मूल खबरहेड लाइन

चुरे विनाशले गाउँ नै विलय

छिरपोखरी गाउँकोे अन्तिम चिनारीका रूपमा रहेको इनार । तस्बिर : विजयकुमार साह

विजयकुमार साह

ढल्केबर। कुनै समय धनुषा जिल्लाको छिरपोखरी गाउँ हराभरा थियो । करिब एक सय घरधुरी भएको यो गाउँ कृषिमा आत्मनिर्भर थियो । पिउने पानीका लागि इनार र सिँचाइका लागि मूलको पानी प्रयोग गरिन्थ्यो । उब्जनी पनि राम्रो हुन्थ्यो र समुदायबिच गहिरो सामाजिक सम्बन्ध थियो तर अहिले छिरपोखरी गाउँ नै छैन । त्यहाँ अहिले केवल फराकिलो मरुभूमि मात्र छ।

२०४४ साउनको अन्तिम सोमबार जलाद नदीमा आएको विनाशकारी बाढीले यो गाउँ पूरै बगायो । जलाद नदीले बर्सेनि जमिन कटान गर्दै गाउँलाई खतरामा पारिरहेको थियो । अन्ततः उक्त बाढीले गाउँलाई अस्तित्वहीन बनायो तर खनेर ढलान गरिएका दुई इनार अझै पनि अवशेषका रूपमा उभिएका छन् । ती इनारहरू नै अहिले गाउँको अन्तिम चिनारी बनेका छन् ।

छिरपोखरी बस्ती बगाउँदा ६० वर्षीय राजकिशोर यादव किशोरावस्थामा हुनुहुन्थ्यो । उहाँले त्यो भयावह दिन सम्झँदै भन्नुभयो, “त्यस दिन बिहानदेखि परेको पानीले खोलाको बहाव मोडिएपछि बस्तीतर्फको जमिन कटान हुन थाल्यो । म नवविवाहित थिएँ । भाइबहिनीहरू स–साना थिए । बाढीले गाउँमा क्षति पु¥याउन थालेपछि हामीले घर उखेलेर काठबाँस जोगाउन खोज्यौँ । केही लत्ताकपडा र अन्न खेतसम्म पु¥यायौँ । तर धेरै धानचामल हिलोमै अड्कियो ।”

छिरपोखरीका अर्का प्रभावित व्यक्ति रामएकवाल महतो भन्नुहुन्छ, “गाउँमा पर्वते, चमार, कोइरी, यादव सबै मिलेर खेती गर्दै जिन्दगी बिताइरहेका थियौँ तर त्यो कालो रातमा सबै थोक गुमायौँ र तितरबितर भयौँ ।”

७० वर्षीय ललितबहादुर बुढाथोकी आज पनि पौने एक घण्टा हिँडेर त्यो मरुभूमि हेर्न जानुहुन्छ । उहाँ भन्नुहुन्छ, “हेर्दाहेर्दै सबैथोक बगायो । म मात्र होइन, गाउँभरिका मानिस एकसाथ बर्बाद भयौँ ।” उहाँका अनुसार २०४२ सालताका नदी सोझै बग्थ्यो तर बिस्तारै नागबेली बन्दै गाउँ कटान गर्न थाल्यो । २०४४ सालमा त पूरै गाउँमै नदी पस्यो । छेडीपोखरीमा खेती गर्दै आएका किसान बाढीपछि भूमिहीन बन्न पुगेको बुढाथोकीले बताउनुभयो ।

छिरपोखरीका बासिन्दा विस्थापित भएपछि करिब दुई किलोमिटर परको अग्लो जमिनमा गएर बसोवास गर्न थाले । अहिले त्यो ठाउँ क्षीरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ६, सखुवा बजार नयाँ टोल भनेर चिनिन्छ । बुढाथोकी भन्नुहुन्छ, “हामीले बसाइँ सरेर नयाँ बस्ती बसायौँ । अहिले छिरपोखरीबाट आएका करिब ६५ र अन्यत्रबाट गरी यहाँ डेढ सयभन्दा बढी परिवार छन् ।” त्यहाँ रहेको इनार देखाउँदै उहाँले यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ रहेको जानकारी दिनुभयो । पहिले जलाद खोलाको चौडाइ चार सय मिटर मात्र रहेको र हाल यो करिब एक हजार मिटरभन्दा बढी भइसकेको बुढाथोकीको भनाइ छ ।

गाउँको इतिहास दुई सय वर्ष पुरानो रहेको मानिन्छ । करिब दुई वर्षअघि थारू समुदायका मानिसले पहिलो पटक घर बनाएर बस्न सुरु गरेको बुढापाकाको भनाइ छ । त्यसपछि अन्य समुदायको प्रवेशसँगै बस्ती विस्तार भएको थियो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले यो घटना चुरे विनाशको सुरुवाती दिनको डरलाग्दो उदाहरण भएको बताउनुभयो । उहाँका अनुसार चुरे क्षेत्रमा पानी सोस्ने रूखबिरुवा र पातपतिङ्गर घट्दै गएपछि बर्खाको पानी जम्न सकेन । खोलामा जम्मा भएका ढुङ्गा, गिटी र बालुवाका कारण भेल बढ्न थाल्यो । यसले नदीको बहाव परिवर्तन गराउँदै गाउँलाई बगरमा परिणत ग¥यो र खेतीयोग्य जमिन कटान हुन थाल्यो । त्यसपछिका दिनमा थुप्रै क्षति भएको बताउँदै अध्यक्ष शर्माले अझैं पनि मानिसले चुरेसँग खेलवाड गर्न नछोडेको बताउनुभयो । प्रदेश सभा सदस्य रामआशिष यादवले पनि चुरे संरक्षणको महत्वलाई जोड दिँदै भन्नुभयो, “चुरे संरक्षणको विषय राजनीति होइन, अस्तित्वको लडाइँ हो । यदि चुरे जोगाउन सकिएन भने त्यसको पहिलो प्रभाव मधेशमा पर्ने छ र मधेशको कृषि अर्थतन्त्र ध्वस्त हुने छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारले वैज्ञानिक प्रविधि अपनाएर चुरे संरक्षणलाई प्राथमिकता दिनु पर्छ ।”

सरकारले लालपुर्जा वितरणको नाममा चुरे दोहनलाई प्रश्रय दिने नीति खारेज गर्नैपर्ने बताउँदै यादवले चुरे क्षेत्रको उत्खनन, अव्यवस्थित बस्ती विस्तार र वन फँडानी रोक्न कडाइसाथ ऐन कार्यान्वयन ल्याउनुपर्ने बताउनुभयो । विगत तीन दशकमा जलाद नदीले तीन पटक धार परिवर्तन गरिसकेको छ । नदीको कटान रोक्न तटबन्ध निर्माण गरिए पनि समस्या समाधान हुन सकेको छैन ।

पर्यावरणविद् विजयकुमार सिंहले चुरे विनाशको अनुपातमा संरक्षण प्रयास असाध्यै कम भएको बताउनुभयो । उहाँका अनुसार वन फँडानीकै कारण भावर क्षेत्रको जमिनले पानी सोस्न छाडेको छ, जसले गर्दा मधेशका खेतमा बालुवा थुप्रिने क्रम बढेको छ । यदि बेलैमा चुरे संरक्षणका उपाय अपनाइएन भने धनुषाको छिरपोखरीजस्तै अन्य धेरै गाउँ पनि मरुभूमिमा परिणत हुने खतरा छ। चुरे क्षेत्रको संरक्षण तत्काल आवश्यक भएको उहाँको भनाइ छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button