कला

केशव भट्टराई र दीपक क्षेत्रीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

फिल्मीखबर, काठमाडौं, 

नेपाली फिल्मका कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको एकसाथ राष्ट्रिय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले दुबैलाई राष्ट्रिय सम्मान दिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईलाई १५ वर्षीय छोरा मिस्क भट्टराईले दागबत्ति दिएका थिए । भने, कलाकार क्षेत्रीलाई पनि छोरा रिनेश बस्नेतले दागबत्ति दिएका थिए ।
कलाकारद्वय भट्टराई र क्षेत्रीलाई श्रद्धाञ्जली दिनका लागि दिउँसो चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको थियो । उनीहरुलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसँगै नेपाली फिल्मका कलाकार, निर्माता, निर्देशक, प्राविधिकहरु बोर्ड पुगेका थिए । त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि दुबैको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राखिएको थियो ।
दुई दिनको अन्तरमा निधन भएका कलाकारद्वयलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँगै कलाकारहरु निखिल उप्रेती, दीपकराज गिरी, दीपाश्री निरौला, कुञ्जना घिमिरे, हरिबंश आचार्य, रेखा थापा, मदनकृष्ण श्रेष्ठ, रमेश उप्रेतीलगायत पशुपति आर्यघाट पुगेका थिए । आर्यघाटमा शुभचिन्तकहरुको ठूलो भीड लागेको थियो ।
दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्री गएको शनिबार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । श्रीमती मलेशियाबाट आइतबार दिउँसो मात्र नेपाल ओर्लिएका कारण उनको सोमबार पोष्टमार्टम गरेर अन्त्येष्टि गरिएको हो । उनी पछिल्लो पटक यस वर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए ।
त्यस्तै, निर्माता तथा कलाकार केशव भट्टराईको आइतबार साँझ १०ः३० बजे हृदयघातका कारण निधन भएको हो । उपचारका लागि काठमाडौंको चाबहिलस्थित ओम अस्पताल पुर्‍याउँदा उनको निधन भएको थियो । ५४ बर्षको उमेरमा निधन भएका उनले दर्जनौँ फिल्ममा अभिनयसँगै ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’ लगायतका फिल्म निर्माण पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button