स्वास्थ्यहेड लाइन

सस्तोमै ‘लम्पी स्किन’ को खोप दिन बायोटेक तयार

विश्वास रेग्मी

हैदराबाद (भारत), फागुन ४ गते । कोभिड सङ्क्रमणविरुद्धको खोप ‘कोभ्याक्सिन’ निर्माण गरेको भारतीय कम्पनी ‘भारत बायोटेक’ ले सस्तो दरमै नेपालमा ‘लम्पी स्किन’ विरुद्धको खोप उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

तेलङ्गाना राज्यको हैदराबादस्थित बायोटेकको मुख्य कार्यालयमा नेपालका पत्रकारसँगको छलफलमा कम्पनीका संस्थापक कृष्ण एलाले अहिले नेपालले खरिद गरिरहेकोभन्दा सस्तो मूल्यमै ‘लम्पी स्किन’ विरुद्धको खोप उपलब्ध गराउन तयार रहेको बताउनुभयो ।

“भारतमा जस्तै नेपालमा पनि ‘लम्पी स्किन’ मुख्य समस्या भएकोले नेपालले अहिले खरिद गरेकोभन्दा कम दरमै खोप उपलब्ध गराउन हामी तयार छौँ,” उहाँले भन्नुभयो, “व्यावसायिक प्रयोजनभन्दा पनि छिमेकी मुलुकको नाताको हिसाबले सस्तो मूल्यमा खोप दिने हाम्रो योजना हो ।”

बायोटेकले हालै मात्र ‘लम्पी स्किन’ लक्षित ‘बायोलम्पी भ्याक्सिन’ नामक खोपका लागि भारतीय औषधीय विभागबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले सोही खोप नेपालमा उपलब्ध गराउने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार उक्त भ्याक्सिनको प्रयोगमार्फत खोप लगाएका र नलगाएका गाईभैँसी सजिलै छुट्टिन सक्छन् ।

केही समयभित्रै भारतीय बजारमा प्रवेश गर्न लागेको उक्त खोपलाई कम्पनीले विश्वकै पहिलो त्यस्तो विशेषतायुक्त खोप दाबी गरेको छ । गाईभैँसीलाई उच्चस्तरको सुरक्षा र प्रभावकारी विशेषतायुक्तसहितको भएको उक्त खोपले भारत र नेपालमा ‘लम्पी स्किन’ नियन्त्रणमा उल्लेखनीय भूमिका खेल्ने संस्थापक एलाले बताउनुभयो । ‘लामो समयदेखिको अध्ययन अनुसन्धानपछि खोप तयार भएकोले यो एकदमै सुरक्षित र प्रभावकारी छ,” उहाँले भन्नुभयो, “यदि नेपाल सरकार हाम्रो खोप प्रयोग गर्न चाहन्छ भन्ने सहुलियतपूर्ण हिसाबले हामी उपलब्ध गराउन सक्छौँ ।” खोपको प्रयोगले गाईभैँसीबाट हुने दुग्ध उत्पादनमा कुनै नकारात्मक असर नपरेको पनि परीक्षणबाट पुष्टि भइसकेको उहाँले बताउनुभयो ।

बायोलम्पी भ्याक्सिन तीन महिनामाथिका गाईभैँसीलाई वर्षमा एक पटक लगाउन सकिने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै ५० करोड डोजसम्म यस्तो खोप उत्पादन गर्न सक्ने जडित क्षमता रहेको पनि कम्पनीले जनाएको छ ।

‘लम्पी स्किन’ सङ्क्रमित लामखुट्टे तथा झिँगाका कारण गाईभैँसीमा लाग्ने रोग हो । यस्तो रोग लागेमा गाईभैँसीमा उच्च ज्वरो आउने, दुध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, आँखा र नाकबाट तरल पदार्थ आउने, श्वासप्रश्वासमा अप्ठ्यारो हुने जस्ता समस्या देखिने गर्छन् ।

‘लम्पी स्किन’ का कारण नेपालका सबै जिल्लामा गाईभैँसी प्रभावित भएका थिए । सरकारी अभिलेख अनुसार सात लाखभन्दा बढी गाईभैँसीलाई ‘लम्पी स्किन’ को समस्या देखिएको थियो । जसले गर्दा किसानहरू मारमा परेका थिए ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button