
सम्पादकीय
झापाको काँकरभिट्टा बजारबाट करिब एक सय मिटर दक्षिण गैरीगाउँमा सशस्त्र प्रहरीको टोली र स्थानीयबीच शुक्रवार बेलुका भएको झडपमा सात जना घाइते भएका छन् ।उनीहरुको अहिले झापाकै अस्पतालमा उपचार भईरहेको बुझिएको छ ।घाइते हुनेमा ६ जना स्थानीय र एक जना सशस्त्र प्रहरी भएको बताइएको छ ।
घाइते भएका दीपा बाँतर, हरि बाँतर, विशेष राजवंशी, मिलन चापागाई, दिपक बाँतर र अनाह यादवलाई उपचारका लागि घटना लगत्तै बीएन्डसी अस्पतालमा पुर्याइएको थियो । घाइते सशस्त्र प्रहरीको नाम खुलाइएको छैन ।
भारतबाट अबैध सामान ल्याउनेहरुलाई रोक्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले बताएका छन् । तर,, घाइते भएका स्थानीयले आफुहरुमाथि सशस्त्र प्रहरीको टोलीले खुकुरी प्रहार गरेको बताएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको केसीले बताएका छन् । घाइते भएकाहरुको पेट, हात, खुट्टा र छातीमा गम्भीर चोट लागेको छ ।यो शुक्रबार साँझ भएको यो घटनाका बारेमा घाइते पक्ष र प्रहरीका आआफ्नै भनाई आएकाछन् ।तर, आम दृष्टिले हेर्दा यो घटना निन्दनीय छ । सशस्त्र प्रहरी र सामान ल्याउनेहरुबीच विवाद भएकै कारण र सामान पक्रने नाममै नागरिकका रक्षकका रुपमा बुझिएको सशस्त्र प्रहरीको यो कार्यलाई ज्यादती भन्दा अन्यथा नहोला । कानुुनको पालना गर्ने र गराउने नाममा सर्वसाधारण माथि भएको यो कार्यले जनमानसमा प्रहरीको सुनाम पक्कै पनि जादैन । आत्मरक्षाकै लागि भए पनि सशस्त्र प्रहरीले अन्य विधि र उपाय पनि अपनाउन सक्नु पर्ने थियो । खुकरीका अलवा परिस्थितिलाई सामान्य बनाउनका लागि थप प्रहरीको सहयोग वा सामान्यतया लाठीको प्रयोग (जो आत्मरक्षाका लागि)सम्म गर्दा यसलाई सामान्य ढङ्गलेनै बुझ्न सकिने थियो ।तर, यस प्रकारको विधि र उपायको खोजी सशस्त्र प्रहरीले गरेको देखिदैन ।शुक्रबार साँझको मात्र होइन पूर्वी नाका काँकरभिट्टामा यस प्रकृतीको नभए पनि अरु समयमा पनि बेलाबेलामा स्थानीय र सशस्त्र प्रहरी बीच यस प्रकारका तनावहरु जन्मने गरेको जगजाहेर नै छ । देश र जनताको सुरक्षाका लागि स्थापना भएका जनभरोसाका सुरक्षा निकायबाट हुने यस्ता समस्याले नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुमधुर पक्कै पनि बनाउँदैन । कानुनको पालना गराउने पक्षबाटै हुने यस प्रकारका घटना आगामी दिनमा हुन नदिनका लागि शुक्रबार साँझ भएको यो घटनाको निश्पक्ष छानबिन आजको माग पनि हो । साथै तत्कालको आवाश्यकता भनेको घाइतेको उपचारलाई विशेष महत्वका साथ हेरिनु पर्छ ।र, पिडितले उचित न्याय पाउनु पर्छ भने दोषी उपर कारर्बाही हुनु पर्छ ।
(तस्विर जनसंसद अनलाइनबाट सभार)