरिक पशुपालनमा रहेकाले पालिकाले पनि कृषकलाई सोही अनुसारको सुविधा पुर्‍याउने उद्देश्यले पशुसम्बन्धी कुनै पनि समस्या परेमा कृषकका गोठमा नै प्राविधिक पुग्ने प्रबन्ध गरेको पशु चिकित्सक गोपाल पासीले जानकारी दिनुभयो ।

पशुमा देखिने समस्या समाधान गरेर ग्रामीण पशु प्राविधिकले किसानको मुहारमा खुसी ल्याउन थालेका छन् । ७५३ वटै स्थानीय तहका पशु प्राविधिकले किसानको गोठमै पुगेर सेवा दिन थालेपछि किसानको मुहारमा खुसी छाउन थालेको हो ।

गल्याङ नगरपालिका स्याङ्जामा सिकिस्त भएको भैँसीलाई त्यहाँका प्राविधिकले पशु चिकित्सकको सहयोगमा बचाउन सकेपछि किसानको मुहारमा हाँसो छाएको पशु चिकित्सक परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले बताउनुभयो ।

उहाँले देशभरका पशु प्राविधिकले दैनिक हजारौँ किसानको मुहारमा हाँसो ल्याउने गरेको उल्लेख गर्नुभयो । पशु प्राविधिकले किसानको लाख रुपियाँभन्दा धेरै रुपियाँ पर्ने पशुधन जोगाइदिने मात्रै नभएर पशुपालक किसानको स्नेह पाउने गरेको बताउनुभयो । भर्खरै जन्मिएको भैँसीको पाडो र गाईको बाच्छाबाच्छी बचाउने पशु प्राविधिक किसानको नजरमा नायक बनेको उहाँ ठान्नुहुन्छ ।

पशु प्राविधिक लम्सालले दिउँसोको समयमा भन्दा पनि रातको समयमा किसानको पशुधन जोगाउन पाउँदा निकै खुसी मिल्ने बताउनुभयो । उहाँले त्यसरी पशुधन जोगाउन पाउँदा किसानको दैनिक रोजीरोटी बचाउन सकेको अनुभूति मिल्ने उल्लेख गर्नुभयो ।

एक साताअघि बाजुराबाट अछाम ल्याइएका किसानको भेडा मर्न थालेपछि सबैभन्दा पहिला पशु प्राविधिक लिएर पशु चिकित्सक डा. पद्म पाण्डेको टोली त्यहाँ पुगेको थियो ।

औपचारिक र अनौपचारिक रूपमा झन्डै एक लाख जनशक्ति पशु सेवाको क्षेत्रमा क्रियाशील छ । ग्रामीण पशु स्वास्थ्य कार्यकर्तादेखि यस क्षेत्रमा पिएचडी गरेका फिसरी, डेरीलगायत सरकारी एवं गैरसरकारी क्षेत्रमा काम गर्ने प्राविधिकले सदस्यता लिई काम गर्न पाउने भए पनि पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद्मा भने १३ हजार १०३ जनाले मात्रै सदस्यता लिएका छन् । प्राविधिकलाई परिषद्मा आबद्ध गराएर अझै जिम्मेवार बनाउन सके पशुधनको सुरक्षामा टेवा पुग्ने किसान बताउँछन् ।

पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद्का रजिस्ट्रार पूर्णबहादुर बुढाले देशभरका एक लाखभन्दा धेरै पशु प्राविधिकले सेवा पुर्‍याइरहेको उल्लेख गर्नुभयो । पशु छोएर, स्नेह गरेर मात्रै उपचार सम्भव भएकाले पशु प्राविधिकले किसानको गोठमै पुगेर सेवा दिँदा पशुधनको सुरक्षामा योगदान पुर्‍याएको उहाँको भनाइ छ । नेपाल कुखुराको मासु, दुधमा आत्मनिर्भर हुनुमा पशु प्राविधिकको योगदान ठुलो रहेको उहाँले उल्लेख गर्नुभयो । सरकारले प्राविधिकलाई थप प्रोत्साहनका कार्यक्रम ल्याएर मुलुकलाई पशु र कृषिको क्षेत्रमा आत्मनिर्भर बनाउन सहयोग दिनुपर्नेमा बुढाको जोड छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button