खबरहेड लाइन

सुरक्षा निकायको कमजोरीले निम्त्यायो ठुलो क्षति

दीपक रिजाल

काठमाडौं

सामाजिक सञ्जालमाथिको सम्भावित प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आक्रोशस्वरूप सोमबार भएको जेन्जी आन्दोलन हिंसात्मक रुप लिँदा २० जनाभन्दा बढीको ज्यान गएको पुष्टि भएको छ भने २ सय ५६ भन्दा बढी घाइते भएका छन् । माइतीघर–नयाँ बानेश्वर मार्ग हुँदै संसद्् भवनसम्मको मार्गमा हजारौं युवा सडकमा उत्रिए, तर सुरक्षाकर्मीहरू आन्दोलनकारीको मनोवृत्ति र सम्भावित खतराको मूल्यांकन गर्न असफल हुँदा ठूलो क्षति निम्तिएको विज्ञहरू बताउँछन् ।
पूर्व डिआईजी हेमन्त मल्लका अनुसार आन्दोलनको पूर्व तयारीमा सुरक्षा निकाय पूर्णरूपमा चुकेको देखिन्छ । उहाँले भन्नुभयो– ‘सुरक्षाकर्मीहरूले आन्दोलनकारीको ‘मूड’ बुझ्न सकेनन् । के कति संख्यामा आउँछन् भन्ने यथोचित मूल्यांकन गर्न नसक्दाको परिणाम हो यो ।’

हजारौं युवा ‘जेनजी आन्दोलन’को नाममा सडकमा उत्रिए । उनीहरू समाजमा व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी प्रयासको विरोधमा थिए । प्रदर्शन शुरूमा शान्तिपूर्ण देखिए तापनि बानेश्वर पुग्ने वित्तिकै परिस्थिति फेरियो । संसद्् भवनको दिशातर्फ जुलुस अघि बढ्दै गर्दा सुरक्षा निकायले समयमै घेराबन्दी गर्न नसकेपछि केही समूहले संसद् भवन परिसर प्रवेश गरे । त्यसपछि बल प्रयोग भएको देखिन्छ ।
पूर्व डिआईजी मल्ल भन्नुहुन्छ– ‘अमेरिकाको संसद् भवनमा समेत आक्रमण हुँदा पनि न्यूनतम क्षति भयो । तर यहाँ निहत्था युवामाथि सिधा गोली चलाउनु नै गलत रणनीति थियो ।’

उहांका अनुसार, नेपाल प्रहरीले प्रयोग गर्ने अधिकांश हतियार अत्यधिक क्षतिकारक छन्, जुन भीड नियन्त्रणको लागि उपयुक्त छैनन । कम घातक हतियारको अभाव पुरानै समस्या हो । पटक–पटक प्रयास भए पनि सरकारले यस्ता हतियारको व्यवस्था गर्न सकेको नसकेको मल्लले बताउनुभयो

सुरक्षा विश्लेषक तथा पूर्व सैनिक अधिकृत कृष्णबहादुर क्षेत्रीका अनुसार सुरक्षा निकायमा ‘इन्टेलिजेन्स’ को चरम कमजोरी देखिएको छ । केही हप्ता अघिदेखि सामाजिक सञ्जालमा आन्दोलनको चर्चा चलिरहेको थियो । तर सुरक्षा निकायले न रणनीति बनायो, न पूर्व तयारी ।

क्षेत्रीले सुरक्षा संयन्त्रको ढिलासुस्ती र सामरिक ढाँचामा सुधारको आवश्यकता औंल्याउँदै भन्नुभयो– ‘आन्दोलनकारीको भावना बुझ्ने र भीड नियन्त्रणको वैज्ञानिक तरिका अपनाउनेतर्फ हामी अझै पुग्न सकेका छैनौं ।’

आन्दोलन कसरी बन्यो हिंसात्मक ?

जेनजी आन्दोलनको नेतृत्व गर्दै आएका युजन राजभण्डारीले आन्दोलन शान्तिपूर्ण रहेको र संसद् भवन जाने कुनै योजना नै नभएको बताउनुभयो । आन्दोलन भड्किएको देखेर आफूहरु पनि पनि चकित भएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘आन्दोलनको नाममा केही असमाजिक तत्वहरू घुसपैठ गरेर बबाल मच्चाए । सुरक्षा निकायले संसद् भवनतर्फको बाटो खुल्ला गरिदियो, जसको फाइदा उठाएर ती समूहले अशान्ति फैलाए ।’

उहाँका अनुसार प्रहरीले शुरूमा मैत्रीपूर्ण व्यवहार गरे पनि पछि परिस्थिति जटिल हुँदा अनावश्यक बल प्रयोग गरेका थिए । उहाँले भन्नुभयो– ‘गोली चलाउनुपर्ने परिस्थिति थिएन । गोली चलाएर निहत्था युवाहरूको हत्या गरियो ।’नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button