अर्काे कथा - Chautari Post Online
Thursday, May 23News That Matters

अर्काे कथा

२०७२ सालको अन्त्यतिर पटनाका पत्रकार मित्र जितेन्द्रले छत्तिसगढमा चलिरहेको कम्युनिस्ट विद्रोह भनौँ या नक्सली आतङ्कका बारेमा रिपोर्टिङ गर्नका लागि मलाई बोलाएका थिए । म आर्फैँ पनि आन्ध्र प्रदेश र छत्तिसगढमा भइरहेको घटना, जसलाई उनीहरू वर्ग संघर्ष अथवा जनयुद्ध भन्न रुचाउँथे, का बारेमा रिपोर्टिङ गर्न र सम्भव भयो भने भारतको नक्सलबारी आन्दोलनका बारेमा एउटा पुस्तक लेख्ने सोचमा पनि थिएँ । जितेन्द्र पटना (बिहार) का रैथाने पत्रकार पनि हुन् । उनको पत्रकारिता जीवन नै जनपक्षीय पत्रकारिताबाट भएको देखिन्छ । वैचारिक हिसाबले पनि उनी बामपन्थी विचार राख्दछन् । उनीसँगको सम्पर्कमा विद्रोहीहरूसँग भेट्न त्यति धेरै हम्मे पर्दैन । त्यसकारण पनि म उनलाई साथ लिएर छत्तिसगढमा चलिरहेको भाकपा माओवादीको आन्दोलनबारे रिपोर्टिङ गर्ने सोचमा थिएँ । तर पत्रकार मित्र भुपालका कारण त्यस बेला तय भएको मेरोे छत्तिसगढको यात्रा अनायसै रोकियो । पत्रकार मित्र भुपाललाई एउटा ठूलो परिवारभित्रैबाटसंवेदनशील आरोप आइलाग्यो । उक्त आरोपले म आफँै पनि मानसिक रूपमा निकै बिचलित बन्न पुगेँ ।
त्यही बेला म आफू पनि अचानक यति सिकिस्त बिरामी भएँ कि उपचार गर्ने डाक्टरले समेत एक पटक त माया मारेका थिए। कहिलेकाहीँ यस्तो लाग्छ मान्छेको आयुको रचना जन्मँदै दैवले निर्धारण गर्दा रहेछन् कि क्या हो लामो समय उपचारमा रहँदा छत्तिसगढको यात्रा छेपारोको कथा जस्तै बन्छ कि भन्ने पनि लाग्यो ।त्यही अवधिमा दुवै मृगौलाको अपरेसन, थाइराइड र सुगरको उपचारमा दौडिरहँदा छत्तिसगढको रिपोर्टिङ कथा झँै लाग्न थालेको थियो । बिच बिचमा पत्रकार मित्र जितेन्द्रसँग भने सम्पर्कमै थिएँ । भुपाल मेरो असाध्य मिल्ने साथी थियो । खुल्ला मनको, केही नसोची प्याच्च बोल्ने बानी भएको, साथीभाइलाई पर्दा जिउज्यानै दिउँला जस्तो गर्ने । नेपालमा माओवादी आन्दोलन चलिरहँदा पत्रकार साथी प्रमोद, जो आफँै मनको बाघदेखि तर्सिएर सिक्किमतिर भासिएको थियो, बस दुर्घटनामा परेर उपचारका लागि अस्पतालमा रहँदा भारतीय पुलिसले उनलाई नेपालको माओवादीको आरोप लगाएर जलपाइगुडी जेलमा बन्दी बनाएको बेला उनको रिहाइका लागि भुपाल मरिमेटेर लागेका थिए ।
अहिले भुपाल त्यही अकल्पनीय घटनाको दोषी बनेर जेल जीवन व्यतीत गरिरहेको छ । धेरै पत्रकार साथीहरू र आफन्त उसलाई भेट्न पुगे तर म भने दुई वर्षदेखि मौन रहेँ । यसको एउटा कारण थियो म कसरी उसलाई भेटूँ? उसले मलाई भेटेर के भन्ने हो? यतिसम्म कि एउटा मिल्ने साथी जो अहिले अभियुक्तका रूपमा कैदी बनेर जेलको पर्खालभित्र छ, म उसलाई पर्खाल बाहिरबाट के भनेर बोलाऊँ ? मैले चिनेजानेका मेरा गाउँकै धेरै मानिसहरू उसलाई भेटेर आएः । म भने फेरि पनि मौनबसेँ । धेरै साथीहरू मलाई भन्थे तपाईँको कुरा धेरै गथ्र्यो । एक पटक जसरी पनि भेट्न पठाइदिनू भनेर खबर पठाएको छ । तर म भने उसमाथि लागेको आरोप र हामीबिचको मित्रताको नाताको कारणले नै भन्नुपर्छ ऊसँग भेट्न सकिरहेकी थिइनँ । माघको अन्त्यको कुरा हो— मित्र वसन्तले पनि उसलाई भेटेछ । जेलबाट उसलाई भेटेर वसन्त सिधै मेरो घरमा आएर ‘तपाईलाई जसरी पनि भोलि लिएर आउनू’ भनेको छ र मैले पनि तपार्इँलाई भोलि जसरी पनि लिएर आउँछु भनेर वाचा गरेको छु भनेर सुनायो । वसन्तको कुराले म अलमल्ल परेँ । के भनौँ, के नभनौँ एउटा अक्करिलो भिरको टुप्पोमा अडिएझँै भएँ । केही नसोची हुन्छ भोलि जाउँला भनेँ । वसन्तले सुनायो अरु कोही मलाई भेट्न नआएः पनि ऊ आउँछ भन्ने लागेको थियो तर मलाई आरोप लगाउने र मेरो बारेमा गलत प्रचार गर्नेहरूकै लहैलहैमा लागेर ऊ पनि आइन्। कम्तीमा म जेलैभित्रै भए पनि एक पटक सत्य के हो भन्ने बुझ्न आउँदा के बिग्रन्थ्यो र भन्थ्यो रे ।
भोलिपल्ट भारी मन पारेर वसन्तको पछि लागेर म उसलाई भेट्न जाने हिम्मत बनाएँ । पहिलो पटक एउटा आत्मीय साथीलाई लागेको आरोप, जसको कल्पना पनि गर्न सकिँदैन उसैलाई भेट्न जाँदा यसै पनि छाती चस्कनु त स्वाभाविकै थियो । वसन्त र म कारागार पुग्यौँ । त्यहाँको नियमअनुसार भुपाललाई भेट्न प्रतीक्षालयमा बस्यौँ । त्यो दुई मिनेटको समयमा मेरो मन र मस्तिष्कमा कैयन तरङ्ग र झड्काहरूको आरोह र अवरोह चलिरहे । ऊ आयो, ऊ मुस्कुराउँदै आयो,म भेट्न नआएकोमाधेरै चित्त दुखायो, स्वास्थ्यको बारेमा सोध्यो अनि थोरै रिसायो पनि । एक पटक आउँथिस नि भन्यो । म मौन भएर उसलाई हेरिमात्र रहेँ, उसका पुरानै पाराको हप्काइ सुनिमात्र रहेँ । लामो समयपछि पुरानै पारामा दिल्लगी गरेको याद आयो । कफी मगायो । खाजा खान्छेस् भन्यो मैले निरिह भाकामा मुन्टो हल्लाएँ । मेरो मौन समयमै उसले एउटा झट्टी हान्यो ‘म अपराधी जस्तो लाग्छ ? तैँले जे सुनिस म त्यस्तैँ हुँ जस्तो लाग्छ ? मलाई त तँ चिन्छेस् नि होइन ? बाहिरका कुरा सुनेर तँ पनि एकपटक मलाई बुझ्न आइनस् होइन ! उसका आँखाबाट तप्प आँसु खसे । उसको आँसुको ढिकाले मेरो कफीको गिलासलाई स्पर्श ग¥यो । मैले थाहा नपाई पुछेँ ।
मसँगभेट्न मन नलागे पनि तँ घरका मान्छेसँग त भेट्न सक्थिस नि । तैँले पनि मलाई कसुरदारनै ठानिस होइन ?ऊ एकोहोरो बोलिरह्यो । म मौन र निरिह लवजमा सुनिरहेँ ‘यार, तँ जत्तिकै मलाई नजिकबाट चिन्ने अरु कोही छन् जस्तो लाग्दैनथ्यो तर तँ पनि हो मा हो मिलाएर बिरानो भइस् होइन काली, के म साँच्चै त्यस्तै नै थिएँ होला जस्तो लाग्यो ! मैले पनि मौनतालाई तोडेर भने ‘मैले तँ अपराधी होस् भनेको छु र ? जुन घटना भयो मलाई यो अहिले पनि सपनाभित्रको पनि सपना जस्तो लागेको छ त्यसैले त म तँलाई भेट्न आएकी त । ऊ केही नरम भयो मैले भन्दा पनि उसले मेरो सबै हालखवर सोध्यो । तर उसले मलाई पटक पटक एउटै प्रश्नमात्रै गरिरह्यो तँलाई ममाथि शंका छ ? उसको घुमाईफिराई एउटै तर्क थियो आफूमाथि षडयन्त्र भयो । जति बेला सिङ्गो परिवेशनै भावनामा बग्यो मप्रति त मान्छेको आव्रmोश मात्र थियो यदि त्यो बेला तँसम्म थिइस् भने मेरो कुरा सुन्ने एउटा मान्छे तँ हुन्थिस् होला यसपछि ऊ बोल्न सकेन भित्तातिर फर्कियो ।
रुन्चे हाँसो हाँस्यो । त्यो बेलासम्म पत्तै नपाई मेरा आँखा पनि नजानिँदो पाराले दुखिसकेका रहेछन् । त्यसबिचमै नयाँ बानेश्वर थापागाउँमा बस्दा जनयुद्ध ठिक कि बेठिक भन्ने विषयमा हामीबिच चलेको रातभरिको बहस सम्झायो । विष्णेले एक थैलो पाउरोटी र दुध खाएर रत्नपार्कमा अनसन बसेको कुरा सम्मmेर दुवै जना बेस्सरी हाँस्यौँ । अरु कैदी र उनीहरूलाई भेट्न गएका मान्छे हाम्रो हाँसो देखेर तमासले हेरिरहेका रहेछन् । उसमा कुनै आत्मग्लानी थिएन । मेरो कल्पनाको ठिक उल्टो ऊ त झन् झरिलो भएछ । मानसिक र शारिरिक रूपमा उसमा कत्ति पनि उदासिनता र अपराधबोधको झल्कोसम्म थिएन । ऊ छुट्टिने बेलामा पनि आफ्नो दलिल मसमक्ष पेस गरिरहेकै थियो म के अपराधी हुँ जस्तो लाग्छ तँलाई ?म त्यति तलसम्म झरेँ जस्तो लाग्छ ?
उसलाई भन्नुनै पो मेरो के थियो र ?फेरि पनि कुरैकुरामा भनेँ ‘अनि त्यो बेला तँैले आफ्ना कुरा भनिनस् त? उसको एउटै जिकिर थियो— मेरा कुरा सुन्ने कोही त हुनु प¥यो होला नि त । मैले अघिनै तँलाई भनिसकेँ त म बेवारिसे लासभन्दा पनि निरिह बनेको थिएँ । अब भन् मलाई कसले सुन्ने ? हाम्रो छुट्टिने समय भएको थियो । बेलाबेला आउन निम्तो दियो । उही पुरानै पारामा आफ्नो स्वास्थ्यको ख्याल गर्न भन्यो । जालीको सानो प्वालबाट हात छिराएर कसिला हात मिलायो । मैले आफ्नै पुस्तक दिएँ । पछाडि हे¥यो कि हेरेन उसले म भने रसाएका आँखा बोकेर बाटो लागेँ । थाहा छैन अहिले ऊ के गर्दै छ ?उसलाई भेट्न को को जाँदै छन् ?
मान्छेका धेरै सपनाहरू हुन्छन् । कति सपनाहरू फेरि सपना बन्छन् त कति सपनाहरूलाई मान्छेले विपनाको चाहनामा आफूसँगै दौडाउन चाहन्छ होला तर मेरो एउटा सपनाभित्रको सपना भनेको छत्तिसगढको माओवादी विद्रोहकै कथा हो । आफ्नो यो सपना पुरा गर्नलाई भुपाललाई भेटेर आएकै रात पटनाका मित्र जितेन्द्रलाई फोन सम्पर्क गरेर सोह्र तारिख पटना आइपुग्ने बताएँ । लामो समयपछिको मेरो यात्राको निधो सुनेर उनी पनि सपनामै परे जस्तो गरे । उनले आफ्नै लवजमा भने– उषाजी ये तो सपनाका बात तो नही हे न ? मैले उनलाई भनेँ– नही यार, ये बिपनाका ही बात हे । उनी निकै खुसी भएर विद्रोहीसँग सम्पर्क गरेर मलाई स्थलगत रिपोर्टिङको व्यवस्था मिलाउन लाग्ने बताए ।
म पन्ध्र तारिख साँझ जलपाइगुडी रेलवे जक्सनबाट मालदह एक्सप्रेस चडेर पटनाको यात्रामा निस्किएँ यो मेरो दोस्रो पटना यात्रा थियो । योभन्दा अघि पनि म एक पटक नितिसकुमार मुख्यमन्त्री भएपछि त्यहाँको विकास निर्माणको रिपोर्टिङका लागि गएकी थिएँ । जितेन्द्रलाई मैले राजेन्द्रनगर जक्सन बिहान ६ बजे आइपुग्ने जानकारी दिएँ । मालदह एक्स्पे्रसले राम्रै यात्रा गरायो भन्नुपर्छ । अक्सर बिहारको यात्रा अलि भिडभाडै पनि हुन्छ । छोरी मान्छेलाई आँखा नदाग्ने यात्रा विरलै पनि होला । जलपाइगुडीदेखि राजेन्द्रनगर जक्सनसम्मको यात्रामा मलाई पनि कुमले, कम्मरले, आँखा र ईशाराले छुन खोज्नेको कमी थिएन । रिजर्भेसन सिट भए पनि ठाउँनभएको बहानामा ढेसिन र कुहिनाले छाती र कम्मरले चाक छुन खोज्नेहरूको कमी थिएन । धेरै पटक भारत र नेपालको यात्रा गरिसकेका मेरा पुराना यात्राका अनुभवले मलाई यस्ता कुराको खासै फिकर पनि थिएन । एक पटक जलपाइगुडीदेखि तेजपुर जाँदा कोव्रmाझारमा एउटाले निदाएको बहानामा सुस्तरी छाती सुम्सुमाउने हुदाँ तोरीको फुल देख्ने गरी झाप्पु भेटेको थियो । त्यही वर्ष काठमाडौँबाट बिरगन्ज जाँदा पथलैयामा छेउको सिटमा बसेका भलादमीले बिस्तारै गालामा गालो टसाउने हुँदा नाक भाँचिने गरी भेटेका थिए । तर, यस पटकको पटना यात्रामा भने कसैले केही भेट्ने अवसर पाएन ।
माघ सकिँदो फागुन लाग्दो समय भए पनि पटना हुस्सुकै सिरकभित्र थियो । तोकिएको समयभन्दा पन्ध्र मिनेटअघि नै मेरो गन्तव्य आइपुगेको थियो । रेल राजेन्द्रनगर रेलवे जक्सनमा रोकियो । म आफ्ना कुम्लाकुटुरा बोकेर झरेँ । यहाँनिर मैले भन्नै पर्छ जलपाइगुडीदेखि राजेन्द्रनगरसम्मको त्यो रात्री मालदह एक्सप्रेसको यात्रामा म जुन विषयको रिपोटिङको लागि गएकी थिएँ, त्यसैका विषयमा खुलदुली रहेको थियो । मलाई विद्रोह आखिर किन मान्छेहरूले गर्न पुग्छन्, विद्रोह नै किन गर्नु, सबैका मन सबैसँग मिलाउने हो भने यो जगत् कति सुन्दर हुन्थ्यो होला । विद्रोह र आतंकका बारेमा मानिसहरूका आ–आफ्नै व्याख्या र विश्लेषण अनि सम्झदै आएँनास्तिक र आस्तिकका आ–आफ्नै बहसहरू छन् । सृष्टिको रचनामा मानिस जब बनाइयो उस्तै अर्को मानिसलाई कसरी उसलाई माया गर्नुको बदला मार्छ, मिलाउनुको सट्टा बिगार्छ, अपनाउनुको साटो त्याग्छ आखिर किन होला ? यस्तै यस्तै तर्कनाकै लहरमा राजेन्द्रनगर जक्सन आइपुगेकी हुन्छु ।मित्र जितेन्द्रले जक्सनमा लिन आउँछु भनेका थिए तर योभन्दा पहिला पनि म उनको कोठामा पुगेकी हुँदा किन दुःख दिनु भन्ने लाग्छ र उनलाई फोन गरेर आफू आइपुगेको र लिन नआउनू भन्छु भनेर पश्चिम बंगालका पत्रकार साथी आशुतोष घोषले जलपाइगुडीमा दिएको हातेफोनबाट जितेन्द्रलाई फोन गर्छु । निक्कै बेरसम्म उनको फोन उठ्दैन । रातभरिको दैनिक पत्रिकाको काम, फेरि उनको रातीको थोरै बिजुलीपानी लाउने आदतको कमाल होला जस्तै लाग्दै थियो तर एकछिनपछि उनैले फोन गरे आत्तिएको स्वरमा भने— उषाजी आप कहाँ पर हे ? मैले भनेँ— हम तो जक्सनपर हे, आप मत आइए ।हम खुद पुरा भन्न नपाई उनी फेरि भन्न थाले— नाइँ नाइँ, मै आरहा हुँ, जक्सनपर रुकिए, यहाँपर थोडा एक्सिडेन्ट हुवा हे, मै आरहाहुँ । हुस्सुले पटना पुरा छोपे जस्तो थियो । गंगाको चिसो सिरेटोले थर्थरी पारेको थियो । मलाई लाग्यो कतै केही सामान्य सवारी साधनको दुर्घटना भयो होला । यस्तै अड्कल गर्दैगर्दा जितेन्द्रको फोनको घण्टी आयो । मैले जक्सनको देब्रेपट्टि राय चिया दुकानमा छु भनेर आफ्नो ठेगाना सुनाएँ । उनी पनि आइपुगे केही हतासमा थिए ।
सधैझँै कसिला हात मिलाए, दाह्री मुसारे, छेउमा बसे, चिया मागे । मैले उनलाई अघिको घटना के भएको भनेर सोधेँ । उनले भने— चाय तो पहिले पिइएन उषाजी । चिया खाइसकेपछि फेरि सोधेँ— क्या हुवा था, आप तो एक्सिडेन्ट बोला था ? उनले फेरि भने— अरे यार, इतना ठण्डा हे, पहिले मेरे रुममे तो चलिए,उसके बाद बताउँगा क्या हुवा था । हामी उनको कोठातिर लाग्यौँ । बिहानको सात बजिसकेको थियो, पटना सिटीभरि ठुलासाना गाडीको हल्ला सुरु भइसकेको थियो । कोठामा पुगेपछि उनले मेरा पोकापतेरा मिलाई दिए । म बाथरुमतिर लागेँ । नित्यकर्म सकेपछि फेरि सोधँे आखिर भएको के रहेछ भनेर । केही नभई त उनले मलाई भनेनन् । उनलाई मैले सोध्न मात्रै के लागेकी थिएँ उनी आफँैले भने— एक आदमीका मौत हुवा था, दिनापुर रोडके साइडमे लेकिन आदमीको पहिचान नही था, पुलिसके मुताबिक ऊ नेपालका हे, उसके पाकेटमे एक जेरक्स पेपर मिलाथा शायद वो सिटिजनसिपका जेरेक्स हे नाम था संघर्ष क्षत्री सिर्फ इतना मिला लेकिन उषा जी उसके थोडा बगलमे एक छोटासा डायरी था, वो डायरी हमने लिया, मेरे ख्याल से वो उस आदमीके हे जितेन्द्रले आफ्नो ब्यागबाट एउटा थोत्रो डायरी निकाल्दै भने— देखिए तो नेपालीमे हे, आपतो समझलेंगी न, मलाई दिए ।मैले डायरी हेरेँ । डायरीको कभरको भित्रपट्टिनै संघर्ष भनेर लेखिएको थियो र दुई पाता छोडेर लेखिएको थियो । कथा आफ्नै जिन्दगीको । मैले जितेन्द्रलाई भनेँ त्यही मरेको मान्छेको डायरी हो । उसलाई मैले भनेँ कसरी तिमीले फेला पा¥यौ त? उसले भन्यो लासदेखि केही पर थियो । सडक छेउमै मरेको हुँदा तुरुन्तै पुलिस आएर उठाएर लग्यो म पनि त्यही बेला त्यहाँ पुगेको थिएँ । शायद पत्रकार भएरै होला मेरा आँखा कताकता डायरीमा परे । केही हो भन्ने लाग्यो अनि ब्यागमा हालेँ ।
मानिसको मृत्यु यसैपनि दुखदनै हुन्छ त्यसमाथि नेपाली भनेपछि कता कता पोल्छ नै । रातभरिको रेलको धङ्धङे बुझेर होला जितेन्द्र सुत्न अनुरोध गर्दै उनी किचनतिर लागे मेरो मन कसरी मान्थ्यो र, जो मरेको छ ऊ नेपाली हो फेरि साथमा डायरी छ अनि लेखेको छ कथा आफ्नै जिन्दगीको उसको डायरी पल्टाउन सुरु गरेँ।
‘कथा आफ्नै जिन्दगीको ’
जितेन्द्र आफ्नै धुनमा गुन्गुनाउँदै भान्सामा व्यस्त भए । मलाई एक कप तातो चिया ल्याएर दिँदै भने– क्या उस आदमीका ही ये डायरी हे? कुछ मिला है उषाजी? मैले मुन्टो मात्र हल्लाएर सांकेतिक उत्तर दिएँ । उनी फेरि भित्रकै ध्याउन्नमै लागे । सायद उनलाई एक नेपालीको मृत्यु र यो डायरीसँग त्यति सम्बन्ध र चासो थिएन जति मलाई थियो । हो पनि आगोले पोलेको मान्छे र झण्डै पालेको मान्छेमा फरक त पर्ने भैगयो नि ।
हामी दुवैको पूर्व सल्लाह अनुसार आज हामी ९ बजे छत्तिसगढको यात्रामा निस्कनुपर्ने कार्यव्रmमको तय भएको थियो । जितेन्द्रका अनुसार कमरेड अन्जान र कमरेड आभा हामीलाई लिन सन्त माइकल स्कुलछेउआउने छन् र हामी उनीहरूसँगै जानुपर्ने कार्यव्रmम थियो । यता म भने त्यो मृत्यु भएको नेपाली र उसैको डायरीमा पत्तै नपाई बाँधिएकी मात्र थिइनँ, कस्सिनै सकिएकी थिएँ । जितेन्द्रले केहीबेर बाहिर गएर आउने संकेत गरे । मैलेपनि मुन्टो हल्लाएर स्वीकृति जनाएँ । मेरो एउटै ध्याउन्न त्यही डायरी थियो, त्यही डायरीमा म डुबिरहेको थिएँ । मैले डायरीका पन्ना पल्टाउँदै गएँ । त्यो डायरीका पाना कहिले रिसाउँदै त कहिले चिच्याउँदै, कहिले उत्सवमा त कहिले चित्कारमा अनि कतिकति बेला जितको उन्मादमा र थाहै नपाई हारको थकानमा पल्टिरहेका थिए । बेलाबेला जितेन्द्र आएर सोध्दथे– क्या कुछ मिला है उषाजी?
डायरीका प्रत्येक पानामा उसको यात्रा दौडिरहेको थियो । जीवन भोगाइका असरल्ल सपनाहरू बरालिएका थिए । जिउनुको सार्थकता र संघर्षका आरोह र अवरोहहरू सल्बलाइरहेका जस्ता लाग्थे । समर्पण त मुक्ति र विद्रोहमा मात्रै लागु हुन्छ भन्ने उसको चट्टानी जिकीर र दलिल डायरीका पानाले बोलिरहेका थिए । जितेन्द्र बाहिरबाट भित्र पसे, र भने– चलिए उषाजी, दोनो कमरेड आ चुका हे । मैले उनलाई मौनतामै छत्तिसगढको यात्रा रद्द भएको संकेत गरेँ । उनले कुरो नबुझेजस्तो गरेर फेरि भने– उषाजी आप कौन सा दुनियाँ मे है? आपका सपना पुरा होने वाला है । म किंकर्तव्यविमुढ भएँ किनकि यो समयसम्ममा म कथा आफ्नै जिन्दगीको यात्रामा तयार भएकी थिएँ भने छत्तिसगढको रिपोर्टिङको यात्रालाई मैले थाती राख्ने निधो पत्तै नपाई गरिसकेकी थिएँ ।
दिनापुरको सडकमा पटनाका पत्रकार मित्र जितेन्द्रले भेटेको डायरी साँच्चै नै एउटा जिन्दगीको कथा थियो । संघर्षको संघारमा विद्रोहको मसाल बोकेर न्याय, समानता र स्वतन्त्रताका लागि गरिएको एउटा विद्रोह, निराशा र आक्रोशको पुञ्जपनि थियो । त्यतिमात्र हैन, न्यायपूर्ण युद्धको नाममा मुक्ति, स्वतन्तत्रा र समानताको नारा उचालेर सत्तामा पुगेर एउटा निश्चित स्वार्थी समूहले गरेको राजनीतिक बेइमानीबाट शारीरिक र मानसिक रूपमा थलिएको जिन्दगीको गुम्सिएको अभिव्यक्ति पनि थियो । मैले दुःखका साथ जितेन्द्रलाई आफ्नो छत्तिसगढको यात्रा केही दिनका लागि थाती राख्न बाध्य भएको बताएँ । उनी तीन छक्क परे । लामो समयदेखिको मेरो छत्तिसगढ रिपोर्टिङको तीव्र मोह छत्तिसगढ यात्राको निकटमै अचानक रोकिन पुगेको देखेर उनी चकित भए र प्रश्न गरे– अरे उषाजी, एसा क्या आश्र्चय हे कि छत्तिसगढ के विद्रोहका रिर्पाेटिङ तो सपना जैसा था फिर क्यों अचानक एसा हुआ ? मैले दिनापुर सडकमा भएको बेवारिसे लास, यो डायरी र मेरो सम्बन्धका बारेमा उनलाई बताएँ र भनेँ– माफ किजिए दोस्त जितेन्द्र, हमको छत्तिसगढ नहीं नेपाल जाना जरुरी है, फिर दुसरा बार मिलेंगे । जितेन्द्रले भेटेको यो डायरी र दिनापुर सडकमा उसले देखेको लास अनि मेरो त्रिकोणात्मक सम्बन्धका बारेमा मैले जितेन्द्रसँग बेलीविस्तार लगाए । यो कथाले उनीपनि चकित मात्रै होइन, छाँगाबाट झरे झँै भए । दिनापुर सडकको लास भनौं वा यो डायरीको मुख्य पात्र, जो स्वयं यो कथाको लेखक छ, ऊ मेरो बालसखाको साथीमा होइन मेरो जीवन, मेरो नजानिँदो तर म आफँैले मनमा साँचेको हराइरहेको एउटा जीवनसाथी पनि थियो जसलाई म आफ्नो जीवनको यात्राको एउटा भरोसायोग्य साथी बनाउने उद्देश्य बोकेर उसैको पर्खाइमा अनि ऊ आउँछ भन्ने दृढ विश्वासमा बाँचिरहेकी थिएँ । ऊ त्यही मान्छे हो जसको आज बेवारिसे लासको रूपमा गंगा किनारमा दाहसंस्कार गरियो । म त्यही दिन नेपाल फर्किएँ । जितेन्द्र मलाई सम्झाउँदै बुझाउँदै पटना बस स्टेन्डमा हात हल्लाउन आएका थिए । मेरो डायरीको सबै कथा मैले जितेन्द्रलाई उनले बुझ्ने भाषमा सुनाएँ । मेरो यो कथा सुनेर उनी पनि विक्षिप्त बनेको आभास हुन्थ्यो । मलाई सिलिगुढीको टिकट काटी छुट्टिनुअघि उनले भनेका थिए, उषाजी हम इस सत्य कहानीको हिन्दी भाषा में एककिताब लिखेङ्गे यदि आप इजाजत देते हो तो । मैले स्वीकृतिको मुन्टो हल्लाएँ, उनी भारी मनका साथ मबाट छुट्टिएको प्रत्यक्ष आभास भयो, किनभने सधैं भेट्दा र छुट्टिँदा कसिलो हात मिलाएर आफ्नो दाह्री मुसार्ने मित्र जितेन्द्र आज भने आँखाको भाषामा मौनतामै छुट्टिएका थिए ।
म पटनादेखि सिलिगुडीको बसको रात्री यात्रामा छु । सिङ्गो आकाशले मलाई थिचेजस्तो भएको छ, दुनियाँका जतिपनि पीडा र व्यथा हुन्छन् ती सबै मेरो छातीभित्र आएर एकमुष्ट चोटको हुकुमी शासन गरिरहेका छन् । सारा संसारले मलाई निरिहताको सूचकको रूपमा हेरिरहेको छ । म आफूलाई आफैदेखि त्यति धेरै दिक्क लागेको छ, जसको कुनै सीमा छैन अर्थात ऊ त मरेर लास भयो उसको खरानी गंगाको पानीमा ढलपलाउँदै कैयौं क्षितिजभन्दा पर पुगिरहेको छ तर म जिउँदो लास बनेर अन्तरमनमै आँसुको भुलभुलेमा मौन चित्कारको भूमरीमा फन्को मारिरहेको छु । झिसमिसेमा किसनगंज आइपुगेछ, गाढीका परिचालकले किसनगंज आएको संकेत ग¥यो, म त्यही ओर्लिए, त्यहाँबाट बल्लतल्ल गलगलीया जाने एउटा ट्याम्पो भेटे, त्यसले पनि मान्छे नभरी नलादो रहेछ, बल्लतल्ल चारजना भइयो, धेरै कर गरेपछि मात्र टेयाम्पो चालक राजी भयो र हिड्यांै । गलगलीयाबाट भद्रपुर जानलाई मेचीको पुल भर्खरै बनाउन शुरु गरेको रहेछ, धेरै पटक सिल्यान्यास र अब बन्छ भन्ने हल्लाले थाङथिलो परेको योजना यसपाली चाँही बन्ला कि जस्तो छनक देखिन्थ्यो त्यस पुलको पनि, मेरो जस्तो जीवनको कथा र यात्रा त्यो मेची पुलको पनि झण्डै झण्डै त्यस्तै रहेछ । तर मेरो जिन्दगीको कथाभन्दा त्यसको कथा अलिक फरक थियो, ऊ हेर्दा थाङथिलो भएपनि ऊ मरेको थिएन, मेरा भने सबै सपना र विपनामाथी तुसारो परिसकेको थियो, आशा र अपेक्षामा कुहिरोले ढाकीसकेको थियो अनि जिवन आफैमा सुवास विनाको फूल र जिवनको गति शोकमग्न यात्रीजस्तो भएको थियो । बिहान ८ बजे यही मेची पुल थिचोलेर भद्रपुर पुगे, बसको यात्रा मेरो लागि निकै नै कठिन हुन्थ्यो, भद्रपुर एयरपोर्टमा पुगेर ११ बजेको हवाई उडानमा काठमाण्डौं जाने सोचमा परेकी थिएँ, अचानक झापाली पत्रकार अशोकको फोन आयो उनले फोनमा हतारिदै भने– उषा जी कता हुनुहुन्छ? संघर्षको खबर थाहा पाउनुभयो? मैले अवाक बनेर सोधेँ, के संघर्ष अझै छ? उसले भन्यो– ऊ त पटनामा रहेछ, आजको इण्डियन दैनिक अनलाइनमा जितेन्द्रले लेखेको समाचारमा संघर्षको मृत्यु भएको थाहा पाएँ, मेरो छातीमाथी पहाडले थिचेजस्तो भयो, मरीतरी उसलाई जवाफ फर्काए,अँ, मैलेपनि थाहा पाएँ । उसलाई के लाग्यो, एः हुन्छ त भनेर फोन काट्यो ।
बाल्यकालदेखि उसको डायरी मेरो हातमा परुन्जेलसम्मका दिनहरूलाई सम्झदै मेरो एकवर्ष वित्यो, जुन डायरी मैले पटनामा जितेन्द्रको हातबाट भेटेकी थिएँ, त्यो डायरीको लेखनीको अन्त्यमा रातो मसीले लेखिएको थियो “कुनैदिन तिम्रा हातमा यो डायरी परेछ भने मलाई होइन डायरीको कथालाई हेरेर तिमीले अर्काे कथा लेख्नसक्ने छ्यौं जहाँ तिम्रो कलम र विचार स्वतन्त्रतापूर्वक कावा खादै आकाशमा उड्न सक्नेछ, उषा तिम्रो प्रतिक्षामा छ अर्काे कथा” मैले एकवर्षको समय यही डायरीका पानाहरूसंग अलिक बढी विताएँ, विताउनु मेरो कर्मपनि थियो अनि लक्ष्यपनि थियो, जसरी उसले डायरीको अन्त्यमा अर्काे कथाको अपेक्षा गरेको थियो मैले यो अर्काे कथा लेख्नु उसमाथी न्याय गर्नु र स्निग्ध हृदयबाट ऊ प्रति साँचो श्रद्धाञ्जली नमन गर्नु हो भन्ने लागेर “अर्काे कथा” लेखनीको काम आदी र अन्त्य गरेँ । म ती मान्छेहरूलाई सम्झन्छु ध्वंस विना निमार्ण हुँदैन भन्ने सैद्धान्तिक विचारलाई मूलमन्त्र झै बार बार जपेर टाउकामा कफन बाँधी रणमैदानमा लेफराईट गर्दै मुक्तिको झण्डा फहराउने दृढ संकल्प गरेका मान्छेहरूलाई सम्झने दिन पनि भन्छन्, एउटा युद्ध उत्सव पनि भन्छन्, निचोडका लागि गरिएको हार न जीतको सम्झौता पनि भन्छन् थाहा छैन कसको रचनामा कस्तो कथा कसरी लेखिन्छ यो जगतमा अनि कुन पात्र कतिखेर कस्तो भूमिकामा प्रकट हुने हो? विविध रंग र रोगनमा ठम्याउन गा¥हो छ । मैले लेखी सिध्याएको अर्काे कथाको भूमिकाको प्रारम्भमा लेख्छन् जनपक्षीय लेखक तथा पत्रकार जितेन्द्रनिरन शर्मा । वास्तवमै अर्काे कथा नामक यो पुस्तकको भूमिका लेख्न अनुरोध गर्दै म उनकहाँ पुग्दा एकवर्ष अगाडी भेटेको डायरीमा उसले पटक पटक भने झै “यहाँ क्रान्ति र शान्तिका नाममा परिवर्तन र समानताका विषयमा अधिकार अनि अपनत्वको बारेमा धेरै पटक नाटक गरिए, गरिन्छन् र गर्दै जानेछन् तर फगत हुनेखाने जमातहरूकै जन्मजातको विर्ता जस्तै हुनेछ यहाँको सत्ता, हुनेखानेमानवरूप जस्ता मात्रै देखिने ती मान्छेहरू त केवल सधै रमिते नै बन्नेछन् अनि मर्ने र पोचिने पनि तिनीहरू नै हुन् । यस्तै आक्रोश पोखेथे यो पुस्तकका भूमिका लेख्ने शर्माले पनि मैले पटनादेखिको सम्पूर्ण वृतान्त आख्यान उनलाई सुनाएकी थिएँ, संघर्षसंगको सानिध्यता र ऊ प्रतिको मेरो एकोहोरो गुम्सीएको प्रेम अनि जितेन्द्रका हातबाट पाएको डायरी आफैमा एउटा कथा त छदै थियो, डायरीको अन्त्यमा उसले लेखेको शब्दबाट पनि थाहा हुन्थ्यो, ऊ पनि म प्रति कतै न कतैबाट प्रेम गर्दाेरहेछ अनि कुनै न कुनै रात मलाई सपनामा देख्दो रहेछ भन्ने ।
हरेक दिनहरू महत्वका दिनहरू हुन्छन् तर आजको दिन मेरालागि विशेष महत्वको छ, जसलाई विविध कारणले सशरीर मैले जिवित रूपमा पाउन नसकेपनि ऊ प्रति कञ्चन हृदयबाट श्रद्धाञ्जली स्वरूप उसको सपनाको थुप्रोमा एउटा सानो अञ्जुली अपर्णको कामसम्म गर्नेदिन भएकाले पनि आज कताकता म रुदारुदै हाँसेजस्ती भएकी छु । आज उसले देखेको एउटा सपना जसोतसो मैले पुरागरे जस्तो लाग्छ अर्थात आज “अर्काे कथा” को विमोचनको दिन उसैको सपनाको थुप्रोबाट, उसैको जिवनको यात्राबाट अनि उसले नै हेरेको उसको आफ्नो जिवनबाट अर्काे कथाका केही पानाहरू यसरी पल्टिन्छन् ।
हुदा खाने र हुनेखानेको बीचको खाडल, उस्तै उस्तै मान्छेबीच उच्च र निचको अकरिलो पहाड, हुकुमी शासन, दमन, हिंसा र अत्याचार अर्थात जब सिंगो एउटा समाज राजा र कमराहरूको जस्तो देखिन्छ कसरी चुपचाप बस्न सक्छन् कुनै मनहरू ! जब आँखाले देखिन्छ मान्छेहरूका रोदन अनि मनले स्पर्श गर्छ तिनीहरूका चिच्याहट र बेदानहरूलाई कसरी थामिन्छन् दिलहरू ! जब चिन्तन गरिन्छ कुनै विषय र वस्तुको चोटैचोट भेटिन्छन् मानिसको हृदयमा जो सदियौंदेखि कसैको गुलाम बनेर बाँचेजस्ता मात्र भएर बाँचेका हुन्छन् अनि कसरी बोक्न मान्दैनन यी हातले बन्दुकहरू? अनि कसरी बदल्न चाहदैन यो अन्धकारलाई यही सूर्यले उज्यालो बनाउने लक्ष्य बोकेर अनि किन गर्दैनन् यी खुट्टाहरूले परेड खेल्न !
रत्नराज्य क्याम्पसमा पत्रकारिताको स्नातक तहमा अध्ययन गर्दागर्दै कमरेड विक्रमसंग जब भेट हुन्छ दुईचार दिनपछि वहाँको संगतले अनयास म मा पनि यी तर्कनाहरू जन्मन पुग्छन् तर्कका लागि तर्कमात्र नभएर सत्यको धरातलमा नजर डुलाउदा पनि चारैतिर शोषण, दमन र अत्यचारको बाढी चलिरहेको देख्दा मेरोपनि मन कसरी थामिन्थ्यो र? कमरेड विक्रमसंग मेरो भेट भएको केहीदिन पछि नै म तत्कालीन विद्रोही पार्टी भनिनेमा पूर्णकालिन कार्यकर्ता भएर पश्चिम क्षेत्रमा खटिइएको थिएँ, युद्धको समयमा धेरै साथीहरूले जिवनको बलिदान गर्नुभयो, आफु संगसंगै एउटै परेडमा एउटै लक्ष्य र उद्देश्य प्राप्ती गर्नका लागि लेफराइट गर्दाका साथीहरू गुमाउदाको पीडा त सम्झिसक्नु छैन । फेरिपनि मुक्ति र विद्रोहको महासंघारमा हेलिएका राता मान्छेहरूका लागि हाँस्दा हाँस्दै रुनु र रुदारुदै रुनुमा सामान्य हुदोरहेछ । मलाई थाहा छ हामीले गरेको जनमुक्तिको विद्रोहमाा कयैन आमाका काखहरू रित्तिए, चेलीहरूले माइती गुमाए, माइतीका चेलीहरू हराए, सिंदुर पुछिए, धेरै हाम्रा भाइबहिनीहरू छोराछोरीहरू टुहुरा र टुहुरी बनिएः तर मन थाम्नु छ हामीले यसरी हाम्रो यो मुक्तिको संग्राम सदियौको हुकुमी शासनको अन्त्यका लागि थियो, वर्षाैदेखिको सामन्ती किल्लालाई सधै सधैका लागि निर्मूल पार्नका लागि थियो । एकक्षण धक फुकाएर रोएर सधैका लागि सबैले दिल खोलेर हास्नका लागि थियो । मेरो परिकल्पनामा हाम्रो विद्रोह यस्तै थियो । समय क्रममा हाम्रो विद्रोहले सगरमाथाको उचाईसंग मितेरी साईनो गाँस्दैथियो, जनताका छोराछोरीहरू आफ्नो बलिदानलाई जनताको सत्तासंग एकाकार गर्दैथिएः मुक्ति खातिर बलिदानी हुन हामी लामबद्ध थियौं शिरमाथी कात्रो बाँधेर जनमुक्तिको रणमैदानमा उत्रन हामीलाई गर्व लाग्दथ्यो तर समयले यस्तो मोड लियो कि एउटा रातो कथाभित्र अनेकौं कथाहरू रचिन पुगे यो वा त्यो का नाममा साँच्चैनै हाम्रो सौर्यलाई तुषारोले ढाक्ने प्रयत्न भयो तथापी हामीले पाएको प्राप्तीलाई सन्तोष नै मान्यौं र त्यही पाएको धरातलमा उठेर अरु पाउने अभिलाषाका साथ एकपटक हामीले भन्नै पर्छ हारको न जीतको सम्झौता ग¥यौं ।
युद्ध र प्रेममा सबैकुरा जायज हुन्छ भनिन्छ लाग्छ कताकता यो भनाई ठीकैपनि तर हामीमाथी सम्झौताका नाममा नाजायज भईसकेको रहेछ । जे बनाउन चाहान्थ्यौं त्यो भत्काउनु परेजस्तो लागेको छ अनि जे भत्काउन चाहान्थ्यौं त्यो बनाएछौं जस्तो लाग्छ । न जिवनका सपनाहरूलाई कहिल्यै सम्झ्यौं उमेरका जवानीका रंगीन इन्द्रेणी रंगहरूलाई सधै फिका बनाउदै न थालको अपेक्षा ग¥यौं न शिरानीको अपेक्षा ग¥यौं हाम्रो अभिष्ठ त त्यही थियो निर्धा र निमुखा मानिसहरूका कलेटी परेका

ओठहरूबाट निस्किएको मुस्कानलाई एकपटक मनदेखि नै हेर्ने चाहना यो नै थियो हाम्रो लक्ष्य र उद्देश्य पनि । जसले नेतृत्व गरे उनीहरू नै नेता बने सायद दुनियाँको राजनीतिको नियम नै यस्तै हुन्छ होला अघि लाग्ने सधै अघि अघि नै पछि लाग्ने सधै पच्छ्याई नै रहने आफ्नै पार्टी र संगठन भित्रपनि वाकपटुक र कामचोरहरूको भीड बढ्यो, हराएकाहरू विलाएर गएः कसैले खोज्ने त के सम्झने पनि प्रयास गरेन, पार्टी सरकारमा पुग्यो शहिदका सपनाभन्दा सत्ता नै प्यारो बन्यो, हिजोका ती कठिन घडीमा गाँस कटाएर सातु चामल दिनेहरूभन्दा आफ्नो ओछ्यान छोडेर रातविरात बाटो देखाईदिनेहरू भन्दा हाम्रा लागि नयाँ मालिक र साहुजीहरू प्यारा भएः हिजो संगै कदम चालेका मानिसहरूभन्दा कुचाल र षडयन्त्रको गोटी चाल्नेहरू आफन्त बने सुस्तरी हाम्रो आर्दशमा घुन पुत्ली लाग्यो, दर्शन सिद्धान्त र विचारमा धमिराले अड्डा जमायो, बोली र व्यवहार तमोर र लालसागर जस्ता दुर भएः वर्गीय प्रेम त अझ क्षितिज वारी र पारी भयो । शरीरमा लागेका गोलीका छर्राहरू मेरा युद्ध मोर्चाका कोसेलीजस्ता भए, पटक पटक उपचारका लागि हेडक्वाटर धाउदा कसैले चिनेनन् नयाँ मान्छेहरूको भीडमा म थोत्रो र पुरानो मान्छे विरानो भए, हुने केही भएन् नहुने सबैथोक हुँदै गयो, पटक पटक केन्द्रलाई गुहारे तर कतैबाट सुनुवाई भएन, आर्दश विचार सिद्धान्त र निष्ठाहरूमा लागेको डढेलोले देखेर मेरो मन जलिरहदाँ मलाई पागलको उपाधी थपाईयो, महिनौदेखिको खोक्रो पेट भर्ने उपाय खोज्ने भन्दा बरु चरम डिप्रेसनको रोगी बनाएर राँची ल्याउने काम गरियो । पागल म थिइन, म पागल नै होइन, पागल त तिनीहरू हुन जो सद्धेलाई पागल बनाउछन्, रातोलाई छिर्केमिर्के पार्छन्, दिनमा सफेद लुगा लगाएर भजन र किर्तन गर्छन् अनि रातमा आमालाई बेचेर श्रीमतीलाई क्रिम पाउडर किनिदिने योजना बनाउँछन्, आफ्नो आत्मालाई पराईका सामु समर्पण गर्दै मुल्य र मान्यतामाथी बलत्कार गर्छन अनि लाच पचाएर स्वभिमानका भाषाहरू भुक्ने गर्छन्, पागल त तिनीहरू हुन जो आफुलाई पागल छु भन्ने जान्दा जान्दै सद्धे भएको नाटक गर्छन् अनि हजारौं का अगाडी मुक्ति र विद्रोहको तमासा देखाएर मालिकका सामु घुडाँ टेकेर विन्ती गर्ने गर्छन् ।
आज म यी गुम्सिएका अभिव्यक्तिहरू राँचीको मानसिक अस्पतालको एउटा अध्याँरो कोठाको कुनाबाट लेखिरहेको छु, दार्जिलिङ सिलिगुडीका बंगाली भाई तपन रायले दिएको डायरी र कलम मेरालागि ठूलो मित्र बनेका छन्, राष्ट्रियता र भाषिक हिसाबले उनी म भन्दा पृथक भएपनि सायद तिनले मेरो पीडा र भाषा अनि सत्यतालाई दिमाले होइन दिलले बुझेछन् क्यार त्यसैले उनले मलाई बाहिरबाट भएपनि किनेर ल्याएर उपहार छोडेर गएका छन् तर एउटै भाषा र एउटै राष्ट्रियता मात्रै एउटै सपना र एउटै यात्रामा काँधमा काँध र मनमा मन मिलाएर एउटै लक्ष्यमा पुग्ने उद्देश्य बोकेकाहरूले मलाई दिमागको बिमारी बनाएर यहाँ अघोषित कैदी बनाएका छन् । कहिले काँही त लेख्दा लेख्दै यति धेरै आक्रोस र दिक्क लाग्छ यदि त्यो साँचो ज्वालामुखी भईदिदो हो त आफै जलेर भस्म खरानी हुन मन लाग्छ । शरीरभरी लागेका गोलीका छर्रा घरमा भएका बृद्ध बा र आमा भू–कम्पको दुई झड्कामा त्यही थोत्रो घरभित्र हराउँदाको पीडा सहयात्रीहरूले मझधारमा छाडेर आफुमात्रै किनार लागेको प्रपन्च, सयौंको बलिदानी र जिवन उत्सर्गलाई खिल्लीको पात्र बनाएको पीडा अनि रत्नराज्य क्याम्पसमा अध्ययन गरिरहदा आफु एक अब्बल खोज पत्रकार बन्छु भन्ने उद्देश्यमाथीको तुवालो यी साराको संगम बनाएर हेर्छु आक्रोसै आक्रोस र व्यथा नै व्यथाको हिमचुली बनेजस्तो लाग्छ । आज २६ जनवरी भारतभरी गणतन्त्र दिवसको उत्सव चल्ने दिन यो अस्पतालमा पनि विशेष कार्यक्रम हुने सुचना भएको छ । तीनवर्ष देखि निरन्तर एउटै कालकोठरीमा मानसिक रोगीहरूसंग बस्नुको पीडाबाट उम्कन प्रयन्तमा हिजोदेखि नै अनेक जुक्ति लगाउदैछु । युद्धकालमै युद्धपत्रकारिताको सिलसिलामा एकपटक घोराहीमा देखाउदा मुटुमा समस्या हुनसक्ने डाक्टरले बताएको थियो, स्वास फेर्न ५४–५५ सालदेखि नै निक्कै गा¥हो भएको थियो ३÷३ पटकको गिरफ्तारीमा दिइएको यातना नै मेरालागि काफी थियो तर देश र जनताको पक्षमा लेखिरहदा यातनाका ती आङ्ग नै सिरिङ्ग हुने दुखाईहरू मलाई त्यो बेला आनन्द झै हुन्थ्यो । तर एउटा सद्दे मान्छेलाई पागलको पगरी गुथाएर ३÷३ वर्षसम्म प्रवासका अस्पतालमा ल्याएर वेवारिसे लास छोड्नेहरूलाई सोध्न मन लाग्छ– एः मान्छेहरू हो तिम्रो शब्दकोषमा पाप र अपराधबोध भन्ने शब्द कहिलेदेखि हरायो?एः मान्छेहरू हो तिम्रो आत्मामा करुणा र दयालाई कहिलेदेखि लखेट्यौं? २६ जनवरीलाई भारतीयहरू विशेष उल्लास र उत्सवको दिनको रूपमा लिने गर्छन् । अस्पतालमा हुने विशेष कार्यक्रमको मौका छोपेर जसरी पनि म यहाँबाट उम्कने प्रयासमा छु । कम्तीमा यहाँबाट म फुत्केर म बाहिर गएः भने शरीरमा लागेका गोलीका छर्रा र मुटुमा देखिएको समस्याको उपचारका लागि कुनै एउटा सरकारी अस्पतालमा गएर लम्पसार परेर हात उठाउदा कसो नहोला?
आजकाल मुटुको समस्याले मलाई निक्कै पिरोलेको छ, राँचीको मानसिक अस्पताल छाडेर भागेपछि म पटनाको भीडभित्र कहिले पटना जक्सन त कहिले राजेन्द्रनगर जक्सनलाई आफ्नो पेट भर्ने माध्यम बनाएको छु, यात्रीहरूले फ्याँकेकै त नभनौं उनीहरूले खान बोकेका खानेकुरा बेसरम म माग्न बाध्य भएको छु, पटनाका प्रत्येक होटल होटलमा चाहार्नु मेरो अर्काे यात्रा बनेको छ, मगन्तेहरूको भीडै जस्तो लाग्ने यो शहरमा म अलिक पृथक मगन्तेमा दर्ज भएको जस्तो मलाई लागेको छ, शारीरिक रूपमा जतिसुकै पीडा भएपनि अनि आन्तरिक रूपमा जस्तो ठूलो आत्मसम्मा र स्वभिमानको पहाड बसेको भएपनि स्वास भईन्जेल बाँच्नका लागि कति निरीह बन्नुपर्दाे रहेछ त्यो मलाईमात्र थाहा छ जस्तो लाग्छ । सुनेको थिएँ मरेर जाने शहिदहरूको एकपटक बाँचेर त हेर यहाँ बाँच्न कति गा¥हो छ । मुटुको समस्या बढ्दै गएकाले होला यतिखेर स्वास फेर्न छिनछिनमै निक्कै असहज हुन थालेको छ, आफ्नो जिवनयात्राको यो पलसम्मको पाटोलाई हेर्दा आत्माहत्या गरौं भन्ने नलागेको पनि होइन तर जन्मिएपछि स्वभाविक मृत्युलाई स्विकार्नुपर्छ भन्ने कताकता आफैलाई अमिल्दो लाग्ने यो प्रश्नले बाँच्न फेरिपनि बाध्य बनेको छु, तर आज म अलिक स्वतन्त्र छु र त्यही स्वतन्त्रताको खुला आकाशमा बसेर यी शब्दहरू लेखीरहेको छु, यो रात म पटना जक्सन छेउमा रहेको कृष्ण प्रणामी मन्दिरको धर्मशालामा शरणार्थी भनौं या अतिथि बनेको छु, पटना शहरको उज्यालो हुँदादेखि अस्ताएसम्मको कोलाहलभित्रै कताकता आफैपनि अपरिचित मित्र भएको आफैलाई लाग्न थालेको छ, थाहा छैन कहाँ कतिबेला कुन मोडमा कसरी ढल्नेछु लाग्छ जसरी दुवै आँखाका ज्योती गुमाएका बुबा र जन्मदै दाहिने हात अपाङ्ग भएकी आमा भूकम्पको झड्कामा जसरी थोत्रो घरभित्र विलाएका थिएः आफुपनि त्यसरी नै विलाउन र सुटुक्कै हराउन पाएः कति आनन्द हुन्थ्यो जस्तो लाग्छ । कतै सुटुक्कै हराएका ती बाबा र आमासंग भेटन पाएः म भन्नेथिएँ “मलाई माफ गरिदेउ, मेरा बुबा र आमा हुन त म माफ माग्नलाई लायक नै पो कहाँ छु र अनि तिमीलाई बुबा र तिमीलाई आमा कहाँ लायकको सुपुत्र हूँ र तिमी आँखा नदेख्ने बाबुलाई मैले मुक्तिको सपना देखाए, जन्मदै एउटा हात अपाङ्ग भएकी तिमी आमालाई वीरताको गाथा सुनाएँ, तर ती सपनालाई मैले साकार पार्न सकिन, यति मात्र गरेँ मेरो प्रतिक्षामा पिढीमा बसेका तिम्रा आँखाहरू त्यसै त्यसै लोलाएर थाके, म आउने बाटो हेर्दा हेर्दै मेरो घरको मूल ढोका नै दिक्क भयो तिम्रा सपना अति तिम्रा सपना, तिम्रा चाहना अनि तिम्रा चाहना र तिमी दुवैको कञ्चन स्नेहमाथी मैले कति ठूलो बमबाड गरेँ माफी माग्न त म कहाँ पो लायक छु र फेरिपनि तिमी आमा र तिमी बुबा हौ सन्तानप्रतिको तिम्रो ममता म अनुभूत गर्न सम्म सक्छु । मलाई विश्वास छ तिमीले मलाई माफ दिनेछौं अनि तिमीले पनि मलाई माफ दिनेछौं ………………! आजलाई यति ।

प्रतिकृया दिनुहोस्