विचारहेड लाइन

एमालेको विद्रूप केन्द्रलाई तह लगाउने नायकको खाँचो

प्राडा.बद्रीविशाल पोखरेल

एमाले अध्यक्ष ओली विद्या भण्डारीविरुद्ध विष बमन गरिरहेका छन् । उनी अलिक पहिले नै विद्या भण्डारी सक्रिय राजनीतिमा आउने कुरामा ऋषि धमलासितको वार्तामा पूरै सकारात्मक कुरा गर्छन् । अनि कहिले पार्टी कार्यालय च्यासलका कर्मचारीसित मिलिभगत गरेर सदस्यता नवीकरण गरेको भद्दा आरोप लगाउँछन् । ओलीका अनुसार पार्टी संगठन विभागका प्रमुख काशीनाथ अधिकारी पार्टीका र ओलीका खरदार र बैदार हुन् ? संगठन विभाग प्रमुखको पूरै सहमतिमा विद्याको सदस्यताको नवीकरण गरिएको छ र पार्टी परिचय पत्रमा ओलीको सही छाप पनि छ । अझ ओली-विद्या भण्डारी पार्टी अध्यक्षमा आफूसित प्रतिस्पर्धा गर्न आए उनी स्वतः हार्छिन् पनि भन्छन् ।

ओली-विद्यालाई पार्टी अध्यक्ष किमार्थ दिन हुन्न पनि भन्छन् र अझ अघि बढेर विद्यालाई लालगेडी भन्दै खिस्याउँदै सबैको प्रिय भएर पार्टी चल्छ र विद्याले पार्टी चलाउन सक्तिनन् भन्ने घोषणा गर्छन् । ओलीले विद्यालाई आफू जस्तै दुर्मुखा, दुर्वचनी र दुष्ट्याइँ गर्नसक्ने हैसियतको नठानेका होलान् । जबजले राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भन्छ । सकेसम्म आफ्नो पार्टी सिद्धान्त, कार्यक्रम कार्यदिशा कार्यनीति आदि कुराहरू आमजनसमक्ष प्रस्तुत गर्ने हो । सिद्धान्तमात्र होइन व्यवहारले समेत जनताको मन जितेर नेतृत्व गर्ने हो । तर ओली जस्तो जहिल्यै, जतै र जसलाई पनि गाली नै गर्नुपर्छ भन्ने छैन र विद्याको उपयुक्त खालको दुर्वचनी स्वभाव पनि छैन ।

संवैधानिक राजकीय वा अन्य कुनै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न गएका नेताहरू खास कार्यकालपछि पार्टीमा फर्किएका छन् । सदस्यता नवीकरणवापत दोहोरो मापदण्ड एमालेमा छैन । पूर्वराष्ट्रपतिले पाउने तमाम सुखसयल, शान सौकात सरसुविधा परित्याग गरेर सदस्यता नवीकरण गर्ने विषय ओलीका लागि टाउको दुखाइको विषय बनेको देखिन्छ ।

तर पनि व्यवहारमा भर पर्ने हुँदा अति गरेर विद्या, जबज, देश र जनताप्रति खसालेर बोल्नेहरूलाई बोली वचनले पनि तह लगाउनुपर्छ र यो कुरा अब ओलीले सिकाइरहनु पर्दैन । कामले काम सिकिन्छ ओली कमरेड ? विद्याको सक्रिय राजनीतिमा प्रवेश र पार्टी सदस्यता नवीकरण विषयमा महासचिव र ओलीकै कुरा आपसमा बाझिएको देखिन्छ । विद्या भण्डारीले राष्ट्रपति हुँदा सदस्यता नत्यागेको होइन । यो कुरा उनकै निवेदनबाट पनि स्पष्ट हुन्छ । संवैधानिक राजकीय वा अन्य कुनै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न गएका नेताहरू खास कार्यकालपछि पार्टीमा फर्किएका छन् । सदस्यता नवीकरणवापत दोहोरो मापदण्ड एमालेमा छैन । पूर्वराष्ट्रपतिले पाउने तमाम सुखसयल, शान-सौकात, सरसुविधा परित्याग गरेर सदस्यता नवीकरण गर्ने विषय ओलीका लागि टाउको दुखाइको विषय बनेको देखिन्छ।

यसमा पनि विद्याको सक्रिय राजनीतिमा प्रवेश गर्ने बारे ओली नै पहिलेदेखि सहमत थिए । यसलाई ओलीले नै विभिन्न अवसरमा आफैंले पुष्टि पनि गरेका छन् तर अहिले आखिरीमा आएर त्यसका विरुद्ध ओलीले फलाको गरिरहेको देख्दा तमाम एमाले जन तीन छक्क परेका छन् । विगत असार १४ गते ओलीले जननेता मदन भण्डारीमाथि जुन तथानाम आरोप लगाए त्यसबाट तमाम एमालेजन भित्रभित्रै जलेका छन् तर बाहिरबाहिर धेरै मुखर हुन सकिरहेका छैनन् । तिनले त उल्टो मदन उपर ओलीले त्यसरी बोल्नु हुने थिएन भन्ने यस लेखलाई पो कटाक्ष गरिरहेका छन् ।

विद्या भण्डारीलाई पार्टी र मोर्चा संगठनका तमाम हरूवालाई अघिपछि लगाएर हिँडिरहेकी छन्, पार्टीलाई तहसनहस पार्न उद्यत् छन् भन्छन् ओली तर ओलीका वरपर रहेका ढकाल, भट्टराई, रिमाल थरीहरू पार्टीमा र जनतामा कुनै पनि कत्ति पनि प्रभाव नभएकाहरूले आफू घेरिएर बसेको भन्ने ख्याल गर्दैनन् । ओली विद्या भण्डारीलाई शत्रु कित्तामा घोषणा गर्छन्, प्रतिक्रियावादी दर्ज गर्न पुग्छन् । जब कि माक्र्सवादी र जबजले अन्तर्विरोध बारे सुस्पष्ट धारणा राखेको छ । विरोधी, विपक्षी वा शत्रुसित सुरुमा सघर्ष अनि एकता र अन्त्यमा संघर्ष हुने खालको अन्तरविरोधको कुरा गरिन्छ । जस्तै नेकालगायत भिन्न विचार सिद्धान्त पक्षधरसितको एमालेको सम्बन्धको कुराले स्पष्ट पार्छ।

मित्र शक्तिका बीच पनि अन्तर्विरोध देखापर्छ । मित्रतापूर्ण सम्बन्ध एकताबाट वा मित्रताबाट सुरु हुन्छ र समयक्रममा काम गर्ने सिलसिलामा द्वन्द्वको स्थिति देखापर्छ तर अन्त्यमा मित्र शक्तिका बीच पुनः एकता वा मिलाप नै हुन्छ । अहिले एमाले वा विद्या र ओलीका बीचको दरार मित्रशक्ति र व्यक्तिका बीचको हो । शत्रु कित्ता र व्यक्तिका बीचको द्वन्द्व कुनै हालतमा पनि होइन तर ओली यसलाई शत्रुवत् संघर्ष वा द्वन्द्वका रूपमा परिभाषित गर्न खोजिरहेका छन् र न्यून चेतका नेता र कार्यकर्तालाई विद्याविरुद्ध भड्काउन ज्यान फालेर लागिपरेका छन् । उनी आफैं अलि पहिले नेपालमा पोलिटिकल कम्युनिष्ट धेरै छन् तर थ्योरिटिकल कम छन् भन्थे तर अहिले आएर हेर्दा उनी आफैं पोलिटिकलको पनि गैरकम्युनिष्ट खालको पोलिटिकल रहेछन् भन्ने देखिँदैछ ।

एमालेमा हाल चालु ओलिटिक्स (पोलिटिक्स होइन) बारे काठमाडौंलगायत जिल्ला कमिटीहरू राम्रै जानकार छन् । कुनै पनि घरको चुलाचौकामा पसेपछि र अध्यक्षका बेडरुममा नै पुगेपछि अत्यन्त गोप्य सबै थाहा पाइन्छ । आफैं त्यहाँ नपसे पनि त्यहाँको तमाम गतिविधि कतै न कतैबाट काठमाडौंले थाहा पाउँछ । काठमाडौं जिल्ला समितिका अध्यक्ष दीपक निरौलाका कुराहरू पनि मिडियामा आइरहेका छन् । दासहरू नबोल्लान् म जस्ता अर्धदासहरू पनि बेलामा नबोलेर पछुताउलान् तर म अहिले दास हुनबाट जोगिँदैछु । निःस्वार्थ र निःशर्त पार्टी नीति सिद्धान्त र आन्दोलन जोगाउने मनहरू सबै खालका आश, त्रास र बतासका कुप्रभावमा नपरी नोकरशाही जनवादका विरुद्ध उभिन्छन्, जसरी दीपक निरौलालगायत काठमाडौंली, पाटने र भक्तपुरे तमाम नेता कार्यकर्ता उभिन थालेका छन् ।

जान्ने बुझ्ने र सूचनाको सातपत्र मुनिका गुह्य कुुरा बुझ्नेहरू नै अघि बढ्नुपर्छ । यिनै अगुवाहरूले आगामी विधान अधिवेशनमा ओलीका विकृत पक्षलाई सशक्त र सिर्जनात्मक दबाब दिएर सच्याउनुपर्छ र एउटा प्रतिभाशाली नेता र नेतृत्वलाई सच्याउन र सच्चिने वातावरण प्रदान गर्नुपर्छ । घरभित्रको झगडा घरभित्रै मिलाउनुपर्छ । ओलीले झैँ घर झगडा चौरस्तामा फिँजाउनु हुँदैन तर जनता लामो समय धैर्य गर्ने अवस्थामा छैनन् । विधान अधिवेशनमा नै महाराज प्रवृत्तिलाई ठेगान नलगाई हुँदैन । कथं सकिएन भने तमाम नेता र कार्यकर्ताको देशव्यापी सञ्जाल तयार पारेर ओलिटिक्लाई किनारा लगाउनै पर्छ । शरीरभित्रको विष तत्वलाई बेलैमा ठेगान लगाइएन भने जीव र जीवनतत्व क्षतिग्रस्त हुन्छ र पार्टी थला पर्छ ।

काठमाडौंले एमाले केन्द्रमा देखापरेको विद्याविरुद्धको जबज र मदनविरुद्धको रत्यौली समाप्त पार्न सक्छ र गर्नु पनि पर्छ । काठमाडौं ललितपुर र भक्तपुर जिल्ला समिति र अझ गण्डकी प्रदेशले आगामी विधान अधिवेशनमा विद्या भण्डारी विषयका पक्षमा सशक्त आवाज बुलन्द गर्लान् भनेर ओली आफैं थर्कमान देखिन्छन् ।

त्यसैले काठमाडौंले एमाले केन्द्रमा देखापरेको विद्याविरुद्धको जबज र मदनविरुद्धको रत्यौली समाप्त पार्न सक्छ र गर्नु पनि पर्छ । काठमाडौं ललितपुर र भक्तपुर जिल्ला समिति र अझ गण्डकी प्रदेशले आगामी विधान अधिवेशनमा विद्या भण्डारी विषयका पक्षमा सशक्त आवाज बुलन्द गर्लान् भनेर ओली आफैं थर्कमान देखिन्छन् । केही दिनअघि तीनै जिल्लाका नेतालाई सम्बोधन गर्दै विद्याविरुद्ध विष वमन नै गरेका थिए ।

एमाले काठमाडौंलगायत अरू जिल्ला पार्टी र प्रदेशका नेता बालकोट नजिक छन् । उनीहरूलाई धेरै थाहा होला । इटहरीको यो लेखक हप्तादिन काठमाडौं बस्दा ओलिटिक्सको विकृत पोलिटिक्सबारे राम्रै जानकार भयो । बालुवाटार र बालकोट नायकका चित्र, विचित्र चलचित्र देख्दा आफैँलाई लाज, सरम र घीन लाग्यो । कम्युनिष्ट हुनु असल मान्छे हुनु हो भन्ने सुनेको र जननेता मदन भण्डारी जस्ता केही उदाहरणीय नाम र काम देखेको तर अहिले पार्टी अध्यक्षकै गैरमाक्र्सवादी तथा जबजका ठीकविपरीतका चरम अशोभनीय बोली वचन र व्यवहार देख्दा मजस्ता धेरैलाई देख्नेलाई लाजलाग्ने अवस्था सिर्जना भयो ।

तर, नग्न अवस्थामा चौबाटामा बिस्ट्याउनेलाई कत्ति पनि लाज र सरम देखिएन । अझ अचम्मको कुरा त के छ भने जननेता मदन भण्डारीलाई चारवटी जोईको पोइ र साझा सहकारी लुट्ने डाकाभन्दा खास कोही बोल्दैनन् तर आदरणीय श्रद्धेय जबजका प्रतिपादक भण्डारीलाई यसरी फतुर आरोप लगाउनु हुँदैन भन्ने यस लेखकलाई धुइरो लागेर गाली गर्नेहरूको ताँती देख्छु र अचम्ममा पर्छु । हुन त नोकरशाही जनवादमा अभ्यस्त हुँदा मै पनि आंशिक रूपमा ओलीलाई महाराजझैँ ठान्थे र उनका बारेमा गर्नैपर्ने आलोचनात्मक लेख लेख्न सकिन र अहिले पछुतो लागेको छ ।

तर, अब ओली नाङ्गो लाल बादशाहमा अवतरित भएपछि जनताको रगत र पसिनाबाट शहीदहरूको महान् त्याग र बलिदानबाट निर्मित पार्टीको मूल आधार जोगाउन लागि परेको छु । अझ भाइ फुटे गँवार लुटे भनेझैँ यस्ता आन्तरिक विभाजन र विग्रहकारी गतिविधिले देशको अस्तित्व नै धरमर हुने हो कि भन्ने भय रहेको छ । एमाले र नेका जस्ता मुलुकका प्रमुख पार्टी आन्तरिक रूपमा एक ढिक्का हुन् र विखण्डित नहुन् भन्ने भावनाले लेखन कर्मका साथ उद्बोधन गर्ने काममा लागिरहेको छु ।

जसले सत्य असत्य छुट्याउन सक्छ त्यसैले कपडछान न्याय गर्न सक्छ । जसले सात पत्र मुनिको सूचना थाहा पाउँछ उसैले गलत सूचनालाई खण्डित गर्नसक्छ । जोसित इमानदार र उच्च विवेक छ उसैले राजहाँसको झैँ दूधको दूध र पानीको पानी छुट्याउन सक्छ र समाजमा न्याय स्थापना गरिछाड्छ । त्यसमा पनि कम्युनिष्ट पार्टी सबै खालका अन्याय र अपराधको विरोधी भनेर प्रशिक्षित संगठन हो । त्यसमा आबद्ध सबै नेता, कार्यकर्ता, सचेत समुदाय यसमा सचेत हुनैपर्छ । (लेखक एमाले पूर्वकेन्द्रीय सदस्य हुनुहुन्छ ।)हिमालय टाइम्स दैनिकबाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button