कला

कलाकार राष्ट्रको महत्वपूर्ण अङ्ग : प्रधानमन्त्री देउवा

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभाको समुदघाटन गर्नुहुँर्दै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिरः सुजन गुरुङ्ग

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक शेरबहादुर देउवाले देशमा लोकतन्त्रको स्थापनामा तथा संरक्षणमा कलाकारले निर्वाह गरेको भूमिकालाई हेर्दा कलाकार राष्ट्रको महत्वपूर्ण अङ्ग भएको बताउनु भएको छ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२ औँ प्राज्ञ सभालाई मङ्गलबार सम्बोधन गर्नुहुँदै यस्तो विचार व्यक्त गर्नुभएको हो। प्रधानमन्त्रीले नेपाल जैविक र भौगोलिक विशिष्टताले मात्र सम्पन्न नभई सांस्कृतिक विविधताले पनि समृद्ध मुलुक भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सांस्कृतिक विविधता भनेका हाम्रा अमूल्य सम्पदा हुन्, जसलाई सङ्गीत नाट्यजस्ता प्रदर्शन कलाले चलायमान र ऊर्जावान् बनाइरहन्छन्।’’ सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान भनेको कला र कलाकारको संस्था हो भन्दै उहाँले कलाकार राष्ट्रको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्नुभयो।

यस्तै, संस्कृति पर्यटन तथा नागरिक उडड्ययन मन्त्री तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांस्कृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताउनुभयो।

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठानले जग्गा प्राप्ति गरी दैनिक प्रशासनिक कार्य गर्नका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको र अडिटोरियम हलसहितको सुविधा सम्पन्न भवनको डिपिआरसमेत तयार भएको जानकारी दिनुभयो।

प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले गर्दै आएका गतिविधिहरुका बारेमा प्रकाश पार्नुभयो। उद्घाटन सत्रपछि प्रज्ञा प्रतिष्ठानको सभा सदस्यहरु सम्मिलित बन्द सत्र सुरु भई वार्षिक आय व्ययलगायतका प्रतिष्ठानको अबको कार्ययोजनासहितको विषयमाथि छलफल भएको थियो।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button