खबर

राजविराज नगरपालिकाका वडा सदस्यहरू आन्दोलित

देवरामप्रसाद यादव

सप्तरी । निरङ्कुशता हाबी भएको भन्दै राजविराजका वडा सदस्यहरूको सङ्घर्ष समितिले बिहीबार धर्ना दिएका छन् । बिहीबार ४ गतेदेखि ७ दिनसम्म नगरपालिका कार्यालयको परिसरमा एक घण्टे धर्ना कार्यक्रम गरेको हो ।

सङ्घर्ष समितिका संयोजक वडा सदस्य रामानन्द देवले जनहितसँग जोडिएका ७ बुँदे माग सम्बोधन नभएपछि थप आन्दोलनका कार्यक्रम अघि बढाउने बताउनुभएको छ । नगरपालिकाले बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्नुपर्ने, नगरपालिकाको अधिकांश फाँटका कर्मचारी कार्यालय समयमै नआउने र आएकाले पनि पुरै समय नबस्ने, काममा ढिलासुस्ती, नगर सभाबाट पारित भएका योजनाहरूको एक साताभित्र सम्झौता र कार्यान्वयन, ढल निकास, डम्पिङसाइट, छाडा पशुचौपाया नियन्त्रण, काँजी हाउसको व्यवस्थापन तथा नगरको मुख्य क्षेत्रमा सिसिक्यामरा जडान लगायतका कार्य अविलम्ब सुरु गर्न माग राखिएको समितिका संयोजक वडा सदस्य देवले बताउनुभयो।

त्यस्तै, नगरको सुरक्षाका लागि नगर प्रहरीको भर्ना, प्रहरी निकायको समन्वयमा प्रभावकारी रात्रि गस्तीको व्यवस्था तथा स्थानीय सरकार सञ्चालन ऐनमा अधिकार प्रत्यायोजन सम्बन्धी भएको व्यवस्था अनुसार वडा सदस्यहरूलाई अधिकार र जिम्मेवारी दिनुपर्ने सहितका माग छ ।यसअघि गत पुस २२ गते कार्यवाहक मेयर इसरत परविनलाई ज्ञापन-पत्र बुझाइएको थियो ।गोरखापत्र अनलाइन

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button