
न्युज अफ नेपाल
काठमाडौं ।
प्रकृतिको मृत्युको सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै न्यायको याचना गरेका नेपाली विद्यार्थीलाई केआईआईटी प्रशासन र कर्मचारीहरूले दुव्र्यवहार र कुटपिट गरेपछि सयौं नेपाली विद्यार्थी आतंकित बनेका थिए ।
प्रशासनकै योजनामा होस्टेलमा बसेका विद्यार्थीहरूलाई एकाएक निष्कासन गर्दै रेल स्टेसन लगेर निर्दयतापूर्वक छोडिएको थियो। पीडित विद्यार्थीहरूमध्ये कतिपयले आफूहरूसँग नेपाल फर्कने पैसा नभएकाले अलपत्र पर्नुपरेको बताए ।
पीडित विद्यार्थीका अनुसार कलेज प्रशासनले गुण्डा लगाएर उनीहरूलाई निकालेको थियो । ‘गुण्डा लगाएर निकाले, कुटपिट गरे, निस्कनु भनेको भए निस्कन्थ्यौं, हातपात नै गरे ।
अमानवीय र क्रुर रहेछन् अपराधीहरू’ –निष्कासित भएपछि एक विद्यार्थीले आक्रोश पोख्दै भने । निष्कासनमा परेपछि कैयांै छात्राहरू डरले बोल्न सकिरहेका थिएनन् । नेपाल कसरी आउने भन्ने चिन्ताले ग्रस्त थिए । एकातिर अध्ययन छोडनुपर्ने अर्कातिर डर त्रास र धम्कीको पीडाले उनीहरू पीडित बनेका थिए ।
सो कलेजको होस्टेलबाट निस्किएका ३ सय विद्यार्थी रातभरमा कलकत्ता स्टेसनमा आएका थिए । उनीहरूलाई कलेजले बाटोमा ल्याएर छोडिदिएको थियो । ‘टिकट छैन, पैसा पनि छैन, ७–८ सय किमि टाढा घरमा कसरी जाने ?’ –एक पीडित विद्यार्थीले सामाजिक सञ्जालमार्फत याचना गरे । ‘कलेज प्रशासनका मान्छेले अमानवीय व्यवहार गरे, छात्राहरूलाई वार्डेनहरूले कुटपिट गरे । जनावर जसरी निकाले’ –ती विद्यार्थीले भने ।
पीडित विद्यार्थीहरूका अनुसार अब उनीहरू फर्केर नजाने निर्णय गरेका छन् । ‘अब हामी जाँदैनौं । त्यस्तो क्रुर समूह भएको ठाउँमा त्यो कलेज होइन, कुटपिट गर्ने ठाउँ हो, त्यस्तो कलेजमा फर्कदैनौं । लोकल गुण्डा बोलाएर कुटपिट गरियो । हातपात गरियो, के थाहा फेरि कुटिन र मर्नुपर्ने हो कि’ –सामाजिक सञ्जालमार्फत उनीहरूले भनेका छन् । ‘पहिला कुटेर निकाल्ने पछि फेरि बोलाउने यो नाटक हो’, उनीहरूले भने– ‘हिजो (सोमबार) बिहान ७ बजे निकालेको भोकै बस्नुप¥यो । हिजोदेखि भोकभोकै छौं ।’
प्रकृतिका बुवा सुनील लम्साल भन्छन्– ‘ह्यारेसमेन्ट’ का कारण घटना घटेको रहेछ, हामी न्याय चाहन्छौँ
छोरीको रहस्यपूर्ण मृत्युपछि उनका पिता सुनील लम्साल मंगलवार घटनास्थल पुग्नुभएको छ । विश्वविद्यालय र प्रहरी–प्रशासनसँग उहाँले जानकारी लिँदै न्यायको याचना गर्नुभएको छ ।
‘हामीलाई यति सूचना छ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा छोरीले सुसाइड गरेको हो । त्यसैले सत्यतथ्यसहित न्याय चाहन्छौं’ – भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै लम्सालले भन्नुभयो ।
प्रकृति मृत्यु प्रकरणमा दलका नेताहरू के भन्छन् ?
सरकारले कूटनीतिक पहल जारी राख्नुपर्छ
प्रदीप ज्ञवाली, उपमहासचिव नेकपा (एमाले) तथा पूर्वपरराष्ट्रमन्त्री
घटना हुनेबित्तिकै सरकारले नेपालका लागि भारतीय राजदूतमार्फत सक्रियता बढाएको छ । नेपाली विद्यार्थीलाई कुटपिट गर्ने चौकीदार हटाएको छ भने क्याम्पसका सञ्चालकहरूले माफी मागेका छन् । घटना घट्नेबित्तिकै सरकारले पहलकदमी लिएको छ । न्यायको माग गर्ने नेपाली विद्यार्थीलाई कसरी सुरक्षित भएको अनुभूति गराउने भन्ने मुख्य कुरो हो । उनीहरूले क्याम्पस सञ्चालकहरूबाट अपमान महसुस गर्नुप¥यो । यसपछि उत्पन्न समस्याको समाधानका लागि सरकारले निरन्तर फलोअप गर्नुपर्दछ । सरकारले कूटनीतिक पहलद्वारा सत्यतथ्य बाहिर ल्याउन निरन्तर लाग्नुपर्छ ।
सरकारले अविलम्ब कूटनीति सशक्त पार्नुपर्छ
पम्फा भुसाल, उपाध्यक्ष नेकपा (माओवादी) केन्द्र
प्रकृति लम्सालको शंकास्पद तथा रहस्यमय मृत्यु भएको विषयमा छानबिन हुनुपर्दछ । परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारले विशेष पहल गर्नुपर्दछ । त्यो घटनापछि जुन तवरमा नेपाली विद्यार्थीहरू हठात ढंगले कलेजबाट निकालियो तिनीहरूको सुरक्षाका लागि सरकारले अविलम्ब कूटनीतिक पहल गर्नुपर्नेमा सरकार चुकेको छ । समस्याको समाधानसहित अध्ययनरत विद्यार्थीहरूको अध्ययन सुनिश्चितता गर्न सरकारले कुनै कसर बाँकी राख्नुहुन्न ।
नेपालीको आत्मसम्मानका लागि सरकारले कदम चाल्नुपर्दछ
मनीष झा, सांसद् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
नेपाली विद्यार्थीले ज्यान गुमाएको विषय एउटा घटना विशेषका रूपमा सीमित छैन । घटनाको प्रकृति हेर्दा हाम्रो कूटनीति कतिसम्म कमजोर भयो कि कलेजको एउटा सुरक्षा गार्डले नेपाली नागरिकलाई कुटेको छ । यो घटनाले गर्दा विदेशमा रहेका नेपालीहरू असुरक्षित महसुस गरिरहेका छन् । नयाँदिल्लीस्थित नेपाली दूतावासमा रहेको जनशक्तिले भारतमा रहेका नेपालीको जिम्मेवारी लिन नसक्ने अवस्था रहेको छ । तेरो देशको बजेट त यो कलेजको बजेट जति पनि छैन भनेर कलेजले नेपाली विद्यार्थीहरूको अपमान गरेको छ । यस घटनामा सरकारको कूटनीतिक कमजोरीले नेपाली नागरिकको आत्मसम्मान गुमेको छ।
यस्ता घटना किन बारम्बार भइरहेका छन् ?
ध्रुवबहादुर प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी
भारतमा नेपाली नागरिकमाथि भएको व्यवहार चिन्ताजनक रहेको छ । प्रकृति लम्सालको असामयिक, अप्राकृतिक अन्त्य भएको छ । नेपाली भएकै कारण प्रकृति लम्सालले न्याय नपाएको हो कि ? लम्सालको रहस्यमय मृत्युको घटनापछि सार्वजनिक भएका तथ्यहरूले यस्तै आशंकालाई बल दिएको छ । घटनापछि नेपाली विद्यार्थीमाथि गरिएको व्यवहारले अझ चिन्तित बनाएको छ । यो घटना भत्र्सनायोग्य छ । यस्ता घटना किन बारम्बार भइरहेका छन् भन्नेबारे सरकारले गम्भीर भएर सोच्नुपर्दछ ।
नेपाली विद्यार्थीलाई सुरक्षित अनुभूत गराउनुपर्दछ
जितजंग बस्नेत, केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सांसद नेपाली कांग्रेस
यो घटनाको के, कसो भएको भन्ने कुरो सबै बाहिर आउनुपर्दछ । नेपाली विद्यार्थीको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिनुपर्दछ । त्यसपछि नेपाली विद्यार्थीहरूको जीउनधनको सुरक्षा गर्नुपर्दछ । नेपालका लागि भारतीय राजदूतले बोलाएर क्याम्पस प्रमुखसँग कुराकानी गरेका छन् । नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुई जना चौकीदारलाई पनि हटाएको छ । यसमा सरकारले ध्यान पु¥याएको छ । मुख्य कुरो भनेको नेपाली विद्यार्थीले सुरक्षाको अनुभूत गराउने विषय हो । अबदेखि यस किसिमको घटना हुन नदिन पहल गर्नुपर्दछ । सरकारले निरन्तर चासो लिइरहनुपर्दछ ।
नेपाली विद्यार्थीमाथि हमला गर्ने कार्य भारतले रोक्नुपर्छ
राजेन्द्र पाण्डे, सांसद तथा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष
एकजना नेपाली विद्यार्थीको रहस्यमय तरिकाले मृत्यु भएको विषयमा आवाज उठाउने नेपाली विद्यार्थीहरूप्रति जुन दुव्र्यवहार गरियो, त्यो निन्दनीय छ । यसमा म र मेरो पार्टी घोर भत्र्सना व्यक्त गर्दछौं । हाम्रो पार्टीको मंगलवार बसेको बैठकले यसप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरूलाई हमला गर्ने कार्य तत्काल रोक्न भारत सरकारसँग आग्रह गरेका छौं । सरकारको कूटनीतिक पहलका लागि संसद्मा आवाज उठाइरहेका छौं ।