मूल खबर

रौतहटमा बोक्सीको आरोपमा एक महिलालाई निर्घात कुटपिट

रौतहट – रौतहटमा बोक्सीको आरोपमा एक वृद्ध महिलालाई निर्घात कुटपिट गरिएको छ । जिल्लाको गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियाका रामएकवाल साह बानियाको ५५ बर्सिया श्रीमती सुशीला देवीलाई बोक्सीको आरोपमा छिमेकीहरूले आज निर्घात कुटपिट गरी कपाल समेत काटेर मलमूत्र खुवाएको घटना बाहिर आएको छ । स्थानीय ४० वर्षीय दिनेश साह कानु, कानुका २२ वर्षीय छोरा गोलु साह कानु र सोही ठाउँका ३५ वर्षीय विक्रम साह कानु तिनै जना मिलेर सुशीला देवीलाई बोक्सीको आरोप लगाई निर्घात कुटपिट गरेको र कुटपिटपछि कपाल मुंडन गरी दिशा खुवाएको पीडित पक्षले बताएको छ ।

सामूहिक कुटपिटबाट घाइते भएकी सुशीला देवीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आज दिउँसो बोक्सीको आरोपमा बसबिट्टि जिङ्गडियाका दिनेश साह कानु, उनको छोरा गोलु र विक्रम साह मिलेर सुशीला देवीलाई कुटपिट गर्नुका साथै उनको कपाल समेत काटिदिएको र दिशा पनि खुवाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

घटना कसरी भयो कुटपिट गर्ने मध्येका दिनेश साह कानुको श्रीमती ३७ बर्सिया सङ्गीता देवी आज बिहान अकस्मात् बिरामी भएकी थिइन् । त्यसपछि परिवारका सदस्यहरूले उनलाई उपचारका लागि गरुडा स्थित रहेको रोमा हस्पिटलमा लगेका थिए । तर रोमा हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्जतर्फ लैजाने क्रममा सङ्गीता देवीको बाटोमै मृत्यु भएको थियो ।

छिमेकी रामएकवाल साह बानियाको ५५ बर्सिया श्रीमती सुशीला देवीले नै टुनामुना लगाएको कारण बिरामी भई सङ्गीता देवीको मृत्यु भएको भन्दै मृतक सङ्गीता देवीका श्रीमान् दिनेश साह कानु लगायत तिन जना मिलेर सुशीला देवीलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

बोक्सीको आरोपमा सुशीला देवीलाई कुटपिट गरिएको र कपाल समेत काटेर दिशा खुवाएको खबर प्राप्त हुनासाथ दिउँसो तिन बजेको समयमा प्रहरी चौकी बिर्ताका प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र ढकालको कमान्डमा तत्काल प्रहरी टोली पुगेर महिलाको उद्धार गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्ने बित्तिकै कुटपिट गर्नेहरू तिनै जना फरार भएका थिए । फरार भएका उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवार दोषीलाई पक्राउ गरी कार्यवाही गर्न भन्दै आज साँझ इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दरखास्त दिएका छन् । बोक्सीको आरोपमा वृद्ध महिलालाई अमानवीय व्यवहार गर्ने दोषीहरूमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button